कीवर्डहरू -

एक महिनामै ३ लाख ५० हजार घटे नेपाल टेलिकमका ग्राहक, टेलिकम भन्छ, ‘सक्रिय ग्राहक घटेका होइनन्’

एक महिनामै ३ लाख ५० हजार घटे नेपाल टेलिकमका ग्राहक, टेलिकम भन्छ, ‘सक्रिय ग्राहक घटेका होइनन्’

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एक महिनामै ३ लाख ५० हजार ग्राहक गुमाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको वैशाखको एमआईएस रिपोर्ट अनुसार एक महिनामै टेलिकमका ३ लाख ५० हजार ५७६ ग्राहक घटेका हुन् ।

गत चैतसम्म टेलिकमका ग्राहक २ करोड ३२ लाख ३१ हजार ६४६ थिए तर वैशाखसम्म आउँदा टेलिकमका प्रयोगकर्ता २ करोड २८ लाख ८१ हजार ७० रहेका छन् ।

टेलिकम सेवा प्रदायकहरूका अनुसार भने सक्रिय प्रयोगकर्ता घटेका होइनन् । यसअघि निष्क्रिय रहेका सिम सिस्टमबाट हटाउँदा ग्राहक संख्या कमी देखिएको हो । नेपाल टेलिकमका सह-प्रवक्ता रञ्जित लोहियाले पनि वास्तविक सक्रिय प्रयोगकर्ता नघटेको जानकारी दिए ।

‘लोमो समयदेखि नचालाइएका सीमहरू सिस्टमबाट हटाउँदा ग्राहक घटेको देखिएको हो । तर वास्तविक प्रयोगकर्ता घटेका होइनन् ।,’ उनले आइसिटी समाचारसँग भने, ‘लामो समयदेखि नचलाएका सिम रिसाइकल गर्ने प्रयोजनका लागि सिस्टमबाट हटाएका हौं ।’

नेपाल टेलिकम बाहेक अन्य टेलिकम सेवा प्रदायकका ग्राहक पनि घटेका छन् । एक महिनामा एनसेलका ३६ हजार ८३ र स्मार्टका १ हजार ७२० ग्राहक घटेका छन् ।

चैतमा एनसेलका १ करोड ६८ लाख ६७ हजार ४६८ ग्राहक थिए भने वैशाखमा आउँदा त्यो संख्या घटेर १ करोड ६८ लाख ३१ हजार ३९५ मा सिमित भएको छ ।

त्यस्तै स्मार्टका पनि चैतमा २३ लाख ७१ हजार ७९१ ग्राहक थिए भने वैशाखमा २३ लाख ७३ हजार ५११ भएको उक्त एमआईएस प्रतिवेदनमा उल्लेख गरिएको छ ।