कीवर्डहरू -

सवारी चालक अनुमतिपत्रको शुल्क अनलाइनबाट तिर्न नसकिने, हाललाई कार्यालय नै जानुपर्ने 

सवारी चालक अनुमतिपत्रको शुल्क अनलाइनबाट तिर्न नसकिने, हाललाई कार्यालय नै जानुपर्ने 

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिसकेपछि कार्यालयमै गएर त्यसको शुल्क भुक्तानी गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

हाललाई अनलाइन आवेदन फाराम भरिसकेपछि अनलाइन भुक्तानी नगरी भौचर डाउनलोड गरी सम्बन्धित कार्यालयमा गइ शुल्क भुक्तानी गर्न विभागले अनुरोध गरेको छ ।

अनलाइन भुक्तानी प्रणाली व्यवस्थाका लागि विभागले महालेखा नियन्त्रक कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन फाराममा अनलाइन प्रणाली विकास गरिएको तर यो प्रणाली अनुसार तत्कालका लागि गभर्मेन्ट पे मार्फत अनलाइन भुक्तानी गर्दा विभागको ईडीएल प्रणालीमा तथ्याङ्क पठाउन प्राविधिक तयारी भइरहेको छ,’ सूचनामा भनिएको छ, ‘यस किसिमको प्रणालीबाट अनलाइन भुक्तानी गर्ने व्यवस्थाका लागि महालेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी कार्यान्वयनको प्रक्रियामा रहेको छ ।’

विगत २ महिनादेखि बन्द भएको अनलाइन आवेदन प्रणाली सोमबारदेखि पुनः खुलेको थियो । तर खुलेपनि हाललाई पैसा बुझाउन कार्यालयमै जानुपर्ने भएको छ ।