कीवर्डहरू -

यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम

यी ठाउँबाट निःशुल्क वितरण भइरहेको छ टेलिकमको ई-सिम

नेपाल टेलिकमले थप ८ वटा ठाउँबाट पनि ई-सिम वितरण सुरू गरेको छ । यसअघि सुनधाराको ग्राहकसेवा केन्द्रबाट मात्रै वितरण भइरहेको ई-सिम अब टेलिकम ग्राहक सेवा केन्द्र नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण हुने भएको हो ।

टेलिकमले ई-सिम निःशुल्क वितरण गर्दै आएको छ । सुन्धारा काउन्टरबाट भदौ ३१ गतेदेखि ई-सिम वितरण सुरू भएको थियो ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले ई-सिमको उपयोग गर्न सक्ने छन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

मोबाइलमा क्युआर कोड स्क्यान गरेर ई–सिम इन्स्टल सकिने छ । *#०६# डायल डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बर देखिएमा उक्त मोबाइलमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै टेलिकम प्रयोगकर्तासँगै नयाँ प्रयोगकर्ताले पनि ई-सिम प्रयोग गर्न सक्ने छन् ।