कीवर्डहरू -

डिजिटल लर्निङको जनचेतना बढाउन डिजिटल लर्निङ डे मनाउँदै छौंः सीओओ जोशी (अन्तर्वाता)

डिजिटल लर्निङको जनचेतना बढाउन डिजिटल लर्निङ डे मनाउँदै छौंः सीओओ जोशी (अन्तर्वाता)

फागुन १० गते मंगलबार नेपालमा डिजिटल लर्निङ डे मनाइँदै छ । निमा एकेडेमीको आयोजना तथा अन्य विभिन्न संस्थाको सहकार्यमा डिजिटल लर्निङ डे मनाइँदै छ ।

सन् २०१२ बाट डिजिटल लर्निङ डे मनाउन शुरू गरिएको थियो । नेपालमा भने सन् २०१९ बाट निमा एकेडेमीले नेपालमै पहिलो पटक डिजिटल लर्निङ डे मनाउन शुरू गरेको थियो ।

यसै सन्दर्भमा डिजिटल लर्निङका विविध विषयमा निमा एकेडेमीकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) नेहा जोशी सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः


यस वर्षको डिजिटल लर्निङ डे कसरी मनाउँदै हुनुहुन्छ ?

डिजिटल लर्निङको जनचेतना सिर्जना गर्न यो वर्ष पनि ‘ डिजिटल लर्निङ डे ’ मनाउँदै छौं । यो वर्ष ‘अबको परिवर्तन, डिजिटल शिक्षासँगै’ सन्देशसहित डिजिटल लर्निङ डे मनाइँदै । फेब्रुअरी १८ देखि हाम्रो कार्यक्रम शुरू भइसकेको छ ।

सामाजिक सञ्जालबाट बच्चाहरूका लागि क्विज कम्पिटिसन, एक्सपेरियन्स शेयरिङ, गिभअवे, ब्रेनको खेल, कथा बाचन, ई-लर्निङ टिप्स लगायतका क्रियाकलाप गरिरहेका छौं ।

फेब्रुअरी २२ मा डिजिटल लर्निङ डेको महत्व, कस्तो हुनुपर्छ, विश्वभर कसरी भइरहेको छ र डिजिटल लर्निङको महत्व लगायतका विषयमा कुराकानी गर्नेछौं ।

त्यसदिन क्विज प्रतियोगिका विजेता पनि घोषणा गर्दैछौं र पुरस्कार पनि वितरण गर्दैछौं । त्यसपछि पनि फेब्रुअरी २७ सम्म डिजिटल लर्निङ सम्बन्धि विविध कार्यक्रम गर्दैछौं ।

डिजिटल लर्निङ डेको महत्व के छ ?

नेपालमै पहिलो पटक निमा एकेडेमीले डिजिटल लर्निङ डे मनाउन शुरू गरेको हो । बाहिर तिर सन् २०१२ बाट यो मनाउन शुरू गरिएको हो । कोरोना महामारीको समयमा सिकाईको एकमात्र माध्यम डिजिटल थियो ।

महामारीमा मात्र नभएर अबका दिनमा डिजिटल लर्निङको आवश्यकता बढ्दै छ । घरमै बसेर डिजिटल माध्यमबाट गुणस्तरीय शिक्षा लिन सकिन्छ । त्यसकारण डिजिटल लर्निङको महत्व दर्साउन र डिजिटल लर्निङको जनचेताना फैलाउन यो दिवस मनाइन्छ ।

पछिल्लो समय नेपालमा डिजिटल लर्निङको अवस्था कस्तो छ ?

डिजिटल लर्निङ भनेको नेपालका लागि नयाँ कुरा नै हो । यसको बारे बुझाउन अझ धेरै बाँकी छ । हामीले डिजिटल लर्निङको जनचेतना बढाउन सन् २०१९ बाट डिजिटल लर्निङ डे मनाउन शुरू गरेका हौं ।

कोरोना महामारी पछि नेपालमा पनि डिजिटल लर्निङको प्रयोग गर्ने बढेका छन् र यसको जनचेतनामा पनि थप बल पुगेको छ । स्कुल, कलेज पनि अहिले डिजिटल लर्निङका लागि तयारी छन् ।

उनीहरूले ब्लेन्डेड (अफलाइन-अनलाइन) मा जानेकी भनेर पनि काम गरिरहेका छ्न् । त्यसकारण अहिले नेपालको डिजिटल लर्निङको अवस्था राम्रो छ ।

सन् २०१९ मा पहिलो पटक नेपालमा डिजिटल लर्निङ डे मनाउन शुरू गर्दाको समय र अहिलेको समयमा कस्तो फरक पाउनु भएको छ ?

पहिलो पटक हामीलाई बुझाउन एकदमै गार्‍हो थियो । हामीले केही नयाँ गर्न खोजिरहेका थियौं । डिजिटल लर्निङको महत्व बारे नेपालीलाई पनि बुझाउनु पर्छ भन्ने लाग्यो र नेपालमा डिजिटल लर्निङ डे मनाउन शुरू गर्‍यौं । पहिलो र अहिलेको अवस्थामा हेर्दा जनचेतनामा हामीले धेरै अन्तर पाएका छौं ।

अहिले डिजिटल लर्निङको प्रयोग गर्नुपर्छ, हाम्रो इन्स्टिच्युटमा पनि राख्ने प्रयास गर्दैछौं भनेर एजुकेटरहरूले भनिरहनु भएको हुन्छ ।

शुरूवाती दिनमा हामीले एक्लै शुरू गरेका थियौं । अहिले हामीलाई धेरै संस्थाको सहयोग छ । पहिलेकोभन्दा अहिले डिजिटल लर्निङ सम्बन्धि जनचेतना धेरै बढेको छ ।

निमा एकेडेमीले डिजिटल लर्निङको क्षेत्रमा कसरी काम गरिरहेको छ ?

निमा एकेडेमीले पाठ्यक्रम विकास केन्द्रको मापदण्ड अनुसार कोर्षहरू निर्माण गरेको छ । किताबमै भएका विषयवस्तु हामीले भिडियोमा बनाएका छौं । तर बच्चाले बुझ्ने गरी र किताब पढेको जस्तो नहुने गरी कोर्ष बनाएका छौं ।

बच्चाले रमाइलो गर्दै, क्विज खेल्दै, भिडियो हेर्दै सिक्ने सक्ने वातावरण सिर्जना गरेका छौं । जानेर, नजानेर बच्चाहरूले हाम्रो प्लेटफर्मबाट धेरै कुरा सिकिरहेका हुन्छन् । शिक्षहरूलाई पनि हामीले पढाउन सजिलो हुने गरी कन्टेन्ट बनाएर प्रदान गरिरहेका छौं ।

पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग बढ्दो मात्रामा छ । प्रविधि जति बढ्दै छ, डिजिटल डिभाइड पनि उत्तिकै बढ्दै छ । यसलाई कम गर्न कसरी काम गर्नु पर्ला ?

हामी पनि डिजिटल डिभाइड कम गर्न लागि परेका छौं । निमा एकेडेमीले गरेर मात्र हुने पनि होइन् । डिजिटल डिभाइड कम गर्न सरकार, निजी क्षेत्र लगायतका अन्य संग संस्थाको भूमिका पनि उत्तिकै छ ।

डिजिटल डिभाइडलाई कम गर्ने प्रयास स्वरूप निमा एकेडेमीले द नेपाल राइजिङ र प्रमोदया संस्थासँग मिलेर काम गरिरहेको छ, जस अनुसार मुगुको एउटा विद्यालयमा २ वटा संस्थाले निःशुल्क ट्याबलेट वितरण गरेका छन् भने हामीले कन्टेन्ट प्रदान गरेका छौं ।

डिजिटल लर्निङ बारे जनचेतना बढाउन निमा एकेडेमीले कसरी काम गरिरहेको छ ?

डिजिटल लर्निङको जनचेतना बढाउन निमा एकेडेमीले काम गरिरहेको छ । डिजिटल लर्निङ डे मनाउनुको मुख्य उद्देश्य नै यही हो । डिजिटल लर्निङ डेको दिन मात्रै कार्यक्रम गरेर यसको जनचेतना बढ्दैन् ।

त्यसकारण निमा एकेडेमीले विभिन्न समयमा डिजिटल लर्निङका कार्यक्रम गरिरहेको हुन्छ । विदेशमा अनलाइनबाट पढ्न मिल्छ नेपालमा मिल्दैन् भन्ने अवधारणा छ । अनलाइन कोर्ष लिन क्रेडिट कार्ड नै चाहिन्छ भन्ने धारणा पनि छ । यसलाई चिर्न पनि निमा एकेडेमीले काम गरिरहेको छ ।

निमा एकेडेमी विद्यालय तहमा मात्र नभएर अब कलेज र प्रोफेसनल लेभलमा पनि आउँदै छ । विभिन्न संस्थासँग सहकार्य गरेर पनि जनचेतनाका काम गरिरहेका छौं । द एशिया फाउन्डेसनले ‘लेट्स रिड एशिया’ कार्यक्रम अन्तर्गत विद्यार्थीको रिडिङ स्किल विकास गर्न काम गरिरहेको छ ।

संस्थाले रिडिङ मेटिरियल, स्टोरी बुक लगायतका कोर्षहरू निःशुल्क प्रदान गरेको छ । हामीले पनि निमा एकेडेमीमा ती सामग्रीहरू निःशुल्क उपलब्ध गराएका छौं । निमा एकेडेमीको प्लटफर्ममा लगइन हुने सबैले निःशुल्क पाउँछन् ।