कीवर्डहरू -

तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना  

तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना  

काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ । अर्थात ‘क्यू आर स्क्यान, पे फाईन एण्ड विथड्र डकुमेण्ट’ सुविधाको थालनी भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौतारिनु पर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको विस्थापित भएको छ ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे उपर सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोबाइल बैङ्किङ्ग एप्लिकेसनमार्फत् मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरी सकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए ।

उनले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे ।

कुमारी बैङ्कका डिजिटल बैङ्किङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा धेरै खुसी भएको व्यक्त गर्दै यस व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

यस्तो छ जरिवाना तिर्ने तरिका

यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नं. ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टम (TVRS) बाट क्यूआर कोड जेनेरेट (generate) गरि मनिटरमा डिसप्ले (display) गरिन्छ ।

उक्त क्यूआर कोड डिजिटल वालेट वा मोबाइल बैङ्किङ्ग एप्लिकेसनमार्फत् स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी पश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।

यो सेवा हाललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

यस अघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाईनमार्फत् भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था शुरू गरिएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैङ्कका पदाधिकारीहरूको उपस्थिति थियो ।