कीवर्डहरू -

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँ अगावै सञ्चालनमा आउने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँ अगावै सञ्चालनमा आउने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दशैँअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

विद्युतीय बस सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै बस सञ्चालनको आशा पलाएको हो ।

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)को संयोजकत्वमा विद्युतीय गाडी सञ्चालनसम्बन्धी कार्यविधि बनाउने र यसबारे प्रतिवेदनसमेत पेस गर्ने गरी जेठ १९ गते कार्यदल बनाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

अहिले बौद्ध परिपथमा विद्युतीय बस कसरी सञ्चालन गर्ने, चार्जिङ स्टेसन कहाँ राख्ने, कुन मोडेलमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भइरहेको उनले बताए ।

विद्युतीय बस कोषलाई हस्तान्तरण भए पनि अहिले पनि पर्यटन मन्त्रालयकै नाममा रहेको र यसलाई कोषको नाममा नामसारी गराउने प्रक्रिया पनि अगाडि बढाइएको छ ।

‘अहिले बसको नम्बर प्लेटको विषयमा अन्योल छ,’ शाक्यले भने, ‘बसमा हरियो नम्बर प्लेट, कालो नम्बर प्लेट अथवा अन्य राख्ने विषयमा छलफल भइरहेको छ ।’

त्यस्तै बस कोषले आफैँ सञ्चालन गर्ने कि तेस्रो पक्षलाई सञ्चालन गर्न दिने भन्ने विषय पनि छलफलकै क्रममा रहेको उनले बताए ।

कार्यदलका संयोजकसमेत रहेका कोषका कोषाध्यक्ष भट्टराईले कार्यदलले यी सबै विषयमा कार्यविधि बनाई प्रतिवेदन पेस गर्ने बताए ।

उनले जिम्मेवारी प्राप्त गरेदेखि नै समितिले काम सुरु गरेको बताउँदै भदौको पहिलो सातासम्म प्रतिवेदन र कार्यविधि बोर्डलाई बुझाउने जानकारी दिए ।

‘कार्यदलले विद्युतीय बसको अवस्था बुझ्ने काम गरेको छ,’ उनले भने, ‘पाँचवटा भ्यान र पाँचवटा बस समयसमयमा सञ्चालन भएकाले ठीक अवस्थामा छन्, बाँकी नौवटा भ्यानको ब्याट्री डाउन भएको छ ।’

समस्या रहेका बसको विषयमा आपूर्तिकर्तालाई मर्मतका लागि जानकारी गराएको उनले बताए । कार्यदलले विद्युतीय बस बौद्ध परिपथमा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्म बस सञ्चालन गरिन सक्ने सम्भावना देखेको छ ।

त्यसैअनुसार भदौ पहिलो हप्ता प्रतिवेदन बुझाउने र ढिलोमा घटस्थापनाको दिनमा सञ्चालनमा ल्याउने तयारी रहेको भट्टराईले जानकारी दिए ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा लुम्बिनी आउने पर्यटकको सुविधाका लागि कोषलाई १४ वटा विद्युतीय भ्यान र पाँचवटा विद्युतीय बस प्राप्त भएको थियो ।

एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपियाँ भन्सार शुल्क बेहोरेको छ ।

लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र भ्यान ल्याइएका हुन् ।

अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फुल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ । गोरखापत्र