कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देशको विकास कठिन छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देशको विकास कठिन छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारबिना समग्र देश विकासको परिकल्पनासम्म कठिन रहेको बताएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना दिदै मन्त्री कार्कीले सूचना प्रविधिको प्रयोगबिना देश विकास कठिन रहेको बताएका हुन् ।

आजको युग सञ्चार तथा सूचना प्रविधिको भएको र यो आजको आवश्यकता मात्र नभएर अपरिहार्यता भएको कार्कीको भनाइ छ ।

‘यसको प्रयोगले समस्त विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरिदिएको छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘मानव जीवनलाई सहज, सरल र सम्वृद्ध बनाउनका लागि सञ्चार तथा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ ।’

मन्त्री कार्कीका अनुसार सरकारले व्यवस्थित तथा सुरक्षित साइबर स्पेश निर्माणका लागि साइबर सुरक्षा नीति निर्माणको कार्य अगाडि बढाएको छ ।

सञ्चार तथा सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्यहरू उच्च प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए ।

त्यस्तै संवेदनशील पूर्वाधारलाई चौबीसै घण्टा निगरानी गर्ने गरी पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिएको छ । सञ्चालनमा रहेका डेटा सेन्टर तथा सरकारी क्लाउडको मूल्यांकन तथा पुनरावलोकन गर्नुका साथै थप डेटा सेन्टर स्थापनाको कार्य अगाडि बढाएको उनको भनाइ छ ।

उनका अनुसार कागजरहित सरकारको अवधारणाबमोजिम विद्युतीय हस्ताक्षरसहितको सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ल्याइएको छ ।

दूरसञ्चार सेवालाई गुणस्तरीय तथा विश्वसनीय बनाउन फाइभजीको प्रयोग अगाडि बढाइएको र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित नीति तथा कानुन समयसापेक्ष निर्माण तथा परिमार्जनका काम भइरहेको कार्कीले बताए ।