कीवर्डहरू -

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो ।

विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । विजनेश अक्सिजन प्रालि (बीओटु) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी) को ग्लोबल एसएमई भेन्चर इनिसिएटिभको एउटा अंग हो ।

यसमा आईएफसीको बर्ल्ड बैंक ग्रुप, क्लाइमेट इन्भेस्टमेन्ट फन्ड (पीपीसीआर) र एफसीडीओको लगानी छ ।विजनेश अक्सिजनबाट दोस्रो चरणको लगानी भित्र्याउन पाउँदा हामी हर्षित भएको जेनेसका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अञ्जनी फुयालले बताए ।

‘यसले हामी सही मार्गमा रहेको देखाउँछ । यो लगानीले हामीलाई अझै बलियो र प्रतिस्पर्धी टिम बनाउन सहयोग गर्नेछ’ फुयाल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य नेपालमा बलियो प्रविधिक संशाधन विकास गरी डिजिटल रुपान्तरणमा सहयोगी बन्नु हो।’

विजनेश अक्सिजनबाट लगानी आएसँगै जेनेसले आफूलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा ध्यान केन्द्रित गर्ने छ। नेपालमा आउने लगानीलाई जनशक्तिको क्षमता अभिवृद्धि र यहीँ अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी प्राविधिक जनशक्ति विकास गर्ने कार्यमा प्रयोग गरिनेछ ।

जेनेसले हालसम्म नेपाल र अन्य मुलुकमा गरी एक हजार बढी व्यवसायको डिटिजल रुपान्तरणमा सहयोग गरिसकेको छ । नेपालसहित ८ मुलुकमा यसको कार्यालय छन् । क्लाउड सेवासँगै जेनिसले उच्चस्तरको डेटा सुरक्षा अडिट र डिजिटल मार्केटिङमा पनि सेवाग्राहीलाई सहयोग गरिरहेको छ।

‘आईटी उद्योगले पछिल्लो समय निकै फस्टाएको क्षेत्र हो, महामारीको समयमा यसको महत्व अझै बढी देखिएको छ। अब हरेक व्यवसाय र संस्थाले प्रविधिसँग जोडिनुको विकल्प छैन’ विजनेश अक्सिजन प्रा.लि.का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिद्धार्थराज पाण्डे भन्छन्, ‘जेनेसमा हाम्रो लगानी यसको टिममा हाम्रो विश्वासलाई देखाउँछ, नेपाललाई बलियो आईटी हब बनाउने जेनेसको उद्देश्यमा सहभागी बन्न पाउँदा खुशी छौं ।’