कीवर्डहरू -

डिजिटल बन्दै संगीत रोयल्टी संकलन समाज, अब सिधै सर्जकको बैंक खातामा रोयल्टी पठाइने

डिजिटल बन्दै संगीत रोयल्टी संकलन समाज, अब सिधै सर्जकको बैंक खातामा रोयल्टी पठाइने

संगीत रोयल्टी संकलन समाज नेपालले सर्जक/श्रष्टाको रोयल्टी अब सिधै बैंक खातामा पठाउने भएको छ । संस्थालाई पारदर्शी र जिम्मेवार बनाउन रोयल्टी संकलन समाजले यस्तो व्यवस्था गर्न लागेको हो ।

सकेसम्म सम्बन्धित श्रष्टाको बैंक खातामै रोयल्टी पठाउने गरी काम गरिरहेको संगीत रोयल्टी संकलन समाज नेपालका महासचिव बी पाण्डेले बताए ।

‘सकेसम्म सम्बन्धित श्रष्टाको अकाउन्टमा सिधै ट्रान्सफर हुने खालको वातावरण बनाउने र डाटाहरू आफुले हेर्न मिल्ने खालेको सफ्टवेयरहरू निर्माण गर्ने कुरामा पनि हामीले काम अगाडि बढाइसकेका छौं,’ पाण्डेले आइसिटी समाचारसँग भने, ‘सायद केही समय पछि यसको नतिजा पनि देखिने छ ।’

सर्जकको बैंक खातामा रोयल्टी पठाउने काम त्यत्ति गार्‍हो र त्यत्ति सजिलो नभएको उनको धारणा छ । यसमा सर्जकले पनि सक्रियता देखाए यो काम छिट्टै हुने रोयल्टी संकलन समाजको विश्वास छ । ढिलोमा अबको १-२ वर्षसम्म सर्जकको बैंक खातामा रोयल्टी पठाउने व्यवस्था हुने संस्थाले उनी बताउँछन् ।

डिजिटल बन्दै समाज

संगीत रोयल्टी संकलन समाज नेपाल नेपालको प्रतिलिपि कानुन अनुसार सन् २००७ मा स्थापना भएको गैरनाफामूलक संस्था हो । सन् २००७ मा स्थापना भएपनि संस्थाको आफ्नै वेबसाइट थिएन् । गत भदौमा मात्रै निर्वाचित भएको नयाँ कार्यसमितिले वेबसाइट सञ्चालनमा ल्याएको थियो ।

संस्थाले यसअघिको राम्रो समय खेर फालेको आभास हुने महासचिव पाण्डे बताउँछन् । नयाँ कार्यसमितिले आफ्नो कामलाई तिब्रताका साथ अगाडि बढाएको छ ।

नयाँ कार्यसमितिले ६-७ महिनाको अवधिमै फेसबुक र इन्स्टाग्राम रिल्समा बज्ने नेपाली गीतको रोयल्टीका लागि मेटासँग सम्झौता गरिसकेको छ भने युट्युब, टिकटक लगायतका डिजिटल प्लेटफर्महरूसँग पनि गर्ने तयारी गरिरहेको छ ।

अहिलेको कार्यसमितिले डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । डिजिटल प्रविधिलाई अगाल्न विभिन्न चुनौती भएपनि त्यसलाई आत्मसात गरेर अगाडि बढ्नेमा उनी कन्फिडेन्स देखिन्छन् ।

संस्थाले वर्क इनफरमेसन डाटाबेस सफ्टवेयर तयार गरेको छ । यसमा सदस्यको डेटाहरू राख्ने काम भइरहेको छ । हाल इन्टरनेसनल स्ट्याण्डर्ड वर्क कोड लिने प्रक्रियामा संस्था रहेको छ ।

त्यस्तै समाजले वर्ल्ड इन्टेलेक्चुअल प्रपटी अर्गनाइजेसनबाट डब्लुआईपीओ कनेक्ट सफ्टवेयर लिन लागिरहेको छ । उक्त सफ्टवेयरलाई अहिले हाम्रो सर्भरमा राख्ने काम भइरहेको पाण्डे बताउँछन् ।

‘अबको केही समयपछि सिस्याक हुँदै नेपाली गीत संगीतको इन्टरनेसनल स्ट्याण्डर्ड कोड जेनेरेट गर्न सक्ने छौं,’ उनले भने, ‘१-२ हप्तापछि हामीले कोड जेनेरेट गर्न शुरू गर्नेछौं ।’

यो पनि पढ्नुहोस्ः युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी