कीवर्डहरू -

समिट वुमन अफ द इयर सम्पन्न, स्विट फिक्सकी संस्थापक लम्सालले पाइन् १ लाख नगद र हिराको लकेट

समिट वुमन अफ द इयर सम्पन्न, स्विट फिक्सकी संस्थापक लम्सालले पाइन् १ लाख नगद र हिराको लकेट

ओपन स्पेस नेटवर्कले आयोजना गरेको ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ । आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार उक्त समिट सम्पन्न भएको हो ।

३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कानूनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु पनि रहेको जनाइएको छ ।

सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो । जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो ।

तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए । उत्कृष्ट ७ मा लुक्ला आउटडोरकी आङछेची शेर्पा, खानपिनकी सह संस्थापक ईशा बल्ला, ग्लोकल एकेडेमी अफ स्किल्स प्रालिकी सहसंस्थापक, स्वीट फिक्सकी को-ओनर कृतिका लम्साल, द मल्ल इन्ककी सजल मल्ल, ह्याप्पीमाइन्ड्सकी संस्थापक श्रेया गिरी, बिहेनेपालकी सह-संस्थापक श्रेया कटुवाल रहेका छन् ।

कार्यक्रमको निर्णायकमा आईएनजी ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा रहेका थिए ।

‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ । उनले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी छन् ।

उनले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन् । उनलाई शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ ।

ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनले ओएसएनले सधैं व्यवसायिक अवसरहरू मार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यवसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्ने बताइन् ।

कार्यक्रमलाई आईएनजी ग्रुप, टर्की एयरलाइन्स, नबिल बैंक, सिलिङ्क्स होलिडेज, टीभीएस, हर भेन्चर्स, शालिमार ज्वेलर्स, एभ्रिथिङ क्रिएटिभ्स, हेरिटेज गार्डेन, आयोन, आइडीइ नेपाल एनवाईइएफ, अगेनो एण्ड लाटोकोशेरो फुडको सहयोग रहेको थियो ।