कीवर्डहरू -

क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड

क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनामा अत्याधिक भिड देखिएको छ ।

वुधबार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिवार सार्वजनिक विदा र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड रहेको थियो ।

शनिबार मेलामा आएकाहरु आफुहरुले माघमा स्थगित भएको क्यान इन्फोटेक अहिले शुरु भएको ढिलो गरी थाहा पाएको तथा अवलोकन गर्न पाउंदा निकै उत्साहित भएको बताएका थिए । कोरोना महामारीका कारण प्रदर्शनी यस अघि २ पटक स्थगित भएको थियो ।

कोरोना महामारी पछि शुरु भएको प्रदर्शनीमा आफुलाई उपयोगी हुने धेरै स्टलहरु रहेको र सुचना प्रविधिको बारेमा नेपालमा उपलब्ध पछिल्लो प्रविधिहरुमा जानकारी लिएको अवलोकनकर्ताहरुको भनाइ छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक रहेको छ ।

आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शनमा राखिएको छ ।

कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ ।

उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ ।

त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुशन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुशनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भीड लागेको छ ।

प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सह–संयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए ।

उनका अनुसार आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमणमा आएका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहनेहरूले सय रुपैयाँ तिरेर इन्फोटेक भ्रमण गरिरहेको उपाध्यक्ष पोद्दारको भनाइ छ ।

१ सयको टिकट काटेर भिजिट गर्नेको संख्या भने तुलनात्मक रूमा कम रहेको उनको भनाइ छ । ‘प्रविधिको प्रयोगबाट १ रुपैयाँ मै क्यान इन्फोटेक भिजिट गर्ने अवसर रहेको छ’ उपाध्यक्ष पोद्दारले भने, ‘यो मौकाको फाइदा उठाइ सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा पोख्त बन्ने र अथाह ज्ञान लिने अवसरलाई खेर नफाल्न सम्पूर्णमा आग्रह गर्दछु ।’

शनिबार इन्फोटेकमा लोकप्रिय गायक सुशान्त केसी, र्यापर गिरीस खतिवडा, गायक स्वप्न सुमन, पब्जी खेलाडी इन्दु मल्ल लगायत समाजमा चर्चित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । इन्फोटेकमा आएका अवलोकनकर्ताहरु आफुसँगै चर्चित व्यक्तित्वहरु पाउँदा झनै उत्साहित देखिन्थे ।

शनिबार नै डिसहोमले नयाँ प्रडक्ट ‘क्याम्पस वाईफाई’ सार्वजनिक गरेको छ साथै शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेका कारण यी स्टलहरुमा अवलोकनकर्ताको अत्यधिक आकर्षण देखिन्थ्यो  ।

प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट)को प्रविधि संकाय अन्तर्गत दक्षिण कोरियाली सरकारको औपचारिक विकास सहयोग मार्फत मुलुकमै उपलब्ध पहिलो घुम्ती सूचना पहुँच केन्द्र (Mobile Information Access Center)मा अवलोकनकर्ताहरुको आकर्षण देखिन्थ्यो ।

नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालका अनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो ।

वातानुकूलित बसभित्र बिद्यार्थीका लागि आवश्यक वाईफाई, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, प्रिन्टर, भिजुअलाइजर, साउण्ड सिस्टम, स्पिकर, शौचालय लगायतका सुविधाहरु उपलब्ध छन् । यस आईसीटी मोबाइल बसमा एक पटकमा १८ जनाले तालिम लिन सक्ने गरी संरचना बनाइएको छ ।

नाष्टले घुम्ती सूचना पहुँच केन्द्र नामक मोबाइल बस मार्फत मुलुकका ग्रामीण भेगमा पुगी सूचना तथा संचार प्रविधि क्षेत्रमा शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने उदेश्य लिएको छ र सोका निम्ति क्यान महासंघसंग सहकार्य गरेको छ । घुम्ती सूचना पहुँच केन्द्रमार्फत विद्यार्थीलाई अभिमुखीकरण गर्ने, कम्प्युटरका कक्षा सञ्चालन गर्ने र साक्षरता बढाउने लगायतका कामहरु भइरहेको नास्टले जनाएको छ ।

उपत्यका बाहिर ७४ जिल्लामा रहेको आफ्नो नेटवर्क मार्फत यातायात पहुँच भएका ७ वटै प्रदेशका स्थानीय तहसम्म प्रशिक्षकसहितको घुम्ती सूचना पहुँच केन्द्र मार्फत शहरी सुविधाबाट बञ्चित विद्यार्थी र अन्य जिज्ञासुलाई नास्टको बसभित्रै अनुशिक्षण कार्यक्रम बढाउने गरी क्यान र नास्टको सहकार्य हुने क्यान महासंघका महासचिव नारायण थापाको भनाई छ ।

बैशाख ७ गतेदेखि १२ गतेसम्म हुने क्यान इन्फोटेकको २७ औं संस्करणमा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनीमा घुम्ती सूचना पहुँच केन्द्र पनि राखिएको छ ।

प्रदर्शनीमा अवलोकनकर्ताले सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुसँगै सूचना प्रविधिमैत्री बसको बारेमा जानकारीका साथ कम्प्युटर सम्बन्धि आधारभूत तालिम अथवा कम्प्युटरका टिप्स एवं ट्रीक्स पनि सिक्न सकिने व्यवस्था नास्टले गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको प्रदर्शनी आगामी सोमबारसम्म जारी रहने छ ।