कीवर्डहरू -

ड्राइभिङ लाइसेन्स लिन सास्ती

ड्राइभिङ लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ ।

त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ । लाइनमा दिउँसो ३ः३० बजे भेटिनुभएका रौतहट वसन्तपुरका बालकिशोर साहले भने, ‘कार्यालय बिदा लिएर बिहान ७ बजे लाममा बसेको, अहिले पनि फराम बुझाउने लाइनमै छु ।’

लाइसेन्स नवीकरणको कामले यातायात कार्यालय पुगेका साहले भने, ‘एक पटक लाममा बसेर हुँदैन, हरेक झ्यालमा लाइन बस्नुपर्छ । फाराम बुझाउने काम आज सकिन्छ कि ?’

यातायातको एकान्तकुना कार्यालयले नवीकरण, दर्ता र लाइसेन्स वितरणको काम गर्छ । त्यसैले एकान्तकुनामा बिहानैदेखि सेवाग्राहीको चाप हुन्छ । नवीकरणको फाराम बुझाए पनि लाइसेन्स कहिले आउँछ भन्ने टुङ्गो नहुने सेवाग्राही साहले बताए ।

ठेलमठेल गर्दै लाइनमा उभिएका सिन्धुपाल्चोकका दानबहादुर श्रेष्ठले १४ महिनापछि लाइसेन्स लिन आएको बताए । त्यस्तै काठमाडौँ कपनका रामकुमार परियार पनि १३ महिनापछि लाइसेन्स लिन आएका थिए ।

उनले भने, ‘लाइसेन्स लिन पनि एक-डेढ वर्ष कुर्नुपर्ने, कस्तो विडम्बना हो ? जनताले दुःख पाएको त कसैलाई मतलब छैन, विधि पुर्‍याएर लाइसेन्स लिन पनि यति गाह्रो ?’

एकान्तकुना कार्यालयमा दैनिक एक हजार पाँच सय हाराहारीमा सेवाग्राही पुग्छन् । एकान्तकुना कार्यालयका अनुसार लाइसेन्स नवीकरणका लागि मात्रै दैनिक तीन सय जनासम्म सेवाग्राही एकान्तकुना पुग्छन् ।

लाइन व्यवस्थित पार्ने जनशक्तिसमेत कार्यालय परिसरमा देखिँदैन । उता कार्यालयका कर्मचारीको गुनासो छ, पर्याप्त कर्मचारी नै छैनन् । कार्यालयका शाखा अधिकृत वृहस्पति तामाङले भने, ‘मुख्य समस्या समयमै लाइसेन्स प्रिन्ट हुन नसक्नु नै हो ।’

उनका अनुसार एकान्तकुना कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक छ । सोहीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।

यातायातसम्बन्धी धेरै अधिकार प्रदेशमा रहेका कारण पनि समन्वयमा जटिलता रहेको तामाङको अनुभव छ । उनले भने, “सङ्घीयता कार्यान्वयनसँगै अधिकारको बाँडफाँटले पनि अन्योल देखिएको छ । यसलाई व्यवस्थित गर्ने प्रयासमै छौँ ।’

सेवाग्राहीको मागअनुसार यातायात व्यवस्था कार्यालयले लाइसेन्स आपूर्ति गर्न नसक्दा दुई वर्षसम्म कुर्नुपर्ने अवस्था छ । तर पछिल्लो समय प्रिन्ट गर्न बाँकी लाइसेन्सहरू क्रमशः घटाउँदै लगिएको विभागले जनाएको छ ।विभागका अनुसार झन्डै सात लाख प्रति प्रिन्ट गर्न बाँकी लाइसेन्स दुई लाखमा झारिएको छ ।

आगामी जेठसम्म बाँकी रहेका सबै लाइसेन्स प्रिन्ट गरिने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनका अनुसार हाल दैनिक छ हजार प्रति लाइसेन्स प्रिन्ट भइरहेको छ । गोरखापत्र बाट