कीवर्डहरू -

आजबाट सुरू हुँदै डिजिटल नेपाल कन्क्लेभ, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

आजबाट सुरू हुँदै डिजिटल नेपाल कन्क्लेभ, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

काठमाडौं । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आज (शनिबार) बाट डिजिटल नेपाल कन्क्लभ इन एशोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल आयोजना हुँदैछ । दी सोल्टि होटल काठमाडौंमा असार ४ र ५ गते विहान साढे १० देखि साँझ साढे ६ बजेसम्म सो कार्यक्रम आयोजना हुनेछ ।

नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनको विश्लेषण र भावी कदमबारे बहस गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न पाँचवटा थिममा १० बढी सेसनहरु सञ्चालन हुने बताइएको छ।

सो दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० भन्दा धेरै वक्ता र सरोकारवालाहरुको सहभागिता रहनेछ भने कार्यक्रमको पहिलो उपराष्ट्रपति नन्द बहादुर पुनको समेत उपस्थिति रहनेछ । यसैगरी कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की, मूख्य सचिव शंकरदास बैरागी र सञ्चार सचिव बैकुण्ठ अर्याल उपस्थित रहने छन् ।

कन्क्लेभमा हुवावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा।पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती गरिने आयोजकले जानकारी दिएको छ।

यसैगरी नेपाल राष्ट्र बैंलकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहले प्रस्तुतीकरण दिनेछन्।

कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्।

यस्ता छन् आजका सेसन

कन्क्लेभको पहिलो दिनको सेसनमा किनोट प्रस्तुती र उद्घाटन पश्चान डिजिटल नेपाल इन्फ्रास्ट्रक्चर एण्ड कनेक्टिभिटीको सेसन रहनेछ । उक्त सेसनमा एन्सेलका सीईओ एन्डी चोङ, डिशहोम फाइबरनेटका एमडी सुदिप आचार्य, नेपाल टेलिकमका एमडी सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा रहने छन् । सो सेसनका लागि भायनेट कम्युनिकेसन्सका एमडी बिनय बोहोराले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी दोस्रो सेसन अन्तर्गत डिजिटल स्किल ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल रहने छ । सो सेसनमा प्रेसिडेन्शियल विजनेस स्कूलका आईटी कोअर्डिनेटर डा. सुरेश पोखरेलले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कन्क्लेभको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज रहने छ । जसमा प्यानलिस्टको रुपमा वक्ताहरु एशिया फाउण्डेसन डेटा फर डेभलपमेन्टकी प्रोग्राम डिरेक्टर सजना महर्जन आमात्य, ग्रो बाई डेटाका सीईओ प्रशन्न ढुंगेल, अर्थमन्त्रालयका आईटी डिरेक्टर सेलिना डंगोल रहने छन् । उक्त सेसनमा सूचना प्रविधि विभागका पूर्व महानिर्देशक विरेन्द्र कुमार मिश्र र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको समेत वक्तव्य रहनेछ ।

पहिलो दिनको अन्तिम सेसनको रुपमा डिजिटल ईकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन रहनेछ जसमा डोल्मा इम्प्याक्ट फण्डका विद्यावारिधी सिग्देल, नियोटेरिक नेपालका सञ्जय गोल्छा, विजनेस अक्सिजनका सीईओ सिद्धान्त राज पाण्डे र किम्बु टेककी सीईओ कर्भिका थापा रहने छन् । उक्त सेसनमा लगानी बोर्डका सीईओ सुशिल भट्ट समेत रहने छन् ।