आजभोलि मानिसले धेरैजसो समय इन्टरनेटमा बिताउछन् । अहिलेको समयमा इन्टरनेट अपरिहार्य भइसकेको छ । एक दिन नेटमा बसिएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ ।
यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ । इन्टरनेट जति मानिसको आवश्यकता बन्दै छ त्यति नै इन्टनरेटबाट हुने हिंशा, दुर्व्वहार र शोसनका घटना पनि बढ्दै गएका छन् ।
यस्ता समस्याबाट बच्न आजको इन्टरनेट युगमा सुरक्षित इन्टरनेट चलाउनु महत्वपूर्ण छ । त्यसकारण आज हामी तपाईलाई सुरक्षित रूपमा कसरी इन्टरनेट प्रयोग गर्ने बारे जानकारी दिदैछौं ।
के के सावधानी अपनाउने ?
इन्टरनेटमा नचिनेको मान्छेलाई आफ्नो नाम, ठेगाना, फोन नम्बर, ओटिपी नम्बर अनि बैङ्क अकाउन्ट नम्बरसम्बन्धी व्यक्तिगत सूचना नदिनुहोस् । त्यस्तै अनलाइनमा बनाएका साथीहरूसँग सकेसम्म एक्लै भेट नगर्नुहोस् ।
धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन् । यसमा सतर्क हुनु जरुरी छ । कुन सही र कुन गलत छुट्याउन सक्नु पर्छ ।
यस्ता धेरैजसो साइटहरू आफै पनि कुनै न कुनै प्रडक्टहरू बेच्ने कोसिस गर्छन् र इमेल डाटा सङ्कलन गरेर विज्ञापनदाता कम्पनीहरूलाई बेच्ने गर्छन् । अनलाइनमा राख्ने पासवर्ड बलियो राख्नुहोस् ।
आठ अंकभन्दा बढीको नम्बर, अक्षर, विशेष क्यारेक्टर प्रयोग गरी बलियो पासवर्ड राख्नुपर्छ । बलियो पासवर्ड भयो भने ह्याक गर्न गार्हो हुन्छ ।
त्यसैगरी इन्टरनेटमा थुप्रै भाईरस र मालवेयरहरु हुने गर्दछन् । ह्याकरहरुले मानिसको निजी जानकारी चोर्न विभिन्न किसिमका सफ्टवेयर बनाएका हुन्छन् ।
धेरै जस्तो ठाउँमा भाईरसले सिपियू, मेमोरी र अरु प्रणाली स्रोतहरु लिदिने गर्दछ । यसबाट बाँच्नका लागि एन्टीभाइरसको प्रयोग जरुरी छ । एन्टीभाईरस एक कम्प्यूटर प्रोग्राम हो जसले तपाईको कम्प्यूटरमा संक्रमण भएको कम्प्यूटर भाईरसलाई हटाईदिने गर्दछ ।
कुनै नयाँ भाईरसको संक्रमण हुनबाट पनि एन्टीभाईरसले जोगाउने गर्दछ । विन्डोज, म्याकओएस, एन्ड्रोईड, आईफोन र लाईनक्सका लागि पनि विभिन्न एन्टी भाईरस प्रोग्रामहरु उपलब्ध रहेका छन् ।
कहिले काँही इमेल प्रयोग गरिरहेको बेला अनावश्यक वा स्पाम इमेल आइरहेका हुन्छन् । उक्त मेल खोल्नु र जबाफ दिनुको साटो त्यस्ता मेल वा एपहरूलाई तपाईं ब्लक गर्न सक्नुहुन्छ ।
यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अञ्जान इमेलको साथ एट्याचमेन्टका रूपमा नै सबैभन्दा धेरै भाइरस आउने खतरा रहन्छ । त्यसैले, उक्त मेलको एट्याचमेन्टलाई बिना जाँच कहिल्यै पनि डाउनलोड नगर्नुहोस् ।
कुनैकुनै इमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरस्कार पर्यो भन्ने लोभ देखाएर फसाउने खालका पनि आउँछन् र यसमा तपाईंको नाम ठेगानाका साथै अरु व्यक्तिगत जानकारी मागिएका हुन्छन् ।
यस्ता इमेलहरूमा लोभिएर कहिल्यै पनि रिप्लाई दिने नगर्नुहोस् । यसमा मात्र तपाईंहरूलाई ठग्ने बाहेक अरु केही हुँदैन । याद राख्नुहोस्, नकिनेको चिठ्ठा कहिल्यै पर्दैन । इमेल आक्रमणबाट सुरक्षित हुने सजिलो उपाय आफूले नचिनेका इमेलहरूलाई नखोलीकनै डिलिट गर्नु नै हो ।
डाउनलोड गर्दा सतर्क रहनुहोस्
इन्टरनेटसँग सम्बन्धित कुनै पनि यस्ता एप्लिकेशन जब तपाईं डाउनलोड गर्दै हुनुहुन्छ, जसमा डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने गर्दछ ।
यस्ता एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला आफ्नो जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ । साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नो कम्प्युटरमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस् ।
त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सेक्युरिटी सर्टिफिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन ।