कीवर्डहरू -

सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता  

सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता  

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सुरू भएको छ । बुधबारबाट सुरू भएको क्यान इन्फोटेक सोमबारसम्म चल्नेछ ।

बुधबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले क्यान इन्फोटेकको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले सेवाको गुणस्तर बढाउनु पर्ने समेत बताए ।

कार्यक्रममा अतिथिको रूपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव अनिल दत्त, सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

\"\"

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति श्रेष्ठले नास्ट इन्नोभेसनको इकोसिस्टम निर्माणमा काम गरिरहेको जानकारी दिए ।

नास्टले उद्योग मन्त्रालयसँगको सहकार्यमा स्टार्टअप डेस्क र पेटेन्ट दर्ताको काम गर्न लागेको श्रेष्ठले बताए । उनले विद्युतीय फोहोरलाई व्यवस्थापन गर्नुपर्ने विचार राखे । ‘विद्युतीय फोहोरलाई रिसाइकल गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यदी त्यसको रिसाइकल भएन भने त्यसको थुप्रै ठूलो हुन्छ । त्यसका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले सूचना प्रविधिको प्रयोग गरेर लागत घटाउन काम गर्नुपर्ने भनाइ राखे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले पनि आफ्नो भनाइ राखेका थिए । मल्लले आइटी हब बनाएर काम गर्नुपर्ने बताए । यसले जनशक्ति स्वदेशमै बस्न प्रेरित गर्ने र विदेशी मुद्रा पनि भित्रिने उनको भनाइ छ ।

\"\"

कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले विद्युतीय फोहोरले मानविय स्वास्थ्य र वातावरणमा असर गर्ने भन्दै यसको व्यवस्थापनमा प्राधिकरणले सानो प्रयास गरेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोना महामारीमा प्रविधिले राहत दिएको बताए । ‘प्रविधिलाई जति आत्मसात गर्छौ हाम्रो जीवन त्यति सहज हुन्छ’ उनले भने ।

प्रविधिको प्रयोग बढदै जाँदा त्यसले असमानता सिर्जना गरेको र त्यसलाई कम गर्न काम गर्नुपर्ने बताए । प्रविधिले जीवन सहज मात्रै नभएर औद्योगिक लागत समेत कम गरेको बताए । साथै उनले स्टार्टअप नीतिको आवश्यकता रहेको समेत बताए ।

क्यान इन्फोटकमा १७० वटा स्टल राखिएको छ, जसबाट विभिन्न संस्थाका वस्तु तथा सेवाको बारे जानकारीका साथै सामान खरिद गर्न समेत सकिने छ । इन्फोटेकमा भिजिट गर्नेलाई लक्षित गरेर विभिन्न कम्पनीहरूले अफर समेत ल्याएका छन् ।

यस पटकको इन्फोटेकमा स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता दिएको आयोजकले बताएको छ । आयोजकका अनुसार ब्रान्डिङलाई महत्व दिदै स्टल राखिएको छ ।

इन्फोटेकमा सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा राखिएको छ ।

क्यान इन्फोटेक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने छ । यस पटकको इन्फोटेक caninfotech2022.com बाट समेत अवलोकन गर्न सकिन्छ ।

इन्फोटेकको प्रवेश शुल्क १ रूपैयाँ तोकिएको छ । टिकट आईएमई पेबाट काट्न सकिने छ । अनलाइनबाट टिकट काट्न नसक्नेलाई कार्यक्रम स्थलमै काट्ने व्यवस्था मिलाइएको छ ।

\"\"

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

इन्फोटकको प्लाटिनम प्रायोजक वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक डिश होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा नमस्ते पे, डिजिकम, एस-पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज नेपाल, फर नेपाल र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.ई.डी. रहेका छन् ।त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको छ ।

यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक, अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल ईन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, सुचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा, असोसियोको प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।