कीवर्डहरू -

नेपाली विकिपिडिया २० वर्षमा प्रवेश, कस्तो छ अवस्था ?

नेपाली विकिपिडिया २० वर्षमा प्रवेश, कस्तो छ अवस्था ?

नेपाली विकिपिडिया १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । सन् २००२ जुन ३ अर्थात आजकै दिन नेपाली विकिपिडियाको सुरूवात भएको थियो ।

अंग्रेजी विकिपिडिया सुरू भएको एक वर्षपछि नेपाली विकिपिडया सुरू भएको थियो । गनेश पौडेलसहितको टिमले नेपाली विकिपिडिया सुरू गरेको हो । पौडेल हाल नेपाल टेलिकममा आवद्ध रहेका छन् ।

नेपाली विकिपिडियामा गनेश पौडेलको महत्वपूर्ण योगदान रहेको नेपाली विकिपिडियाका प्रबन्धक तुल्सी भगत बताउँछन् ।

हाल आफ्नो कार्यव्यस्ताले पौडेलले नेपाली विकिपिडियामा समय दिन पाएका छैनन् । तर सुरूवाती दिनको उनको भूमिका उल्लेखनीय छ । नेपाली विकिपिडियामा गनेश पौडेलले धेरै लेखहरू लेखेका छन् ।

नेपाली विकिपिडिया अहिले ६ जनाले व्यवस्थापन गरिरहेका छन् । प्रबन्धकमा विप्लव आनन्द, निर्मल दुलाल, सरोज उप्रेति तुल्सी भगत र अन्य २ जना रोबोट रहेका छन् ।

\"\"

विकिपिडियामा राखिएका कुन कन्टेन्ट हटाउने, कुन कन्टेन्ट राख्ने सबै काम प्रबन्धकको हो । प्रबन्धकको अनुउपस्थितिमा २ रोबोटले गर्छन् । रोबोट स्क्रिप्टेड हुन् । कम्युनिटीमा योगदानका आधारमा भोटिङमार्फत प्रबन्धक छनोट गरिन्छ ।

अरू विकिपिडियाको दाँजोमा नेपाली विकिपिडियाको अवस्था दयनीय रहेको भगतले बताए । ‘नेपाली विकिपिडियामा सक्रिय प्रयोगकर्ता छैनन्,’ उनले आइसिटी समाचारसँग भने, ‘अरू विकिपिडियाको दाँजोमा नेपाली विकिपिडियाको अवस्था दयनीय छ ।’

नेपाली विकिपिडियामा अहिलेसम्म ५७ हजार ६०५ प्रयोगकर्ताहरू रहेका छन् । यी मध्ये मासिक ८२ जना प्रयोगकर्ता मात्रै सक्रिय छन् ।

नेपाली विकिपिडयामा हालसम्म ३२ हजार १०२ लेखहरू रहेका छन् । भगतले मात्रै नेपाली विकिपिडियामा २३ हजार बढी लेखहरू सम्पादन गरेका छन् ।

सन् २०१४ मा विकिपिडियामा अकाउन्ट बनाएका उनी सन् २०१६ बाट प्रबन्धकको रूपमा काम गरिरहेका छन् । उनी नेपाली विकिपिडियासँगै मैथिली विकिपिडिया लगायत विकिमिडिया फाउन्डेसनका अन्य प्रोजेक्टमा कार्यरत छन् । भगत नेपालका टप प्रयोगकर्ताको सूचीमा पर्छन् ।

\"\"

नेपाली विकिपिडियालाई अझै सशक्त रूपामा अगाडि बढाउन जनचेतनाको खाँचो रहेको उनको भनाइ छ । ‘युवाहरूलाई केन्द्रविन्दुमा राखेर जनचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ भगत भन्छन्, ‘सक्रिय प्रयोगकर्ता बढे भने यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ ।’

विकिपिडिया बारे जनचेतना फैलाएमा प्रयोगकर्ता उनको विश्वास छ । जनचेतना फैलाउनका लागि कार्यक्रमहरू सञ्चालन गर्ने उनीहरूको योजना छ ।

नेपाली विकिपिडियामा अहिले मासिक रूपमा २१ हजार पेज भ्यूज आउने गरेको छ । त्यस्तै दैनिक ६०० पटक खोलिने गरेको छ । नेपाली विकिपिडियामा मे महिनामा बालेन शाहको पेज धेरै पढिएको छ, जसमा ६-७ हजार पेज भ्यू रहेको छ ।

यो पनि पढ्नुहोस्ः मैथिली विकिपिडियाका संस्थापक २१ वर्षिय नेपाली युवा, जो विश्वका टप १८ योगदानकर्तामा छानिए