वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरेसँगै कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरिएको हो ।
यससँगै वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्ति लगायत कल्याणकारी सेवाहरु अब अनलाइनबाटै उपलब्ध हुनेछन् ।
बोर्डले आफ्ना कल्याणकारी सेवाहरु अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता स्थानीय तहमार्फत निवेदन लिई नजिकको हकदारको बैंक खातामा सिधै जाने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक संयोजक रहने गरी मन्त्रालय, विभाग, वीमा समिति, बैंकका प्रतिनिधि सम्मिलित वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली निर्देशक समिति पनि गठन गरिएको छ ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग र बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृतक श्रमिकको सन्नतिलाई शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।
बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन लिने र सेवाग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएपछि सेवाग्राही कार्यालयमा धाउनुपर्ने बाध्यता हट्नेछ ।