कीवर्डहरू -

सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा

सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने निर्णय गरेका छन् ।

सरकारले सञ्चार तथा सूचना प्रविधिको सहज सञ्चालनका लागि वातावरण नबनाई दिएको भन्दै दिवसलाई बहिष्कार गर्ने इन्टरनेट सेवाप्रदायकहरुको साझा संगठन आईस्पानले निर्णय गरेको हो । आईस्पानले प्रेस विज्ञप्ति नै जारी गरेर त्यस्तो बताएको हो ।

टाटा, एयरटेल र सिफी जस्ता अप्स्ट्रीम प्रोभाईडर्सहरुलाई भुक्तानी गर्न सरकारले विदेशी मुद्रा सिफारिस पूर्ण रुपमा बन्द गरेको कारण ६ महिनादेखिको रकम भूक्तानी नपाएको उनीहरुको गुनासो छ ।

भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस नै बन्द गरेपछि आगामी हप्ताबाट इन्टरनेट नै बन्द हुने स्थिति आएको भन्दै आईस्पानले विरोध जनाएको हो ।

सपोर्ट शूल्क, वार्षिक मर्मत सम्हार, प्राविधिक तथा निरिक्षण शूल्क जस्ता गैर दूरसञ्चार सेवामा  आरटीडीएफ र रोयल्टी न लाग्ने देखिएको  भन्दै २०७७ असार १२ गते सर्वोच्च अदालतले बेरुजु रकम नउठाउन प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो ।

तर उक्त निर्देशनलाई पालना नगरी मन्त्रालयले विरुजुकै विषयलाई लिएर अनेकन बाहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्ने तर्फ लागेको भन्दै आईस्पानले जनाएको छ ।

साथै आईस्पानले विद्युतीय पोल भाडा प्रयोग तथा सोको भुक्तानी एवम् उपभोग सम्बन्धमा तयार गरेको प्रतिवेदनप्रति पनि असन्तुष्टि जनाएको छ । उक्त प्रतिवेदनको बुँदाहरु कार्यान्वयनमा आएको खण्डमा विद्युत प्राधिकरणको मनोमानी चल्ने उसले बताएको हो ।

आईस्पानले दिवसलाई बहिष्कार गर्दै दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम तथा गतिविधिको आयोजक तथा प्रायोजक नबन्ने, सहभागी नहुने र त्यस्ता कार्यक्रमलाई सहयोग नगर्ने घोषणा गरेको हो ।