कीवर्डहरू -

विद्युतीय भुक्तानी सेवाको पहुँच साढे २ करोडमा, एक वर्षमै २० खर्ब माथिको कारोबार

विद्युतीय भुक्तानी सेवाको पहुँच साढे २ करोडमा, एक वर्षमै २० खर्ब माथिको कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवाको पहुँच करिब २.५ करोड नेपालीहरुमा पुगेको छ । राष्ट्र बैंकले गत बिहीबार  प्रकाशित गरेको २०२१ को वित्तिय स्थिरता प्रतिवेदनमा विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुको सेवाग्राही कूल २ करोड ४७ लाख ७५ हजार ६ सय ८९ माझ पुगेको देखिएको हो ।

राष्ट्र बैंकले २०७३ सालमा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था तथा संयन्त्रहरुलाई प्रदान गरिने अनुमति नीति २०७३ ल्याएपछि राष्ट्र्रिय भुक्तानी प्रणालीको विकासका लागि बलियो वैधानिक आधार तयार भएको थियो । सोही कानुनी व्यवस्थाको सहयोगमा नेपाली विद्युतीय भुक्तानी प्रणाली संस्थाहरुले छोटो समयमै तिब्र गतिमा सेवाको विस्तार गर्न सक्षम भएका छन् ।

हाल विद्युतीय भुक्तानी प्रणालीलाई नेपालमा सबैभन्दा चाढो विस्तार भएको र सर्वसाधारणले चाढो अंगालेको प्रविधिको रुपमा लिईने गरिन्छ ।

राष्ट्र बैंकको वित्तिय स्थिरता प्रतिवेदन २०२१ अनुसार २०२१ को मध्य जुलाईमा अन्त्य भएको आर्थिक वर्ष २०२०/२०२१ मा विभिन्न विद्युतीय भुक्तानी प्रणालीको प्रयोग गरी २० खर्ब ५० अर्ब १२ करोड ६० लाख नेपाली रुपैयाँ बराबरको रकम कारोबार भएको थियो ।

सो आर्थिक वर्षभरी यस्ता विद्युतीय भुक्तानी प्रणालीबाट २६ करोड ४४ लाख ६३ हजार ३ सय ५१ पटक कारोबार भएको प्रतिवेदनमा उल्लेख छ । जसमा कनेक्ट आईपीएसबाट हुने कारोबारको संख्या ५६०.८ प्रतिशतले बढेर २८ लाख ४९ हजार ९ सय ६४ बाट १ करोड ८८ लाख ३३ हजार ७ सय ५२ पटक पुगेको थियो । कारोबार रकम भने प्रतिवेदनमा उल्लेख छैन ।

उक्त आर्थिक वर्षमा इन्टरनेट बैंकिङबाट ३१ लाख ७९ हजार ३ सय ६२ पटक कूल ९८ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसैगरी मोबाइल बैंकिङबाट सबैभन्दा धेरै ११ करोड १९ लाख २३ हजार ३ सय ८६ पटक कूल ४ खर्ब ६० अर्ब १ करोड ४० लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

वालेटबाट १२ करोड ४९ लाख ४५ हजार ९९ पटकमा कूल १ खर्ब १४ अर्ब ४३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो  । यसैगरी क्युआर कोडबाट ५५ लाख ८१ ह्जार ७ सय ७९ पटकमा २० अर्ब २८ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सो आर्थिक वर्षमा मोबाइल बैंकिङका ग्राहक सबैभन्दा धेरै १ करोड ४१ लख ९४ हजार ८ सय ३९ रहेको देखिन्छ । सो संख्या अघिल्लो वर्ष २०२० मा १ करोड १३ लाख ६ हजार ७ सय ९७ बाट २५.५ प्रतिशतले बढेको हो ।

यसैगरी इन्टरनेट बैकिङका कूल ग्राहक संख्या २०२१ म ११ लाख ६० हजार ३ सय २१ देखिन्छ जुन अघिल्लो वर्षको १० लाख ३१ ह्जार २ सय २७ बाट १२.५ प्रतिशतले बढेको हो ।

यसबाहेक वालेटका ग्राहक ८८ लाख ८५ हजार ९ सय १४ र कनेक्ट आईपीएसका ग्राहक संख्या ५ लाख ३४ हजार ६ सय १५ रहेको देखिन्छ । यसरी हेर्दा २०२१ मा नेपालका कूल २ करोड ४७ लाख ७५ हजार ६ सय ८९ मा विद्युतीय भुक्तानी सेवाको पहुँच पुगेको देखिन्छ ।

तर एउटै व्यक्तिसँग मोबाइल, इन्टरनेट बैंक, वालेट, कनेक्ट आईपीएस र क्युआर पेमेन्टको सुविधा रहेको हुँदा यो पहुँचलाई नेपाली जनसंख्याको अनुपातसँग तुलना गर्न नसकिने वित्तिय क्षेत्रका जानकारहरु बताउँछन् ।

वालेट कम्पनीहरु पनि यो संख्या शहरी क्षेत्रमा दोहोरीएको र ग्रामिण क्षेत्रमा अझै पहुँच राम्रोसँग पुग्न नसकेको स्विकार्छन् ।

वित्तिय प्रविधिको विकासले डिजिटल भुक्तानी सेवा प्रणालीलाई देशव्यापी विस्तार गर्न सहयोग पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपी यसको तिब्र विस्तारमा डिजिटल साक्षरता र चेतना साथै पैसाको भर्चुअल कारोबारमा सुरक्षा जोखिमका चुनौतीहरु रहेको प्रतिवेदनले बताएको छ ।