कीवर्डहरू -

४ वर्षदेखि परीक्षणको अवसर कुर्दैछ स्वदेशमै बनेको हेलिकप्टर

४ वर्षदेखि परीक्षणको अवसर कुर्दैछ स्वदेशमै बनेको हेलिकप्टर

काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको आयोजनामा सुधुरपश्चिमको धनगढीमा भर्खरै आईडिया एण्ड स्टार्टअप फेस्ट २०२२ सम्पन्न भयो । उक्त फेस्टमा सो प्रदेशका ३० भन्दा धेरै आईडिया तथा स्टार्टअपले प्रदर्शनीका लागि सहभागिता जनाए ।

तीनै सहभागीमध्ये एक थिए प्रकाश महता । २२ वर्षिय युवा प्रकाशले फेस्टमा एआरसी नामको हेलिकप्टर प्रद्धर्शनका लागि ल्याएका थिए, जसलाई उनले भर्खरै आफै बनाएका हुन् । फेस्ट अवलोकनका लागि आएका २ हजारभन्दा धेरै अवलोकनकर्ताका लागि उक्त हेलिकप्टर आकर्षणको मूख्य केन्द्रविन्दु बनेको थियो ।

पूर्णरुपमा तयार हुन केही बाँकी रहेको उक्त हेलिकप्टरलाई अन्य हेलिकप्टर जसरी वायु चालकको आवश्यकता पर्दैन । यसलाई ब्लुटुथबाट मोबाइलसँग कनेक्ट गरी अर्डिनोबाट नियन्त्रण गरी उडाउन सकिने प्रकाश बताउँछन् ।

हालसम्म उनले यसलाई उडाएका त छैनन् । तर आफै निर्माता भएको कारण यो उड्नेमा उनी सुनिश्चित छन् । ‘केही दिनमै बाँकी निर्माण काम सम्पन्न गरी यसलाई चाढै आकाशमा उडाउँदैछु,’ आईसीटी समाचारसँगको कुराकानीमा उनले भने ।

सुधुरपश्चिमको दुर्गम पहाडी जिल्ला दार्चुलाका स्थायी बासिन्दा प्रकाश एक इलेक्ट्रिकल ओभरसियर हुन् । गुणस्तरीय शिक्षाको खोजीमा उनी केही वर्ष अघि महेन्द्रनगर झरेका हुन् ।

महेन्द्रनगरस्थित एक विद्यालयमा ८ कक्षा अध्ययनरत हुँदा उनले पहिलोपटक एउटा सानो हेलिकप्टर बनाएका थिए । त्यसबेला बनाएको पहिलो हेलिकप्टरलाई चलाउन उनले खेलौना गाडीहरुको रिमोटलाई एसीबाट चलाउन सकिने रिलेहरु प्रयोग गरेर बनाएको रिमोट प्रयोग गरेका थिए ।

यसरी बनाउँदै सिक्ने क्रममा उनले धेरै उपकरणहरु बनाए । विद्युतीय उपकरण र मसिनप्रतिको आफ्नो लगावलाई पछ्याउँदै उनले एसएलसीपछि महेन्द्रनगरमै इलेक्ट्रिकल ओभरसियरको अध्ययन गरे ।

यसबीच उनी आफ्नो गाउँ दार्चुला फर्किए । दुर्गम पहाडी क्षेत्र दार्चुलामा सुगम महेन्द्रनगरमा जस्ता सुविधाहरु थिएनन् । तराईमा जसरी थ्रेसर प्रयोग गर्न फराकिलो सडकहरु थिएनन् ।

यसैले उनले आफैले गाउँघरको लागि मिनी थ्रेसर बनाए । यति मात्र होइन खेत जोत्नलाई पावर ट्रेलर, एल्मुनियम प्रयोग गरेर लाईट हेण्डी फ्यान पनि बनाए ।

कलिलो उमेरमै यस्तो विलक्षण प्रतिभा देखेर उनको गाउँले विभिन्न सम्मान कार्यक्रम राखी उनलाई सम्मान गर्‍यो । साथै गाउँलेले उनलाई यस्तो राम्रो कामलाई निरन्तरता दिनपर्छ साथ सहयोग दिन्छौं भनी अगाडि बढ्न प्रेरित गरे ।

यसरी गाउँलेबाट सहयोगको आश्वासन र ढाडस पाएपछि उनी फेरी तराई झरेर सहयोग पाउने विश्वासमा चार वर्ष अघि हेलिकप्टर निर्माणको काममा लागे । प्रकाशले काम त सुरु गरे तर गाउँलेबाट अपेक्षा गरे अनुरुप सहयोग पाउन सकेनन् ।

हात हालिसकेको कामलाई अधुरो छोड्नु हुँदैन भन्ने उनलाई लाग्यो । हेलिकप्टर निर्माणको कामलाई जसरी पनि पुरा गरेरै छाड्छु भनेर लागेको चार वर्षमा १९ लाख रुपैयाँ खर्च भएको उनी सुनाउँछन् । आफ्नो बलबुताले भ्याएको ऋणदान सबै गरेर बनाएको दुईजना व्यक्ति अटाउने उक्त हेलिकप्टरको तौल करिब १० कुईटेल भयो ।

तर इन्जिन क्षमता भने कम भएपछि त्यसलाई उडाउन सम्भव भएन । यसैले प्रकाशले उक्त हेलिकप्टरलाई ड्रोनमा परिणत गरिदिए । यो ड्रोन १७ बाई १७ फिट लम्बाई चौढाई आकारको छ ।

हाल उक्त ड्रोनको सम्पूर्ण निर्माण तथा फिनिसिङको कार्य सम्पन्न भईसकेको छ । तर परीक्षण उडान भने बाँकी छ । ड्रोन उड्नेमा उनी विश्वस्त छन् । तर यति ठूलो आकारको ड्रोनलाई परीक्षण गर्न उनीसँग उपयुक्त स्थान नै छैन ।

‘पालिकामा मैले एउटा व्यवस्थित परिक्षण गर्ने ठाउँ मिलाई दिनु भनेर निवेदन गरेको थिए,’ प्रकाश भन्छन्, ‘उहाँहरुले सकारात्मक प्रतिक्रिया दिनु भएको थियो तर चुनावको माहोलले सबै स्थगित भयो ।’

\"\"

ड्रोनको काम सम्पन्न भए पनि प्रकाशको हेलिकप्टर बनाउने सपना अधुरो नै थियो । यसैले उनले १ महिना अघि देखि ठूलो हेलिकप्टरकै ‘मेकानिजम’ प्रयोग गरी सानो हेलिकप्टर बनाईरहेका छन् ।

एआरसी नाम दिइएको यो सानो हेलिकप्टरको निर्माण पूर्णरुपमा सम्पन्न भईसकेको छैन । यसमा केही सामाग्री जडान तथा फिनिसिङ गरी परिक्षण गर्न बाँकी छ ।

प्रकाशले ठूलो हेलिकप्टरकै मेकानिजम प्रयोग गरी अहिलेको सानो हेलिकप्टर निर्माण गरेका हुन् । सुधुरपश्चिममा आयोजना भएको आईडिया एण्ड स्टार्टअप फेस्ट २०२२ मा सोही हेलिकप्टर प्रदर्शनका लागि प्रकाशले कार्यक्रम स्थलमा ल्याएका थिए ।

यसअघि निर्माण गरेको ठूलो हेलिकप्टरलाई मेनुअल्ली चलाउन पर्थ्यो भने अहिलेको सानोलाई ब्लुटुथमार्फत मोबाइलसँग कनेक्ट गरी अर्डिनोबाट चलाउन सकिने उनी बताउँछन् । यसमा ५५ सीसीको इन्जिन र पेट्रोल इन्जिन छ ।

प्रकाशले निर्माण गरेको यो हेलिकप्टर पूर्णरुपमा ह्याण्डमेड हो । यसमा प्रयोग गरेका सम्पूर्ण सामान उनी आफैले बनाएका हुन्, कुनै सामान पनि उनले आयात गरेका छैनन् ।

ठूलो ट्रकदेखि सानो साइकलसम्मको कुनै न कुनै सामग्री तथा पार्टपूर्जाहरु यसमा काटेर तथा वेल्डिङ गरी जोडेर उनले बनाएका हुन् ।

हेलिकप्टर बनाउन आवश्यक सबैभन्दा महत्वपूर्ण लेथ मसिन खरिद गर्न उनीसँग पर्याप्त पैसा थिएन । यसैले उनले त्यसलाई पनि आफै बनाए ।

‘हातले बनाएका सबै कुरा मसिनबाट बनेको जस्तो बलियो र प्रभावकारी हुँदैन,’ आईसीटी समाचारलाई उनले सुनाए, ‘मसिनबाट बनाएको जस्तो यो लेथ मसिन ईफिसियन्ट त छैन । तर काम भने गज्जबलले गर्छ ।’

चाहेको जस्तो सामान तथा मसिन पाएको भए अझै छिटो, छरितो र दिगो तरिकाले हेलिकप्टर बनाउन सकिने उनी सुनाउँछन् । तर सम्पूर्ण टूल सबै आफै बनाएर काम गर्न पर्दा खर्च र समय धेरै लाग्ने उनी बताउँछन् ।

सबै ह्याण्डमेड भएको कारण रिलेमा केही कमजोरी भएको उनी बताउँछन् । यसैले उनले रिले भने बाहिरबाट ल्याएका छन् । महेन्द्रनगरमा रिले नपाईने हुँदा उनले काठमाडौंबाट रिले मगाए । भर्खरै रिले आईपुगेको छ अब यसलाई जोडेर सबै फिनिसिङ गर्दा ३, ४ दिन लाग्ने उनी बताउँछन् ।

२२ वर्षको कलिलो उमेरमा आफै हेलिकप्टर बनाएर उडाउने सपना धेरैका लागि कल्पनाभन्दा बाहिर हुन्छ । आफ्नो कल्पना बाहिरका सबै कुरा असम्भव हुन्छ भने आम धारणा सबैतिर व्यप्त छ ।

यहीँ प्रवृति प्रकाशलाई हेलिकप्टर बनाएर उडाउने उनको सपनाबाट हतोत्साहित पार्न सधै उद्दत रहे । हरेक कुरा आफूले बनाएर उडाउन सकिन्न त्यो हाम्रो क्षमता होइन भनेर धेरैले उनलाई यस्तो काम छोडिदिन भने ।

विदेशबाट ल्याएको फिनिसिङ सामान मात्र उड्न सक्छ भन्ने उनीहरुको विश्वास थियो । प्रेरणाभन्दा आलोचना गर्नेको भिड बाक्लो थियो ।

यस्ता सोचलाई चुनौतीको रुपमा लिएर उनले एकदिन आफै हेलिकप्टर बनाएर उडाएर देखाउन चाहान्छु भने दृढ संकल्प गरे ।

‘सधै विदेशीसँग तुलना गरिरहने हो ? हामी विदेशी जसरी एकैपटक हाम फालेर जान सक्दैनौं । हाम्रो सुरुवातमा जुन जग हुन्छ त्यो भन्दा धेरै विकसित जग विदेशीहरुको हुन्छ । एकै स्तरमा सुरुवात गर्दा मात्र यसरी तुलना गर्न मिल्छ ।

तर हाम्रो सानो प्रयासलाई यहाँ सधै विदेशीको अत्याधुनिक विकाससँग दाजेँर हेर्ने चलन छ ।’ उनी भन्छन् ।

हेलिकप्टर निर्माण गर्दा आफूले नवप्रवर्तन र विकासमा युवाहरुलाई हतोत्साहित गर्ने सरकारी प्रवृति तथा प्रणाली पनि देखेको बताए । यसले उनलाई धेरै निराश पनि बनायो ।

उनी विभिन्न चरणमा आईपर्ने समस्याको समाधानका लागि हार गुहार सबै तिर गएँ । तर सबैले यो हाम्रो बसको कुरा होइन भन्दै काम नै छोडिदिने सल्लाह समेत दिन भ्याए ।

‘यसलाई बनाउन सक्ने मभित्रको आत्मविश्वासलाई उनीहरुले कहिल्यै बुझेनन् । यसैले मैले जति ऋणदान गरेर पनि यो मसिन बनाएरै छाडे ।’

आज उनको हेलिकप्टर र ड्रोन तयार छ । सबै फिनिसिङ र निर्माण कार्य पुरा भईसकेको छ । प्रकाशभित्रको क्षमता र आत्मविश्वास हेलिकप्टर उड्नेमा ढुक्क छ । तर दुर्भाग्य उनको हेलिकप्टर परीक्षणका लागि एउटा गतिलो ठाउँ पनि छैन् ।

\"\"

वर्षा याम सुरु हुँदैछ । ल्याबभित्र उनले बनाएको ड्रोन तथा हेलिकप्टरहरु राख्ने ठाउँ छैन । ती सबै त्रीपालले छोपेर बाहिर राखिएका छन् । चार वर्षदेखि उनको हेलिकप्टर हालै परिणत भएको ड्रोनले वर्षात्मा डुब्दै र घाम सहँदै बाहिर परीक्षणको समय कुरेर बसिरहेको छ ।

आफै बनाउन उनीसँग पैसा छैन् । पैसा कमाउन सिपको अभाव छैन् प्रकाशसँग । तर पैसा कमाउन अहिले लागेँ भने हेलिकप्टर बनाएर उडाउने सपना अधुरो रहने उनको डर छ ।

उनी निवेदन गर्दै भन्छन्, ‘काम गर्नलाई श्रमिक जसरी २४ घण्टा खटिरहन म तयार छु, मसँग क्षमता र  सिप पनि छ । गर्न सक्ने आँट छ । मलाई मात्र परीक्षणका लागि उपयुक्त ठाउँ र काम गर्ने वातावरण बनाईदिन अनुरोध गर्दछु ।’