कीवर्डहरू -

सबै श्रम स्वीकृति अब अनलाइनबाटै

सबै श्रम स्वीकृति अब अनलाइनबाटै

वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबारदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन थालेको हो ।

सो कार्यालयका प्रमुख रमेश अर्यालले नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट दिन थालेसँगै सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएको जानकारी दिए ।

सो कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र दिन थालेको हो ।

अनलाइन सुरु गरेसँगै कार्यालयमा दैनिक हुने हजारौँको भीड हटेको छ । प्रमुख अर्यालले वैधानिकीकरणमार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकसरह श्रम स्वीकृति दिन सुरु गरिएको जानकारी दिए ।

अनलाइन प्रणालीबाट नयाँ व्यक्तिगत श्रम स्वीकृति लिन भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिमको प्रमाणपत्र, सीपमूलक रोजगारीमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाणलगायत आवश्यक पर्छ ।

श्रम स्वीकृति नलिएका घरेलु श्रमिकको हकमा भने विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारीमा घरेलु श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्छ ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका, २०६९ को प्रक्रियाबमोजिम सम्बन्धित देशको नेपाली दूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा गएको वैशाखदेखि सरकारले क्रोयसिया, पोल्यान्ड, रोमानिया, हङ्गेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ ।

कार्यालयले रोजगारीका लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

कतिपयले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको भन्दै कार्यालयले यस्तो आग्रह गरेको हो ।

श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन सकभर आफैँले वा आफन्तमार्फत भर्न र घरमा नभई अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कबारे पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ मा वैदेशिक रोजगारीका लागि एक लाख ६६ हजार जनाले श्रम स्वीकृति लिएकोमा चालू आव २०७८/७९ को पहिलो १० महिनामा पाँच लाख १० हजार लगभगले श्रम स्वीकृति लिएका छन् । गाेरखापत्र