कीवर्डहरू -

भीपीएन के हो र कसरी काम गर्छ ? किन प्रयोग गर्ने भीपीएन ?

भीपीएन के हो र कसरी काम गर्छ ? किन प्रयोग गर्ने भीपीएन ?

गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? युट्युबमा कुनै भिडियो खोल्नुभयो तर त्यो भिडियो तपाईंको क्षेत्रमा उपलब्ध छैन् भनेर आयो भने के गर्ने ? अनलाइनमा आफ्नो डाटा सुरक्षित राख्नु पर्यो, त्यती बेला के गर्ने ?

माथिका यी समस्याहरुको समाधान हो, भीपीएन । भीपीएन अर्थात भर्चुअल प्राइभेट नेटवर्क । सामान्य भाषामा बुझ्नपर्दा भर्चुअलको मतलब अवास्तविक, वा निजी हो ।

तीनवटा शब्दबाट बनेको भीपीएन आखिर के हो त ? कुन भीपीएन सुरक्षित छ  र कुन छैन ? कुन भीपीएन प्रयोग गर्नु उचित हुन्छ ? यी सबैको बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौं ।

भीपीएन के हो र कसरी काम गर्छ ?

भीपीएन यस्तो सेवा हो, जसले तपाईंको इन्टरनेट जडानलाई सुरक्षित राख्ने तथा अनलाइनमा तपाईंको पहिचान गोप्य राख्ने काम गर्दछ ।

यसले तपाईंको डाटाको लागि एक एन्क्रिप्टेड सुरुङ सिर्जना गर्दछ र तपाईंको आईपी एड्रेस लुकाएर तपाईंको अनलाइन पहिचानलाई सुरक्षित गर्दछ ।

मानौ तपाईंले नेपालका कुनै पनि इन्टरनेट सेवा प्रदायक (आईएसपी) बाट इन्टरनेट लिनु भएको होला । जसबाट तपाईंले मोबाईल र कम्प्युटरमा ईन्टरनेट चलाउनु हुन्छ । यदी तपाईंलाई गूगल डटकममा जानु छ भने शुरूमा उक्त अनुरोध तपाईंको सेवा प्रदायकसँग जान्छ ।

सेवा प्रदायकले तपाईंलाई गूगल डटकमको वेबसाइटमा पठाइदिन्छ । अब यी सेवा प्रदायकहरुले बिचमा ब्लक गर्न पनि सक्छन् । यदी गूगल डटकम ब्लक गरेर राखिएको छ भने आईएसपीले गूगल डटकम खोल्न दिदैन् । बिचमै त्यो अनुरोधलाई रोकिदिन्छ । यस्तो बेला भीपीएनले मद्दत गर्छ ।

भीपीएन प्रयोग गरेर निश्चित कन्फिगेरेसन गरेपछि अवरुद्ध भएको खन्डमा गूगल डटकमको डाटा इन्क्रिप्ट हुन्छ  र  एक सुरुङ बन्छ । एउटा इन्क्रिप्सन कनेक्सन बन्छ भन्न सकिन्छ । जब तपाईंको कम्प्युटरले आईएसपीलाई अनुरोध पठाउँछ । अनि तपाईले पठाएको अनुरोध भीपीएन प्रयोग गर्नुभएको छ भने आईएसपीको सर्भरमा नगएर भीपीएनको सर्भरमा जान्छ । चाहे त्यो अमेरिकामा होस् वा जापान या नेदरल्याण्डमा ।

राउटरको माध्यमले तपाईको अनुरोधलाई त्यही राउट गर्दिन्छ । तपाईले प्रयोग गर्नुभएको भीपीएनको सर्भर जुन देशको छ, त्यसलाई हामी भीपीएन सर्भर  भन्छौ र सर्भरमा पुगी सकेपछि यसले तपाईंको इन्क्रिप्टेड डाटाको प्याकेटलाई खोलिदिन्छ र उक्त सर्भरले तपाईलाई गूगल डटकममा पुर्‍याउँछ ।

त्यसपछि त्यो सर्भरबाट गूगल डटकम सम्मको कनेक्सन बन्छ । त्यसैले यदी नेपालमा  फेसबुक, गुगल जस्ता साईटहरु बन्द भए भने भीपीएन मार्फत पहुँच गर्न सकिन्छ ।

\"\"

यदी तपाईं कुनै अवरुद्ध साइट खोल्न चाहनुहुन्छ भने भीपीएनको माध्यमबाट तपाईंको कनेक्सन आएईपी हुँदै भीपीएनको सर्भरसम्म जान्छ र त्यो भीपीएन सर्भरले तपाईंलाई त्यो साइटमा लैजान्छ ।

त्यो साईटले जे पनि रिप्लाई गर्छ, सुरुमा त्यो भीपीएन सर्भरलाई आउँछ र फेरी यसले तपाईंको ईन्टरनेटसँग कनेक्सन बनाइदिन्छ । यहाँ तपाईंको आईएसपीलाई लाग्छ कि तपाईं केवल त्यो सर्भरसँग कनेक्ट गरिराख्नु  भएको छ । तर त्यो सर्भरले कहाँबाट तपाईंलाई के ल्याएर दिएको छ, त्यो भीपीएन सर्भरलाई मात्रै थाहा हुन्छ ।

यदी तपाईंले कतै सार्वजनिक वाई-फाई चलाउनु भएको छ भने तपाईंको डाटा चोरि हुने सम्भावना एकदम बढी हुन्छ । तपाईं माथी निगरानी राख्न सकिन्छ र यस नेटवर्कबाट तपाईंले जे पनि जानकारी या डाटा पठाउनुहुन्छ, यदी त्यहाँ ह्याकर बसेको छ भने त्यो लक हुन सक्छ र तपाईंको गोपनीयताको दुरूपयोग हुन् सक्छ । त्यसैले सार्वजनिक वाई-फाईहरु चलाउदा भीपीएनको प्रयोग गर्नु उचित हुन्छ ।

भीपीएनका फाइदा

भीपीएनका धेरै फाइदाहरू छन् । यदी तपाईंले आफ्नो बैंकको डाटा तथा जानकारीहरु तपाईंको आईएसपी वा अरू कसैले थाहा नपाओस् र गोपनीयतालाई महत्व दिन चाहन्छु भन्नुहुन्छ भने भीपीएनको प्रयोग गर्न सक्नु हुन्छ । अवरुद्ध वेबसाइट पहुँच गर्ने कुरा त छँदै छ, साथै तपाईंको पहिचानलाई पनि गोप्य राख्न यसले मद्दत गर्दछ ।

कसैलाई पनि आफुलाई अरुले पछ्याएको, लुकी लुकी हेरिरहेको मन पर्दैन । आफुलाई हिरासतमा राखेको मन पर्दैन, तपाईंसँग लुकाउने केही नभएपनि कल्पना गर्नुहोस् त तपाईंको इन्टरनेट ब्राउजिङ तपाईंको घर हो ।

यस घरमा भएको बहुमूल्य सामान र सम्पत्ति ईन्टरनेटमा तपाईंको व्यक्तिगत जानकारी, ब्राउजिङ इतिहास र तपाईंले खोज्नु भएको र भिजिट गर्नु भएको वेबसाइटहरु हुन् ।

कोही अज्ञात व्यक्तिले तपाईंको घर अगाडि लुकिछिपी तपाईंको हरेक गतिविधिहरुलाई नजर राखिरहेको छ भने तपाईंलाई कस्तो महसुस हुन्छ ? मनमा कही न कही असुरक्षा र डर पैदा भइहाल्छ ।

आईएसपी, ह्याकर र सरकारले चाहेमा तपाईंको अनलाइन गतिविधिहरुमा नजर राख्न सक्छन् । अब यसमा तपाईंले नराम्रो काम गरिराख्नु भएको छ भने त्यो अर्कै कुरा हो । तर बिना कारण यदी कसैले तपाईंलाई ट्रयाक गरिराखेको छ भने त्यो तपाईंको गोपनीयताको हनन हुनु हो ।

अझ तपाईंको बैंकको पासवर्ड, लगइन आईडी, इमेल, ब्राउजिङ इतिहास जस्ता गोप्य चीज ह्याकरले पाएमा त्यसको दुरुपायोग गर्न सक्छन् ।

जसरी तपाईं आफ्नो घरको ढोकामा ताल्चा लगाउनुहुन्छ, त्यसरी नै अनलाइनमा भीपीएन भनेको तपाईंको त्यो ताल्चा हो । यसले तपाईंले ईन्टरनेटमा पठाउने जानकारीलाई इन्क्रिप्ट गर्छ, जसले तपाईंको ट्राफिकलाई अवरोध गर्ने र जो कोहिलाई पनि पढ्न नसकिने बनाइदिन्छ ।

यसमा तपाईंको आईएसपी पनि समावेश हुन्छ । जब तपाईं भीपीएन मार्फत ब्राउज गर्दै हुनुहुन्छ भने तपाईंको ईन्टरनेट ट्राफिक इन्क्रिप्ट गरिएको हुन्छ, ताकी तपाईंको अनलाइन गतिविधि कसैले थाहा नपाओस् ।

भीपीएन सबैको समाधान भने होइन तर यो सुरक्षाको अतिरिक्त तह हो जसले तपाईंको ईन्टरनेट ट्राफिकलाई सुरक्षित  गर्दछ ।

सीमित वाक स्वतन्त्रता भएका देशहरुमा काम गर्ने मानिसहरु भीपीएनबाट प्रतिबन्द्धित सेवा प्रयोग गरिरहेका हुन्छन् । अधिनायकवादी शासन भएका देशका बासिन्दाले आफ्नो आईपी एड्रेस लुकाउन र आफ्नो संवेदनशील सन्देशहरुको लागि अतिरिक्त सुरक्षा सुनिश्चित गर्न पनि भीपीएनको प्रयोग गर्न सकिन्छ ।

\"\"

भीपीएन तपाईंले ओपेरा ब्राउजर अथवा क्रोम एक्सटेन्सनबाट नि:शुल्क चलाउन सक्नुहुन्छ । मोबाइलमा भीपीएन प्रयोग गर्न सकिन्छ । जसका लागि सःशुल्क, निःशुल्क र फ्रिमियम एप उपलब्ध छन् । फ्रिमियम भीपीएन फ्रीमा पनि चलाऊन सकिन्छ तर प्रिमियम सुविधाका लागि केही शुल्क तिर्नु पर्ने हुन्छ ।

प्रोटोन भीपीएन यस्तै फ्रिमियम एप हो, जसमा तपाईंले ३ देशको २३ वटा सर्भर पाउन सक्नु हुन्छ । तर हाई स्पीड कनेक्सन र अझ थप सर्भरको लागि तिर्नु पर्ने हुन्छ । यस्तै नोर्ड भीपीएन अर्को राम्रो भीपीएन एप हो तर यो प्रयोग गर्न शुल्क तिर्नुपर्ने हुन्छ । एक्सप्रेस भीपीएन पनि राम्रो भीपीएन एप हो तर यसलाई पनि प्रयोग गर्न शुल्क तिर्नुपर्ने हुन्छ ।

निःशुल्क भन्दा सःशुल्क भीपीएन प्रयोग गर्नुहोस्

निःशुल्क रूपमा प्रयोग गर्न सकिने भीपीएन धेरै उपलब्ध छन् । निःशुल्कभन्दा सःशुल्क एप नै चलाउदा राम्रो हुन्छ । किनभने गति, सुरक्षा र गोपनीयताका लागि तपाई भीपीएन प्रयोग गर्नुहुन्छ तर निःशुल्क एपहरूमा यी सुविधा फेला पार्न गार्‍हो हुन्छ ।

यस्ता  प्रदायकहरुले सर्भर नेटवर्कमा लगानी  गर्दैनन् ।  निःशुल्क भीपीएनमा कनेक्सन पनि स्थिर हुँदैन् । तपाईंको आईपी एड्रेस सार्वजनिक हुने सम्भावना पनि धेरै हुन्छ । त्यसैले निःशुल्क भीपीएनभन्दा पनि तपाईंले यस्तो भीपीएन प्रदायक खोज्नुहोस्  जसलाई तपाईं विश्वास गर्न सक्नु हुन्छ ।

भीपीएन सेटअप तपाईंले एपबाट नै सजिलै गर्नसक्नु हुन्छ वा तपाईं आफैले पनि गर्न सक्नु हुन्छ । तर म्यानुअल सेटअपमा समय धेरै लाग्ने  र गल्ती हुने सम्भावना बढी हुन्छ । साथै तपाईंले आफ्नो राउटरमा पनि भीपीएन जोडन सक्नु हुन्छ ।