कीवर्डहरू -

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने भएको छ । एक सूचना जारी गर्दै त्रिविले ४८ औं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने जानकारी दिएको हो ।

२०७८ साल असार १ गतेदेखि २०७९ साल जेठ ३१ गतेसम्म (तदनुसार १५ जुन २०२१ देखि १४ जुन २०२२) मा सेमेस्टर तथा वार्षिको परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उतीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पीएचडी) तह गर्नेहरूले मात्रै दीक्षान्तका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन tuexam.edu.np/convocation/ मा गएर आउँदो असोज ९ गतेसम्म दिन सकिने छ । आवेदन फाराम भर्दा एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र, ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य अपलोड गर्नुपर्नेछ ।

अनलाइन आवेदन दिँदा प्राप्त गरेको सबै पीडीएफ डकुमेन्ट प्रिन्ट गरेर सुरक्षित राख्नुपर्नेछ । गाउन लिन आउँदा सो डकुमेन्ट परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाएर सुरक्षित राख्नुपर्ने जनाइएको छ ।

दीक्षान्त तथा प्रमाणपत्र शुल्क, गाउन/स्कार्फ धरौटीको शुल्क तह अनुसार ३७०० रूपैयाँदेखि ४७०० रूपैयाँसम्म शुल्क लाग्ने छ । दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिने छ । अभिभावकका लागि प्रति अभिभावक ३०० रूपैयाँ शुल्क लाग्ने छ ।

शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमा अनलाइनबाटै दाखिला गर्न सकिने छ । शुल्क बुझाएको रिसिप्ट वा ट्रान्जेक्सन आईडी सुरक्षित राख्नुपर्नेछ ।