कीवर्डहरू -

सुरक्षित रूपमा कसरी चलाउने मोबाइल बैंकिङ ?

सुरक्षित रूपमा कसरी चलाउने मोबाइल बैंकिङ ?

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या हरेक बर्ष अत्याधिक रुपमा बृददी हुँदै आएको छ ।

आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढ्दो छ । व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ ।

मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्न लगायत अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै मोबाइल बैंकिङको सुबिधाका कारण आफ्नो खाताको ब्यलेन्स चेक गर्न,कारोबार बारे जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्न लगायत अन्य धेरै भुक्तानीका लागि बैंक सम्म पुगिरहनु पर्ने बाध्यता छैन् ।

बैंक तथा वित्तीय क्षेत्र आधुनिक बन्दै जाँदा जति त्यसले सहजता ल्याएको छ, त्यति नै जोखिम र चुनौती पनि बढाएको छ ।

सिस्टम ह्याक, एटिएमबाट फ्रड, मोबाइल तथा इन्टरनेटबाट पैसा स्थानान्तरण तथा चोरीलगायत थुप्रै साइबर हमला भइरहेको छ । आज हामी मोबाइल बैंकिङ एप प्रयोग गर्दा कसरी सुरक्षित रहने भन्ने बारे जानकारी दिदैछौँ ।

आधिकारिक एप स्टोरबाट एप इन्स्टल गर्ने

सुरक्षित रहनका लागि आधिकारिक एप स्टोरबाट मात्रै एप डाउनलोड गर्नुपर्ने हुन्छ । आधिकारिक एप स्टोर भनेकै गूगल प्ले स्टोर र एप स्टोर हो । यी दुई एप स्टोरबाट डाउनलोड गरिएको धेरैजस्तो एप हाम्रो डिभाइसका लागि हानीकारक हुँदैन् ।

एन्ड्रोइडको गूगल प्ले स्टोरका केही एपहरु म्यालिसियस पनि भएको पाइएको छ तर एप स्टोरका एपहरुले कडा मापदण्ड मान्नुपर्ने हुँदा एप्पलको एप स्टोरलाई अझै प्राथमिक्तामा राखिन्छ ।

जथाभावी लिंकमा क्लिक नगर्ने

हामीले कहिले पनि एप डाउनलोडका लागि भनेर एसएमएस, ईमेल वा अरु कुनै प्लेटफर्मबाट आएको लिकंलाई क्लिक गर्नुहुँदैन् ।

यस्ता लिंकहरु फिशिंग लिंक पनि हुन सक्छ । यस्ता लिंकलाई क्लिक गर्दा तपाईको डिभाइस ह्याक पनि हुन सक्छ त्यस कारण सकेसम्म यस्ता लिकंहरुलाई क्लिक गर्नुहुँदैन् ।

फिशिंग स्कयाम सञ्चालन हुने भनेकै ईमेल तथा एसमएसको मार्फतले हो । प्रयोगकर्ताले यो लिंक आधिकारिकनै होला भनेर क्लिक गर्ने गर्दछन् । तर यसलेपछि आफैलाई साइबर आक्रमणको चपेटामा पार्न सक्छ ।

टू फ्याक्टर अथेन्टिकेसन उपलब्ध भएको ठाउँमा सोही प्रयोग गर्ने

टू फ्याक्टर अथेन्टिकेसनले जुन कुनै प्लेटर्फममा नयाँ तहको सुरक्षा थपिदिने गर्दछ । टू फ्याक्टर अथेन्टिकेसनले गर्दा तपाईको डिभाइसमा वा अकाउन्टमा अरु कोहीले अधिग्रहण गर्न खोजिरहेको छ भने पनि तपाईलाई नोटिफिकेसन आउने गर्दछ ।

तपाई ह्याकरले धेरै समस्या निम्त्याउनु अघि नै अल्र्ट हुन् सक्नुहुन्छ । यसले गर्दा समयमै पासवर्ड परिवर्तन गर्ने वा अरु सुरक्षा माध्यम अपनाउने पनि समय हुन्छ ।

बैंकिङ एपहरुमा बायोमेट्रिक अथेन्टिकेसन वा पिनको प्रयोग गर्ने

तपाईको सबै बैंकिङ एपहरुमा बायोमेट्रिक अथेन्टिकेसन वा पिनको प्रयोग भएको हुनुपर्छ । यस्ले तपाईको बैंकिङ अकाउन्टहरु आफ्नो स्वामित्वमा रहन्छन् । यसले गर्दा कुनै गलत कारोबार हुनबाट पनि रोक लाग्छ ।

यस्तै तपाईको फोन कोही अरुको हातमा पनि पर्याे भने तपाईको बायोमेट्रिक वा पिन नभएसम्म पैसा ट्रान्सफर गर्ने वा कुनै कारोबार गर्न सम्भव हुँदैन् । त्यस कारण कसैले थाहापाउन नसक्ने र एकदमै गाह्रो किसिमको पासवर्ड तपाईले प्रयोग गर्नुपर्ने हुन्छ ।

गाह्रो किसिमको पासवर्ड प्रयोग गर्ने

पासवर्ड बलियो हुनु एकदमै महत्वपूर्ण पक्ष हो । तपाईले आफ्नो पासवर्डलाई सकेसमम जटिल बनाउने प्रयास गर्नुहोस् ।

पासवर्डमा अपरकेस अक्षर, लोअरकेस अक्षर, डिजिट र सिम्बल प्रयोग गर्याे भनेमात्रै पासवर्ड सुरक्षित किसिमको भयो भनेर विश्वास गर्न सकिन्छ ।

योसँगै तपाईले समयसमयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । यस्तो गरिरहँदा तपाईको एप वा अकाउन्ट डेटा ब्रिचको शिकार भएको थियो भने पनि जोगिन्छ । हामीले केही केही समयमा नयाँ जटिल पासवर्ड राख्ने बानी बसाल्नुपर्छ ।

तपाईको फोन हराएको खण्डमा आफ्नो बैंकलाई सम्पर्क गर्ने

तपाईको फोन कुनै कारणले हराएमा तुरुन्तै आफ्नौ बैंकलाई सम्पर्क गरिहाल्नुहोस् । त्यहाँ सम्पर्क गरेर बैंकलाई आफ्नो मोबाइल बैकिङ एप र सबै कारोबार केही समयका लागि रद्द गरिदिन भन्नुपर्ने हुन्छ ।

गति गरेमा फोन कुनै गलत व्यक्तिको हातमा पर्याे भने पनि उनीहरुले तपाईको मोबाइल बैकिङ एपबाट कारोबार गर्न पाउँदैनन् । यति भएमा तपाईको फोन हराएर ठूलो नास भएमा पनि तपाईको बैकिङ अकाउन्ट सुरक्षित बनाउन सकिन्छ ।

सुरक्षित इन्टरनेट कनेक्सन प्रयोग गर्ने

कहिले पनि सार्वजनिक वाईफाई प्रयोग गरेर मोबाइल बैकिङ कारोबार गर्नुहुँदैन् । सार्वजनिक वाईफाईहरु सहजै रुपमा ह्याक हुन सक्छन् ।

सार्वजनिक वाईफाई प्रयोग गर्दा तपाईले आफ्नो महत्वपूर्ण बैकिङ क्रेडेन्सियलहरु लिक गर्न सक्नुहुनेछ ।

इन्टरनेटमा ह्याकर अहिले ठूलो चुनौतिको रुपमा रहेका छन् । यसले गर्दा हामी भर्चुअल दुनियाँमा रहदा सेक्युरिटी अपनाउनु पर्ने हुन्छ ।