कीवर्डहरू -

लुक्ला विमानस्थलको वेबसाइट ह्याक

लुक्ला विमानस्थलको वेबसाइट ह्याक

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्याकरको नियन्त्रणमा छ। साउन १६ गते विमानस्थलको साइट ह्याक भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो पहुँचमा ल्याउन सकेको छैन। ह्याकरको नियन्त्रणबाट साइट आफ्नो पहुँचमा ल्याउन प्राधिकरणका सूचना प्रविधिसम्बन्धी चार जना कर्मचारी खटिएका छन् तर कहाँबाट कसले नियन्त्रणमा लिएको छ भन्ने पत्ता लाग्न सकेको छैन।

प्राधिकरण स्रोतका अनुसार विमानस्थलको फोटो ग्यालरीमा रहेको फोटोका माध्यमबाट ह्याक गरिएको अनुमान छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ह्याक भएको साइट ह्याकरको पहुँचबाट फुत्काउने प्रयास भइरहेको बताए ।

ह्याकरले सरकारी निकायसँग सम्बन्धित डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्न थालेपछि प्राधिकरणले नियामक निकायसहित मुख्य विमानस्थलको सूचना प्रविधिमा सुरक्षा बढाएको दाबी गरेको छ। ह्याकरले सूक्ष्म सुरक्षा कमजोरी पत्ता लगाएर देश विदेशबाट बढी खोजी गरिने यस विमानस्थलको सिस्टममा प्रवेश गरेको छ।

सरकारी डोमेनमा दर्ता भएका वेबसाइटमा ह्याकरले सहजै पहुँच पु-याएर साइबर आक्रमण गर्न थालेपछि प्राधिकरणले साना विमानस्थलका लागि छुट्टै डोमेन प्रयोगमा ल्याए पनि सबडोमेनमा समेत आक्रमण भएको देखिन्छ।

प्राधिकरणका सूचना प्रविधि प्रबन्धक विष्णु गौतमका अनुसार लुक्ला विमानस्थलको साइटको कोड रिभ्यु गर्ने काम जारी छ। ह्याकरले सिस्टममा कुनै कोड राखे नराखेकोबारे सूक्ष्म चेकजाँच भइरहेकाले साइट खुल्न समय लागेको उनले बताए।

मेन डोमेनमा आक्रमण नभएको र वेबसाइटमा जानकारीका लागि राखिएका सूचना मात्रै परिवर्तन भएकाले साइट पुनः सञ्चालनमा ल्याउने काम भइरहेको उनको भनाइ छ।

दुई वर्षअघि भारतीय ह्याकरले प्राधिकरणको वेबसाइट ह्याक गरेका थिए। उक्त समयमा प्राधिकरणको वेबसाइट ह्याक गर्दै भारतको झन्डा प्रयोग भए पनि अहिले ह्याकरले आफ्नो कुनै पहिचान खुलाएको छैन।

ह्याकरको समूहले नेपालका सरकारी तथा सार्वजनिक निकायका महत्त्वपूर्ण  वेबसाइट ह्याक गर्ने क्रम यसअघि पनि देखिएको थियो। सेयर गरिएको होस्टिङ, पुरानो फ्रेमवर्क, अपडेट नभएका प्लगिङ र समय–समयमा सुरक्षासम्बन्धी समीक्षा नहुँदा सरकारी वेबसाइट ह्याक हुँदै आएका छन्। गोरखापत्र