कीवर्डहरू -

महानगरको गुनासो सुन्न कल सेन्टर स्थापना गर्न मेयर बालेनको प्रस्ताव

महानगरको गुनासो सुन्न कल सेन्टर स्थापना गर्न मेयर बालेनको प्रस्ताव

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरबासीको गुनासो लिन कलसेन्टर स्थापनाको प्रस्ताव गरेका छन् ।

महानगरको पहिलो कार्यपालिका वैठकमा मेयर शाहले यस्तो प्रस्ताव राखेका हुन् । महानगरको गुनासो लिन स्थापना हुने उक्त कल सेन्टरमा मेयर, उपमेयर तथा ३२ ओटै वडाका अध्यक्षहरुको पहुँच हुने उनले बताएका छन् ।

‘महानगरको कल सेन्टरमा ३२ ओटा वडाकै डेटाबेस हुनेछ,’ प्रत्यक्ष प्रशारित प्रथम कार्यपालिका वैठकमा बोल्दै मेयर शाहले भने, ‘सबै वडाका अध्यक्षले आआफ्नो वडाका गुनासोहरुलाई हेर्नसक्ने छन् । महानगरका मेयर उपमेयरले ३२ ओटै वडाका गुनासो हेर्न र त्यसको प्रत्यक्ष निगरानी समेत गर्न सक्ने छन् ।’

साथै कलसेन्टरमा आएका वास्तविक र गम्भिर गुनासोलाई फिल्टर गरेर हेर्ने समेत सुविधा उक्त प्रणालीमा हुने उनले बताएका छन् ।

महानगरको आफ्नो भिजन एजेण्डामै रहेको उक्त कल सेन्टरको अवधारणालाई मेयर शाहले प्रथम कार्यपालिका वैठकमा कार्यन्वयनका लागि प्रस्ताव गरेका हुन् ।

साथै उनले कल सेन्टरकै प्रणालीभित्र ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ पनि सञ्चालन गर्ने बताएका छन् । जसमा महानगरबासीहरुले आफ्नो क्षेत्रमा देखा परेका भौतिक संरचनासम्बन्धि समस्याहरुको समाधान गर्न कल सेन्टरमार्फत सम्पर्क गर्न सक्ने छन् ।

प्रतिक्रियामा महानगरले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स परिचालन गरी ती समस्याहरुको सम्बोधन गर्ने उनले बताए ।प्रारम्भिक चरणमा यस्ता दुईओटा एम्बुलेन्स परिचालन गर्ने मेयर शाहको भनाई छ ।