कीवर्डहरू -

असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै गर्न सकिने भएको छ । बुधबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसको अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।

अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नुपर्ने सहमति भएको छ ।

दशैं मनाउन घर जानेहरूलाई लक्षित गर्दै असोज १ गते शनिबार विश्वकर्मा पूजाको दिनबाट अग्रिम टिकट बुकिङ सुरू हुनेछ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन हुनेछ ।

यसका साथै सहमति अनुसार कोरोना महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्नुपर्ने र यसका लागि यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्नेछ ।

अनलाइनबाटै बसको टिकट बुकिङ गर्नका लागि बस सेवा लगायतका प्लेटफर्म उपलब्ध रहेका छन् । टिकट बुकिङको शुल्क इसेवा, खल्ती, आईएमई पे लगायत प्रयोग गरी अनलाइनबाटै तिर्न सकिन्छ ।