कीवर्डहरू -

४ हजार ७२७ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन 

४ हजार ७२७ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन 

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ४ हजार ७२७ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको छ । सीटीईभीटीले प्रमाणपत्र तथा डिप्लोमा तर्फ २९१३ जना र प्रि-डिप्लोमातर्फ १८१४ गरी कुल ४ हजार ७२७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

बिहीबार एक सूचना प्रकाशित गर्दै सीटीईभीटीईले शैक्षिक सत्र २०७९/०८० का लागि डिप्लोमा तथा प्रमाणपत्र तह र प्रिडिप्लोमा वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि अनलाइनबाटै आवेदन दिन सकिने भएको हो ।

साउन १५ गतेदेखि खुला भएको अनलाइन आवेदन अनलाइन आवेदन आगामी साउन २९ गतेसम्म खुला हुनेछ । न्युनतम योग्यता पुगेका नेपाली नागरिकले छात्रवृत्तिका आवेदन दिन सक्ने सीटीईभीटीले जनाएको छ ।

सीटीईभीटीका अनसार कुल संख्यालाई १०० प्रतिशत कायम गरी ५०-५० प्रतिशतमा साधारण र लक्षित वर्ग गरी उल्लेखित संख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

आवेदन दिन कति चाहिन्छ योग्यता ?

डिप्लोमा तहका कार्यक्रममा आवेदन दिन अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषय लिएर एसएलसी वा सो सरहको परीक्षा उतिर्ण वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँगन सम्बन्धित प्राविधिक एसएलसी/प्रि डिप्लोमा तहको कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उतिर्ण भएको हुनुपर्नेछ ।

त्यस्तै डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयमा न्युनतम ‘सी’ ग्रेड प्राप्त गरी गेड प्वाइन्ट एभरेज (जीपीए) न्युनतम २ प्राप्त वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एसएलसी/प्रिडिप्लोमा तहको कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक हुनुपर्नेछ ।

डिप्लोमा तहका इन्जिनियरिङ तहका कार्यक्रमका लागि ग्रेडिङ प्रणाली लागु हुनु पर्व मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका या एस.ई.ई. परीक्षामा अनिवार्य गणित र विज्ञानमा न्यूनतम C ग्रेड र अङ्ग्रेजो विषयमा न्यूनतम ‘डि प्लस’ ग्रेड प्राप्त या परिषद्बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एसएलसी/प्रिडिप्लोमाको कुल पूर्णामा ३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्ने सीटीईभीटीले जनाएको छ ।

लेटर ग्रेडिङ पद्धति, २०७८ लागू भए पश्चात् मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका या एसईई परीक्षामा अनिवार्य गणित र विज्ञानमा न्यूनतम सी ग्रेड (२.०) अन्य विषयमा न्यूनतम D ग्रेड (१.६) प्राप्त या परिषद्बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एसएलसी/ प्रि डिप्लोमाको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ ।

त्यस्तै प्रिडिप्लोमा तहका कार्यक्रमका लागि अक्षरांकन पद्धति लागू हुनुपूर्व मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण तथा अक्षरांकन पद्धति लागू भए पश्चात् एसईईका सम्पूर्ण विषयको परीक्षामा समावेश भइ न्यूनतम ‘ई’ प्राप्त वा एसइईका सम्पूर्ण विषयको परीक्षामा सहभागी भइ ग्रेडसिट प्राप्त गरेको हुनुपर्नेछ ।

कसरी दिने आवेदन ?

डिप्लोमा तथा प्रमाणपत्र तहको कार्यक्रमका लागि एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहका कार्यक्रमको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ ।

आवेदन दिदा नागरिकता वा जन्मदर्ता, सरकारी वा सामुदायिक विद्यालय, परिषद्को आंगिक शिक्षा हो भनेर सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय परिषद् र सम्बन्धित विद्यालय तथा परिषद् शिक्षालयले प्रमाणित गरेको पत्रको प्रतिलिपि आवश्यक पर्नेछ ।

त्यस्तै दलित, मधेशी, मुस्लिम, आदिवासी, खस आर्य, पिछडिएको, वेपत्ता पारिएको, शहिद परिवार, घाइतेको हकमा सम्बन्धित पालिका वा प्रशासनले प्रमाणित गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ । आवश्यक प्रमाणपत्रहरू समावेश नगर्ने परीक्षार्थीहरूको आवेदन फाराम स्वत रद्द हुनेछ । छात्रवृत्तिका लागि साधारण र लक्षित वर्गका लागि एउटै फाराम हुनेछ ।

सीटीईभीटीको वेबसाइट वा सीटीईभीटी एक्जाम डट ओआजी डट एनपी मा गएर क्लासिफाइड अनलाइन फर्ममा क्लिक गरेर आफुलाई पढ्ने चाहेको तह र विषय छनोट गरि अनलाइन आवेदन दिन सकिने छ । आवेदन शुल्क कनेक्ट आईपीएसबाट बुझाउन सकिने छ । प्रवेश परीक्षा भदौ ३ गते सञ्चालन हुने जनाइएको छ ।