कीवर्डहरू -

सडकको पहुँच भएको ठाउँमा डिजिटल साक्षरता प्रदान गर्ने नास्टको ‘आइसिटी बस’ (भिडिओ)

सडकको पहुँच भएको ठाउँमा डिजिटल साक्षरता प्रदान गर्ने नास्टको ‘आइसिटी बस’ (भिडिओ)
नास्टको आइसिटी बस

पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको सुगम कार्यान्वयनका लागि डिजिटल साक्षरता सबैभन्दा महत्वपूर्ण पाटो बनेको छ ।

युवा पुस्तामाझ केही हदसम्म डिजिटल साक्षरता भएको पाइए पनि उल्लेखनीय जनसंख्यिक हिस्सामा अझै पनि यसको पहुँच र चेतना पुग्न सकेको छैन् ।

यसै कुरालाई मध्यनजर गर्दै केही समय अगाडि दक्षिण कोरियाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई आइसिटी बस प्रदान गरेको छ, जसलाई घुम्ती सूचना पहुँच केन्द्र पनि भनिन्छ ।

सडकको पहुँच पुगेका ठाउँमा आइसिटी बसमार्फत आधारभूत डिजिटल साक्षरता प्रदान गर्न सकिन्छ । आइसिटी बसबाट अहिलेसम्म २ सय बढीले आधारभूत डिजिटल साक्षरताको तालिम लिइसकेका छन् भने २ हजार बढीले आइसिटी बस अवलोकन गरिसकेका छन् ।

नेपालमा देखिएको डिजिटल असमानतालाई कम गर्न कोरियाले आइसिटी बस दिएको नास्टकी एआरएफ पुनम झा बताउँछिन् ।

‘यस बसबाट बच्चादेखि वृद्ध सबैले तालिम लिन सक्छन् । यसमा वर्ड, एक्सल, पावरपोइन्ट, सफ्टवेयर इन्स्टल गरी आधारभूत डिजिटल साक्षरतासँग सम्बन्धि विषयको ज्ञान पाउन सकिन्छ ।’ झाले भनिन् ।

यस्तो किसिमको आइसिटी बस सम्भवतः नेपालमै पहिलो भएको उनको भनाइ छ । यसबाट नागरिक स्तरमा मात्र होइन सरकारी कार्यालयका कर्मचारीहरुलाई पनि आईसिटी सम्बन्धि प्रशिक्षण प्रदान गर्न सकिन्छ ।

कुनै संस्थालाई आइसिटी बस आवश्यक परेमा खण्डमा नास्टमा सम्पर्क गर्न सक्ने व्यवस्था छ । यसरी सम्पर्क गरेर प्रक्रिया पुरा गरेपश्चात तोकिएका शर्त बमोजिम बस लिन सकिन्छ । नास्टले हाल आइसिटी बसबाट विभिन्न प्रदेशमा समेत तालिम दिइरहेको छ ।

कस्तो छ आइसिटी बस ?

आइसिटी बस झट्ट हेर्दा अन्य सार्वजनिक बस जस्तै देखिन्छ । तर आइसिटी बसको काम भने पृथक छ । डिजिटल साक्षरताका लागि प्रयोग हुने आइसिटी बसमा जम्मा २० वटा सिट छन् ।

बसमा टच स्क्रिन, ८ जीबी र्‍याम र एसएसडिसहित १९ वटा ल्यापटप छन्, जसमध्ये एउटा ल्यापटप प्रशिक्षकले प्रयोग गर्छ भने बाँकी १८ वटा प्रशिक्षार्थीहरुले प्रयोग गर्छन् । बसमा इन्टरनेट सुविधा पनि छ ।

यसमा इलेक्ट्रिक पोडियम छ, जसमा टच स्क्रिन सुविधासहित कम्प्युटर पनि राखिएको छ । साउन्ड सिस्टमको व्यवस्था रहेको यसमा प्रोजेक्टर पनि छ । प्रोजेक्टर तालिम दिँदा प्रयोग गरिन्छ । त्यस्तै बसमा फोटोकपी, प्रिन्ट गर्न मिल्ने गरी प्रिन्टर मेसिन पनि राखिएको छ ।

आइसिटी बस सञ्चालनका लागि यसमा जेनेरेटर र युपीएस राखिएको छ । बसमा एसीको सुविधा समेत छ । एसीले बस भित्रको तापक्रमलाई सन्तुलित राख्दछ ।

बस गुडिरहेको समयमा ल्यापटपलाई सुरक्षित राख्न कपबोर्डको व्यवस्था पनि छ ।  बसभित्र ट्वाइलेटको समेत सुविधा रहेको छ ।