कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट 

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट 

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् ।  आइसिटी अवार्डको प्रडक्ट विधामा ३६ वटा सूचना प्रविधि प्रडक्टहरूले आवेदन दिएका थिए ।

प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो ।

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट १२ प्रषक्ट यस प्रकार छन् ।

बीडीएमएस प्रो

बीडीएमएस वेबमा आधारित सिस्टम हो । यसबाट डकुमेन्ट ट्रयाक, व्यवस्थापन र भण्डार गर्न तथा डकुमेन्ट स्क्यान गर्न सकिन्छ । समग्रमा सिस्टमलाई डकुमेन्ट व्यवस्थापन, ट्रयाक र नियन्त्रण गर्न उपयोग गर्न सकिन्छ ।

बीडीएमएस प्रोले कुनै पनि संस्थाको व्यवस्थापनलाई सजिलो बनाउन मद्दत गर्दछ । यसबाट संस्थामा आएको, गएको डकुमेन्ट लगायत संस्थाका सम्पूर्ण डकुमेन्टको क्रियाकलाप पनि थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।

सिस्टममा प्रयोगकर्ता थप्न, हटाउन तथा डिजिटल हस्ताक्षर थप गर्न पनि सकिन्छ । बीडीएमएस प्रोबाट डकुमेन्टको फरक फरक टेम्प्लेट बनाउन र क्युआर कोड पनि सिर्जना गर्न सकिन्छ । यसमा राखिएको डकुमेन्ट सुरक्षित हुने बताइएको छ । यसमा डकुमेन्टका लागि रिमाइन्डर पनि सेट गर्न सकिन्छ ।

बिहे नेपाल

बिहे नेपाल जीवनसाथी खोजिदिने प्लेटफर्म हो । अनलाइनबाटै आफुलाई सुहाउँदो जोडी खोज्न सघाउने बिहे नेपालले छोटो समयमै प्रयोगकर्तालाई आकर्षित गर्न सफल भएको छ ।

अहिले बिहे नेपाल मोबाइल एप ३७ हजार बढीले प्रयोग गर्दै आएका छन् । बिहे नेपाल निःशुल्कप्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताको गोपनीयताका लागि एपले प्रयोगकर्ताको पहिलो नाम लुकाउने गरेको छ ।

त्यसबाहेक बिहे नेपाल एपबाट इन्क्वाइरी आएपछि थप कुराकानीका लागि सम्पर्क नम्बर वा सामाजिक सञ्जालको लिंक दिन सकिन्छ ।

फेक अकाउन्टलाई रोक्ने एपमा फेस भेरिफिकेसन सुविधा राखिएको छ । त्यसकारण आफ्नो प्रोफाइलमा राखेको फोटो फेस भेरिफिकेसनबाट प्रमाणित गर्नुपर्नेछ ।

गोपनीयता कायम राख्न व्यक्तिगत प्रोफाइलमा न्युनतम जानकारी मात्रै गरेको कम्पनीले जनाएको छ ।

डिसिजन मेन्टर

डिसिजन मेन्टर निर्णय लिन सघाउने एप हो । विभिन्न दुविधालाई हटाएर सही निर्णय लिन सघाउने डिसिजन मेन्टर एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।

डिसिजन मेन्टर मल्टिपल क्राइटेरिया डिसिजन मेकिङ थेउरीमध्येको एउटा एएचपी थेउरी अर्थात् एनालाइटिकल, हाईरार्की, प्रोसेस थेउरीमा आधारित छ ।

एपले निर्णय गर्नका लागि व्यक्ति वा संस्थालाई वस्तुगत आधार दिने गर्दछ र निर्णय लिन सहजीकरण गर्दछ । यसले च्वाइस सेट गर्न, मापदण्ड बनाउन र विभिन्न सन्दर्भमा मापदण्डको प्राथमिकता छनोट गर्न सघाउछ । यसमा निर्णयका लागि ५ वटासम्म च्वाइस र मापदण्ड राख्न सकिन्छ ।

निर्णयका लागि तयार पारिएका नमुना र उदाहरणहरू आफ्नो आवश्यकता अनुसार सम्पादन गर्न सकिने बताइएको छ । निर्णयको डेटा मोबाइलको स्थानीय ड्राइभमा स्टोर हुन्छ, जसले गर्दा निर्णय हेर्न फेरि लगइन गरिरहनु पर्दैन् ।

मोबाइल बजारमा यस्तो प्रकारको एप नभएको निर्माताको दावी छ । यो टुल एकेडेमिक र व्यवसायहरूले प्रयोग गरिरहेको कम्पनीको भनाइ छ ।

डायनो सीआरएम

डायनो सीआरएस लिड्स एण्ड कस्टुमर म्यानेजमेन्ट सफ्टवेयर हो । सफ्टवेयर वेब, एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । यो सफ्टवेयर क्लाउडमा आधारित रहेको छ ।

डायनो सीआरएस ट्रेनिङ, पर्यटन, कन्सलटेन्सी, इन्टरनेट सेवा प्रदायक, आईटी कम्पनी लगायतमा प्रयोग भइरहेको कम्पनीले बताएको छ । कुनै पनि संस्थाको आवश्यकता अनुसार सफ्टवेयरका मोड्युल एक्टिभेट र डिसेबल गर्न सकिन्छ ।

कस्टमाइजसहित स्टार्टअप, मध्यम स्तरका व्यवसायदेखि इन्टरप्राइजेजसम्मका व्यवसायमा सफ्टवेयर उत्कृष्ट रहेको जनाइएको छ । करिब ३ वर्षको अवधिमा डायनो सीआरएस धेरै व्यवसायको रोजाइमा परिसकेको छ ।

फिन पीओएस

फिन पस ओम्नी च्यानलमा आधारित मर्चेन्टहरूको समस्या समाधान गर्न तयार पारिएको मर्चेन्ट प्लेटफर्म हो । नेपालका अधिकांश फिनटेक प्रडक्ट उपभोक्तामा केन्द्रित छन् । तर मर्चेन्टहरूका लागि काम गर्ने फिनटेक कमै छन् । यस्तैमा मर्चेन्टको भुक्तानी प्रक्रियालाई सजिलो बनाउन र डिजिटल क्रान्तिलाई अगाडि बढाउन  फिन पीओएस बजारमा आएको हो ।

सुरक्षित र अन्तर्क्रियात्मका भुक्तानीका लागि फिनपस अल इन वान पीओएस मसिन भएको कम्पनीको भनाइ छ ।
फिनपसले मर्चेन्टहरूलाई एउटै प्लेफेमबाट सबै बिजनेस कारोबार ट्रयाक गर्न ग्राहकहरूलाई एउटै डिभाइसबाट  सबै भुक्तानी गेटवेमा पहुँच राख्न अनुमति दिन्छ ।

नेपाली डेभलपरहरूले नै फिनपस प्लेटफर्म विकास गरेका हुन् । प्लेटफर्मका लागि आवश्यक पर्ने हार्डवेयर चीनबाट खरिद गरेर नेपालमा सुहाउँदो प्रडक्ट तयार पारेको कम्पनीले जनाएको छ ।

गल्ली म्याप्स

गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको साँघुरो गल्लीबाट आएको हो, जुन अन्य म्याप प्लेटफर्ममा देखिदैन् ।

नेपालकै आफ्नै म्याप एप गल्ली म्याप्समा गल्ली, सडक, घर नम्बर, ल्याण्डमार्क जानकारी भटाउन सकिन्छ, जुन गूगल म्यापमा मिसिङ छन् । गल्ली म्याप्सलाई कुनै एक ठाउँमा अर्को ठाउँमा सजिलै र वास्तविक रूटबाट जान मिल्ने बनाउने भिजन कम्पनीको छ ।

डेलिभरीका लागि गल्ली म्याप्समा ३६० डिग्री इमेलमा ट्याग गर्न र सेयर गर्न सकिन्छ । यसले गर्दा सजिलै वास्तविक घर पत्ता लगाउनुका साथै समय, पैसा र फोन गरिरहनु पर्ने समस्या कम गर्न मद्दत पुग्ने छ ।

अबको ३ वर्षमा गल्ली म्याप्सलाई दक्षिण एशियामा लाने समेत कम्पनीको योजना छ । सार्वजनिक यातायात, शौचालय, फ्री वाईफाई लगायत अन्य सार्वजनिक सूचना पनि एपमा राख्ने योजना छ ।

क्रेडिट एक्स माइक्रो

क्रेडिट एक्स माइक्रो लोन अटोमेसन सिस्टम एसबी सोलुसनले निर्माण गरेको हो । बैंक तथा वित्तिय संस्थाहरूलाई लक्षित गरेर लोन अटोमेसन सिस्टम क्रेडिट एक्स माइक्रो तयार पारिएको छ ।

यसले अनलाइन ऋण आवेदन, आन्तरिक ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई अटोमेट र डिजिटाइज गर्ने गर्दछ । क्रेडिट एक्स माइक्रोको प्रयोग गरी छोटो समयमै ग्राहकलाई ऋण प्रदान गर्न सकिने बताइएको छ ।

यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउने कम्पनीको जनाएको छ ।

यसको उपयोग गरी द्रुत गतिमा ऋण प्रदान गर्न सकिन्छ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । क्रेडिट एक्स माइक्रो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ ।

रिंगेज

रिंगेज मास कम्युनिकेसन सेवा प्रदान गर्ने प्रडक्ट हो । यसले भ्वाइस ब्रोडकास्टिङ, डायनामिक एण्ड मल्टि लेभल आईभीआर, फोन सर्भे, पोल सुविधा प्रदान गर्दै आएको छ । पोलका लागि ब्लाजोन नामक आफ्नै प्लेटफर्म विकास गरेको छ ।

सूचनाको ग्याप भएको ठाउँमा रिंगेजले सघाउने कम्पनीको विश्वास छ । एउटा सामान्य फोन कल र भ्वाइस प्रविधिको फाइदा उठाएर कुनै पनि प्रकारको जनसंख्यामा सञ्चार सम्भव बनाउँछ ।

एसएमएसको तुलनामा आवाजमा आधारित सञ्चार २७० प्रतिशतबढि प्रभावकारी हुने कम्पनीको भनाइ छ । सहजै सबै कुरा बुझ्न भ्वाइसमा आधारित सञ्चारले एकदमै मद्दत गर्ने गर्दछ ।

रिंगगेजको प्रडक्ट भिओआईपी प्रविधिमा आधारित छ । एक वर्ष भित्रै रिंगगेजमा ४०० बढी क्लाउड डिजिटल फोन नम्बर जोडिसकेका छन् । यस प्रविधिले प्राकृतिक प्रकोपको बेलामा समेत धेरै सहयोग पुर्याउने गर्दछ ।

यो सजिलै गरेर प्रयोग गर्न सकिन्छ । यसका महत्वपूर्ण फिचरहरु भनेको भ्वाइस ब्रोडकास्ट, फोन सर्भे, पोल रेटिंग, फिडब्याक संकलन र मल्टि लेभल आइभीएआर हुन् ।

स्कुल वर्क्स पो

स्कूल वर्क्स प्रो शैक्षिक संस्थाको परम्परागत शिक्षा व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने सफ्वेयर हो । यसबाट अभिभावकले घरमै बसेर आफ्ना वालवालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमीक क्यालेन्डर हेर्न सक्नेछन् ।

शिक्षकले सफ्टवेयरमै गृहकार्य/असाइनमेन्ट दिने र सो को जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज/पोल गर्न सक्छन् । कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यावस्थापन लगायत इ-लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ ।

स्कूल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मुल्यांकन, रिजल्ट व्यवस्थापन लगायत सम्पुर्ण व्यवस्थापकिय काम सफ्टवेयर मार्फत नै नियन्त्रण गर्न सक्नेछन् ।

त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्याङ्कन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबिच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी छ ।

विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् । स्कूल वर्क्स प्रोको सुविधा मोबाइल एपबाट समेत लिन सकिन्छ ।

स्मार्ट अफिस

स्मार्ट अफिस कुनै पनि कार्यालयको आन्तरिक वर्कफ्लोलाई अटोमेसन गर्ने सिस्टम हो । कुनै पनि कार्यालयलाई डिजिटल बनाउन सहयोग गर्छ ।  स्मार्ट अफिसले उत्पादकत्व र सहकार्य बढाउन प्रविधिको प्रयोग गरेको छ ।

स्मार्ट अफिसमा कर्मचारी व्यवस्थापन, कागजात व्यवस्थापन, चिठी व्यवस्थापन, इभेन्ट व्यवस्थापन, परियोजना व्यवस्थापन, कर्मचारीको परफर्मेन्स विश्लेषण, टेन्डर व्यवस्थापन, स्टाफ फिल्ड भिजिट व्यवस्थापन, बिदाको लागि अनुरोध गर्न सकिने सुविधा छन् ।

यस बाहेक सफ्टवेयरबाट इनकमिङ/आउटगोइङ डकुमेन्ट, स्टाफ डिटेल, प्रत्येक कर्मचारीको कामको विश्लेषण, फिल्ड भिजिट डिटेल, टेन्डर रिपोर्ट, टास्क रिपोर्ट लगायतको रिपोर्ट पनि पाउन सकिन्छ ।

कुनै पनि कम्पनी वा संस्थाको अटोमेसनका लागि स्मार्ट अफिस राम्रो सफ्टवेयर भएको कम्पनीको दावी छ । कर्मचारी र प्रशासकबीचको सञ्चारलाई सजिलो बनाउन सफ्टवेयरमा आन्तरिक च्याटिङ सिस्टम समेत रहेको छ ।

टिग

टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित एउटा अकाउन्टिङ सिस्टम हो । टिगले कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउँछ ।

टिग इन्जिनियर, चार्टड एकाउन्टेन्ट र बिजनेस म्यानेजरको समूहले तयार पारेको हो । नेपाली व्यवसायको समस्यालाई समाधान गर्न टिग निर्माण गरिएको कम्पनीको भनाइ छ ।

टिगमा डकुमेन्ट, टास्क र कन्ट्याक्टका साथसाथै खरिद, बिक्री, इन्भेन्ट्री र अकाउन्टिङ फिचर छन् । टिगबाट इनभेन्टरीको ३६० डिग्री हेर्न सकिन्छ । प्रयोगकर्ताले मोबाइलबाटै बिल, इनभ्वाइस अपलोड गर्न सक्छन् ।

भैरव ट्रिडेन्ट

लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले तयार पारेको क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर हो, ‘ट्रिडेन्ट’ ।

साइबर सुरक्षालाई महत्व दिने हरेक कम्पनीका लागि यो प्रडक्ट लाभदायी हुने कम्पनीको विश्वास छ । यसमा नवीन किसिमको सुरक्षा कन्ट्रोल र मनिटर, डिटेक्ट र रिस्पोन्ड गर्नका लागि प्रणली राखिएको छ ।

पछिल्लो समय नेपालमा पनि साइबर आक्रमण बढ्दै गइरहेको अवस्थामा ट्रिडेन्टले कुनै पनि संस्थाको ‘सूचना प्रविधि पूर्वाधार’को सुरक्षा गर्ने बताइएको छ ।

भैरव ट्रिडेन्टमा एण्ड पोइन्ट डिटेक्सन एण्ड रेस्पोन्स, नेटवर्क सेक्युरिटी एनालाइसिस, सेक्युरिटी इन्सिडेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट, प्रयोगकर्ताको बानी विश्लेषण, भल्नेरबिलिटी म्यानेजमेन्ट, थ्रेट इन्टेलिजेन्स, इमले ब्रिच डिटेक्सन तथा इन्सिडेन्ट रेस्पोन्स सुविधा उपलब्ध छन् ।