कीवर्डहरू -

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो पात्रो सन् २००९ मा पहिलो पटक आईओएसमा सार्वजनिक भएको थियो ।

सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्ते पात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन ।

त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति  गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए । कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन ।

एप तयार भएको एक वर्षपछि अर्थात सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आईओएस एप स्टोरमा राखिएको थियो । आईओएसमा हाम्रो पात्रोको डाउनलोड पाँच लाखभन्दा बढी रहेको छ ।

पात्रो हेर्ने, मिति परिवर्तन (बि.सं.बाट इ.सं.मा र इस्वी संवतबाट बि.संमा ) फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्लेस्टोरमा राखिएको थियो ।

गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड एक लाखभन्दा बढी पुगेको थियो । सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गरेको थियो ।

अहिले हाम्रो पात्रो एप नेपाली माझ चर्चित छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् ।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल, म्यासेन्जर, हेल्थ, गेम्स, रेसिपी, क्विज, रिमाइन्डर, मार्केट, ‌ई-लर्निङ लगायत एक दर्जन फिचर समावेश छन् ।

विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ ।

दैनिक १३ लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ । हाम्रो पात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।

नेपालमा सस्ता मोबाइलका प्रयोगकर्ता धेरै हुने भएकाले उनीहरुलाई र्‍याम र स्टोरेज फुल हुने समस्या आइरहन्छ । यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै सामग्री डिलिट गर्नुपर्ने बाध्यता बन्न पुग्छ ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रोपात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्दै लगेको हो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा पनि हाम्रो पात्रो नै पहिलो नम्बरमा आउँछ ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा मेहनत गरिरहेका छन् ।

अहिले हाम्रो पात्रोको साइज डिभाइस अनुसार एपको साइज पनि सानो नै छ । हाल हाम्रो पात्रोमा ३५ जनाको टिम कार्यरत रहेको छ ।