कीवर्डहरू -

कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय

कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै स्नातक तह (ब्याचलर्स) मा नयाँ भर्ना हुने प्रक्रिया पनि सुरू भएको छ ।

कक्षा १२ उतिर्ण विद्यार्थीहरूले यतिबेला के पढ्ने, कहाँ पढ्ने ? कस्तो विषय पढ्ने लगायतका प्रश्न गर्न थालेका छन् । यदी तपाईलाई सूचना प्रविधि अर्थात आईटीमा रूची छ भने नेपालमा आईटीका पनि विभिन्न वियषहरू पढाइ हुन्छन् ।

स्वेदेशी विश्वविद्यालयदेखि विदेशी विश्वविद्यालयसम्म आईटी विषय नेपालमा पढाइ हुन्छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुख्य आइटी कोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेशन (बिसिए), कम्प्युटर एप्लिकेशन (अनर्स) र बिआइटी रहेका छन् । काठमाण्डौ विश्वविद्यालयको मूख्य आइटी कार्यक्रमको रुपमा बिई (कम्प्युटर इन्जिनियरिङ) रहेको छ ।

पोखरा विश्वविद्यालयको स्नातक तहका आइटी कोर्सहरुमा कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, इन्जिनियरि, इन्जिनियरिङ इन इन्फरमेशन टेक्नोलोजी, सफ्टवेर इन्जिनियरिङ र कम्प्युटर एप्लिकेशन रहेका छन् ।

यसैगरी ब्रिटिस कलेज, इस्लिङ्टन कलेज, सफ्टवेरिका कलेजलगयतका नेपालमा सञ्चालित कलेजहरुले बेलायत तथा विदेशी विश्वविद्यालयहरुका आइटी कार्यक्रमहरू उपलब्ध गराउदै आएका छन् ।

ब्याचलर्स अफ कम्प्युटर इन्जिनियरिङ (बिइ इन्जिनियरिङ)

नेपालमा पहिलोपटक सन् १९९४ मा काठमाडौं विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ कोर्स सुरु गरेको हो । पछि त्रिभुवन, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले यो कोर्स ल्याएपछि कम्प्युटर इन्जिनियरिङकै लागि विदेश जानुपर्ने बाध्यता हटेको छ ।

सबै विश्वविद्यालयले बनाएका कोर्स चार वर्षे छन् । यसमा कम्प्युटरका हार्डवेयर र सफ्टवेयर सिस्टम, फिजिक्स, ड्रइङलगायतका विषय अध्ययन गराइन्छ ।

कम्प्युटर इन्जिनियरले सफ्टवेयर, हार्डवेयर, इलेक्टोनिक्स, इलेक्टिकल, टेलिकम्युनिकेशनजस्ता उद्योगमा आकर्षक तलबमा रोजगारी पाउँछन् । उनीहरु सिस्टम एनालिस्ट, प्रोगामर, प्रडक्ट म्यानेजर, सिस्टम एडमिनिष्टेटर, डाटाबेस एडमिनिष्टेटर, वेब डेभलपरजस्ता विभिन्न क्षेत्रमा करियर बनाउन सक्छन् ।

कम्प्युटर इन्जिनियरिङ पढ्न प्लस टुमा विज्ञान लिएर प्रथम श्रेणीमा उत्तिर्ण भएको हुनुपर्छ । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानमा नाम निकाल्न सकेमा  एक लाखभन्दा कम शुल्कमै यो कोर्स पढ्न सकिन्छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पुसेटमा पनि छात्रवृत्तिमा सस्तोमै यो कोर्स पढ्न सकिन्छ । निजी कलेजले यो कोर्स अध्यापन गर्न ६ देखि १२ लाखसम्म लगानी गर्नुपर्छ ।

ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी)

पूर्वाञ्चल विश्वविद्यालयले वि.सं २०५८ सालमा आफ्नो आंगिक कलेज पुसेट कलेज विराटनगरबाट बिआइटी कार्यक्रम सुरु गरेको हो । ८ सेमेस्टरमा सञ्चालन हुने एकेडेमिक कार्यक्रममा कोर युनिट र एड्भान्स्ड युनिट रहेका छन् ।

कोर युनिट अन्तरगत विद्यार्थीले प्रोग्रामिङ, सिस्टम डिजाइन, कम्प्युटर नेटवर्क र कम्युनिकेशनको ज्ञान लिन्छन् भने एड्भान्स्ड युनिटअन्तर्गत विद्यार्थीले अफूले जानेका ज्ञान तथा शिप मल्टिमिडिया, आर्टिफिसल इन्टेलिजेन्स, मोबाइल कम्प्युनिकेशन, इन्टरनेट र वर्ल्ड वाइड वेबमा उपयोग गर्न सक्ने छन् ।

अहिले यो कार्यक्रम पुसेटबाहेक काठमाडौंको सिइआइटीइ, ह्वाइट हाउस, कान्तिपुर सिटी, किस्ट कलेजलगायतमा पढाइ भइरहेको छ ।

बिआइटी अध्ययन गरेर नेटवर्क म्यानेज्मेन्ट, इन्टरनेट तथा इन्ट्रानेट म्यानेज्मेन्ट, डेटाबेस एड्मिनिस्ट्रेटरलगायतमा करिअर बनाउन सक्नेछन् । कलेज अनुसार यो कोर्सको शुल्क फरक छ ।

पुर्वाञ्चल विश्वविद्यालयमा यो कोर्स अध्ययन गर्न २ लाखदेखि ६ लाखसम्म लगानी गर्नुपर्छ भने विदेशी विश्वविद्यालयको कोर्समा १० लाख बढि रकम खर्च हुन्छ ।

बिएससी कम्प्युटर साइन्स एण्ड इन्फमेर्शन टेक्नोलोजी (बिएससी सिएसआइटी)

त्रिभुवन विश्व विद्यालयअन्तर्गत सञ्चालन भएको आइटी कार्यक्रम हो, बीएससी सीएसआईटी । यो कार्यक्रम देशभर ५२ भन्दा बढी कलेजमा पढाइ भइरहेको छ ।

यस कार्यक्रममा पनि कम्प्युटर इन्जिनियरिङमा जस्तै कम्प्युटर सिस्टम, एप्लिकेशन, प्रागामिङजस्ता विषय पढाइ पाइन्छ । कम्प्युटर साइन्स र आइटीलाई ब्लेन्ड गरेर १२६ क्रेडिको कोर्स डिजाइन गरिएको छ ।

सिएसआइटीमा हार्डवेयरको कुरा थोरै मात्र गरिन्छ । ७० क्रेडिट आवरभन्दा बढी कम्प्युटर साइन्सको कोर्स छ । नेपालमा सबैभन्दा  बढी पढाइ हुने कोर्सको रुपमा बिएससी सिएसआइटी रहेको छ ।

यो कोर्स सरकारी कलेजले २ लाख २५ हजारमै पढाइरहेका छन् भने निजी कलेजले ३ लाख ५० हजारदेखि १० लाखसम्म लिने गरेको पाइन्छ ।

ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम)

त्रिभुवन विश्वविद्यालयले सुरु गरेको यो कोर्समा विद्यार्थी आकर्षण बढ्दो छ । विज्ञान र व्यवस्थापनमा प्लस टु सकेर दोस्रो क्षेणीमा उतिर्ण विद्यार्थीले यो कोर्समा एप्लाइ गर्न सक्छन् । आइटी र म्यानेजमेन्टलाई मिलाएर यो डिजाइन गरिएको कोर्समा कम्प्युटर एप्लिकेशन, प्रोग्रामिङ, नेटवर्किङ, मार्केटिङलगायतका विषय पढाइ हुन्छन् ।

नेपालमा कलेज अफ अप्लाइड बिजनेस (सिएबी), कान्तिपुर कलेज अफ म्यानेज्मेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी, अर्किड इन्टरनेशनल कलेज, नागर्जुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी, किस्ट कलेजजस्ता कलेजहरुले बिआइएम अध्यापन गराउदै आएका छन् ।

बिसिए (व्याच्लर अफ कम्प्युटर एप्लिकेशन)

प्लस टुमा जुनसुकै विषय पढेपनि कम्तीमा ४५ प्रतिशत ल्याएका विद्यार्थीले यो कोर्स पढ्न पाउँछन् । नेपालमा पूर्वाञ्चल, पोखरा र त्रिभुवन विश्वविद्यालयले बिसिए कार्यक्रम सञ्चालन गर्दै आएका छन् । साथै विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर केही कलेजले कम्प्युटर एप्लिकेशन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कम्प्युटर सफ्टवेयर, डाटावेस, सिस्टम एनालाइसिस, वेब डेभलपमेन्टमा यसको करियर रहेको छ । यसपश्चात अझ उच्च शिक्षाका लागि नेपालमा नै एमसिए अध्ययन गर्न पनि पाइन्छ । यो कोर्स पढेपछि मास्टर्समा एमएस्सी आइटी, एमबिएलगातका कोर्स पढ्न पाइन्छ ।

यो कोर्स अध्ययन गर्न कलेज अनुसार फरक शुल्क छ । त्रिभुवन र पुर्वाञ्चल विश्वविद्यालयको कोर्ष अध्ययन गर्न २ देखि ३ लाख शुल्क लाग्छ । तर पनि यो शुल्क कलेजको सेवा सुविधा अनुसार फरक पर्न सक्छ ।

बिई–आइटी

पोखरा विश्वविद्यालयले सञ्चालमा ल्याएको बिई आइटी कोर्स र बिई कम्प्युटरमा खासै फरक नभए पनि बिई–आइटी अलि बढी सफ्टवेयर इन्जिनियरिङमा फोकस गरिएको कोर्स हो ।

यो कार्यक्रम पोखरा विश्वविद्यालयले मात्र सञ्चालन गरेको छ । यो कोर्समा अपरेटिङ सिस्टम, सफ्टवेयर, नेटवर्क डाटाबेस, बिइआइटी अध्ययनका लागि बिई कम्प्युटरसरह ८ लाख हाराहारीमा शुल्क लाग्छ ।

यो काठमाडौंको एनसिआइटी र कसमस कलेजमा सञ्चालनमा रहेको छ  । यस कोर्षले विद्यार्थीलाई कोर कम्प्युटर टेक्नोलोजीको बारे ज्ञान प्रदान गर्दछ । यस कोर्ष अध्ययन गरेकाले सिस्टम एड्मिनिस्ट्रेटर, नेटवर्क इन्जिनियर, ओएस डेभलपर र इथिकल ह्याकरजस्ता प्रोफेसनल करिअर बनाउन सक्दछन् ।

ब्याचलर्स अफ सफ्टवेयर इन्जिनियरिङ

पोखरा विश्वविद्यालयले सञ्चालनमा ल्याएको सफ्टवेयर इन्जिनियरिङ कोर्समा कम्प्युटर एप्लिकेशन, प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्टका विषयमा पढाइ हुन्छ । कोर्स सफ्टवेयर क्षेत्रमा नै काम गर्न चाहनेहरुको लागि यो कोर्स उपयुक्त छ ।

विज्ञान र कमर्शमा प्लस टु सकेका विद्यार्थीहरुले यो कोर्स अध्ययन गर्न सक्नेछन । यसमा आन्ट्रप्रेनरसीप विकास गर्न त्यस अनुरुपका केहि विषयहरु थप गरिएको छ ।

चार वर्षे शैक्षिक कार्यक्रमको लागि ४ लाखको हाराहारीमा शुल्क लाग्नेछ । हाल यो कोर्स गण्डकी कलेज अफ इन्जिनियरिङ पोखरा, एनसिआइटी कलेज काठमाडौंलगायतमा पढाइ हुन्छ ।

ब्याचलर्स अफ कम्प्युटर एण्ड इन्फर्मेशन सिष्टम (बिसिआइएस)

नेपालमा पोखरा विश्वविद्यालयले सञ्चालनमा ल्याएको यो कार्यक्रम आइटी र व्यवस्थापनका विषयलाई मिलाएर डिजाइन गरिएको हो । यो कोर्स पढ्नका लागि व्यवस्थापन वा विज्ञान संकायबाट प्लस टुमा कम्तीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण गरेको हुनुपर्दछ ।

यो कोर्समा कम्प्युटर सिस्टम, एप्लिकेशन, प्रोग्रामिङ, नेटवर्किङ लगायतका विषयमा बढि लक्षित छ । प्रोगामर, सिस्टम एनालिष्ट, इन्फर्मेशन एनालिष्ट, डाटा बेस म्यानेजर, नेटवर्क एडमिनियटेटर, ट्रेनरलगायतका क्षेत्रमा करियर बनाउन सकिन्छ । ४ वर्षे शैक्षिक कार्यक्रममा सञ्चालन हुने यस कोर्स अध्ययनको लागि ४ लाख बढि शुल्क लाग्नेछ ।

बिएड आइसिटीई

बि.स. २०६६ बाट  शिक्षा शास्त्र संकायमा बिएड आइसिटी शिक्षा त्रिविका पाचँवटा आङ्गिक क्यामपसहरु सानोठिमी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिराहा क्याम्पस, सुर्खेत क्याम्पस, डडेल्धुरा क्याम्पस र बि.सं २०६९ बाट  नौवटा सामुदायिक क्याम्पसमा संचालनमा गरिएको छ ।

बिएड आइसिटी पढ्नका लागि कुनै पनि संकायमा प्लस टु उतिर्ण गरेको हुनु पर्दछ । सानोठिमी क्याम्पसमा १ लाख रुपैयामा नै यो कोर्स अध्ययन गर्न सकिन्छ भने अन्य प्राइभेट कलेजमा तीन लाखसम्म शुल्क लाग्नेछ । सानोठिमी क्याम्पसमा ८० जना विद्यार्थीहरुको कोटा छुट्याइएको छ ।

शिक्षा क्षेत्रमा सूचना प्रविधि विषय अध्यापन गराउने व्यक्तिहरूको लागि यो कोर्स उपयुक्त हुनेछ । यसबाहेक वेब एप्लिकेशन तथा डाटावेसमा पनि काम गर्न सकिनेछ ।

बिटेक इन एआई (ब्याचलर्स इन टेक्नोलोजी अफ आर्टिफिसियल इन्टेलिजेन्स)

काठमाडौं विश्वविद्यालयले गत वर्षदेखि नेपालमै पहिलो पटक ब्याचलर्समा एआई पढाउन थालेको हो ।  यो कार्यक्रम प्राविधिक आधारभुत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ ।

विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

काठमाडौ विश्वविद्यालयको चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख रूपैयाँ निर्धारण गरिएको छ । यो पढेपछि एआईको क्षेत्रमा भविष्य बनाउन सकिने छ ।

नेपामा पढाइ हुने विदेशी आईटी कोर्ष

विदेशी विश्वविद्यालयहरुबाट सम्बन्धन लिएर विभिन्न कलेजहरुले बिएएसी आईटी लगायतका कोर्ष सञ्चालन गरेका छन् । इस्लिङ्टन कलेजले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन लिएर बीएससी कम्प्युटिङ, बीएससी कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बीएससी कम्प्युटिङ विथ एआई, बीएससी मोबाइल एप डेभलपमेन्ट र बीएससी मल्टिमिडिया टेक्नोलोजिज कोर्स अध्यापन गराउँदै आएको छ ।

यसैगरी ब्रिटिश कलेजले बेलायतको लिड्स बेकेट विश्वविद्यालय र वेस्ट अफ इंग्ल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा बिएससी (अन्सर्स) कम्प्युटिङ र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष सञ्चालन गरेको छ ।

साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सीक कोर्ष गत बर्ष मात्र नेपाल भित्रिएको हो । त्यस्तै सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएससी कम्प्युटिङ र इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी कोर्ष सञ्चालन गरिरहेको छ ।

यसैगरी सनवे कलेजले यस वर्षदेखि बेलायतमा आधारित बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन र बीएससी (अनर्स) कम्प्युटर एण्ड डेटा साइन्स विषय पढाउने तयारी गरेको छ । डेटा साइन्सको कोर्षमा ९ महिनाको पेड प्लेसमेन्ट सुविधा समेत पाइने छ ।