कीवर्डहरू -

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गरिरहेको छ । शुक्रबारदेखि सुरू भएको फेस्टमा प्रयोगकर्ताले ई-सिम लिइरहेका छन् ।

शनिबारसम्म चल्ने फेस्टमा टेलिकमले ई-सिम वितरणका साथै टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सकिने छ ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका प्रयोगकर्ताले पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सक्ने छन् । नयाँ ई-सिम लिन भने टेलिकमको कार्यालयमै जानुपर्ने हुन्छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले ई-सिमको उपयोग गर्न सक्ने छन् । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।

मोबाइलमा क्युआर कोड स्क्यान गरेर ई–सिम इन्स्टल सकिने छ । *#०६# डायल डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बर देखिएमा उक्त मोबाइलमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।