कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ स्टार्टअप छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ स्टार्टअप उत्कृष्ट ५ घोषणा गरिएको हो ।

स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो ।

उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनोटका लागि अहिले पब्लिक भोटिङ सुरू भएको छ । आईएमई पेको मोबाइल एप र एसएमएसबाट भोटिङ गर्न सकिने छ ।


आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ


स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ स्टार्टअप ।

मोनाल टेक

मोनाल टेक सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा र संगठनको साइबर सुरक्षालाई बलियो पार्न स्थापना भएको हो । कम्पनीका अनुसार साइबर सुरक्षा विज्ञसहितको आईटी टिमले २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटाको सुरक्षा गर्नेछ ।

मोनाल टेकले साइबर सोलुसन, ट्रेनिङ र समग्र सूचना प्रविधि पूर्वाधारको सुरक्षा पनि प्रदान गर्ने जानकारी दिएको छ ।

कम्पनीले सेक्युरिटी अपरेसन सेन्टर, सेक्युरिटी अडिट, साइबर सेक्युरिटी ट्रेनिङ, साइबर सेक्युरिटी कन्सल्ट्यान्ट, सेक्युरिटी डिभाइस लगायत साइबर सेक्युरिटी प्रडक्टहरू प्रदान गर्दै आएको छ ।

पिक एण्ड ड्रप

पिक एण्ड ड्रप नेपालको कुरियर तथा लजिष्टिक कम्पनी हो । कम्पनीले नेपाली बिजनेसहरूलाई झन्झटरहित डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

पिक एण्ड ड्रपले शाखा कार्यालय तथा साझेदार कुरियर नेटवर्कको प्रयोग गरी देशभर डेलिभरी सेवा प्रदान गरिरहेको छ ।

सन् २०२० मा कोरोना महामारीको समयमा पिक एण्ड ड्रप सञ्चालनमा आएको थियो । जब कोरोना महामारी सुरू भयो, तब काठमाडौंमा एलपीजी ग्यासको अभाव भयो ।

त्यसपछि पीकएनड्रपले ग्यास डेलिभरी गर्न थाल्यो र यो सेवा सन् २०२१ सम्म जारी रह्यो । जब एलपीजी ग्याको सप्लाई सामान्य हुन थाल्यो, त्यसपछि मात्रै कम्पनीले एलपीजी ग्यास डेलिभरी बन्द गरेको थियो ।

एलपीजी ग्यास डेलिभरी सेवा बन्द गरेपछि पीक एण्ड ड्रपले आफुलाई थर्डपार्टी लजिष्टिक सेवा प्रदायकमा केन्द्रित गरेको थियो ।

यसपछि कम्पनीले एक वर्षको समयमै ३०० बढी साना तथा मझौला व्यवसायसँग काम गरिसकेको छ भने १ लाख बढी प्याकेज डेलिभर गरिसकेको छ । साथै डेलिभरी प्याकेज ग्राहकले ट्रयाक पनि गर्न सक्छन् ।

रेड टेल फक्स

रेड टेल फक्स प्रालिले रमाइलको गेम्स सञ्चालन गरिरहेको छ । रमाइलो गेम्स सब्सक्रिप्सनमा आधारित सोसल गेमिङ प्लेटफर्म हो । बिना विज्ञापन र झन्झट कुनै पनि डिभाइस वा ब्राउजरमा मौलिक नेपाली गेमहरू खेल्न सक्छन् ।

रमाइलो गेम्सले दैनिक, साप्ताहिक र मासिक रूपमा प्रतिस्पर्धा समेत गर्दै आएको छ । यस अन्तर्गत विजेताको आधारमा (लिडरबोर्डमा आधारित) पुरस्कार वितरण गरिन्छ ।

यसमा आर्केड, एजुकेसनल, कार रेसिङ, पजल लगायत अन्य गेमहरू खेल्न सकिन्छ । रमाइलो गेम्समा कुनै पनि गेम डाउनलोड नगरी र इन्स्टल नगरी १०० बढी खेल तुरून्तै खेल्न सकिन्छ ।

एक पटक सदस्यता लिएपछि सबै प्रिमियम गेम, टुर्नामेन्ट र लिडरबोर्ड सुविधा पाइने छ । साथै टुर्नामेन्टमा सहभागी भएर पैसा समेत कमाउन सकिने छ ।

रिंगेज टेक

रिंगेज टेक मास कम्युनिकेसन सेवा प्रदान गर्ने स्टार्टअप हो । यसले आम रूपमा भ्वाइस ब्रोडकास्टिङ, डायनामिक एण्ड मल्टि लेभल आईभीआर, फोन सर्भे, पोलका लागि ब्लाजोन प्लेटफर्म विकास गरेको छ ।

सूचनाको ग्याप भएको ठाउँमा रिंगेजले सघाउने कम्पनीको विश्वास छ । एउटा सामान्य फोन कल र भ्वाइस प्रविधिको फाइदा उठाएर कुनै पनि प्रकारको जनसंख्यामा सञ्चार सम्भव बनाउँछ ।

एसएमएसको तुलनामा आवाजमा आधारित सञ्चार २७० प्रतिशतबढि प्रभावकारी हुने कम्पनीको भनाइ छ । सहजै सबै कुरा बुझ्न भ्वाइसमा आधारित सञ्चारले एकदमै मद्दत गर्ने गर्दछ ।

रिंगगेजको प्रडक्ट भिओआईपी प्रविधिमा आधारित छ । एक वर्ष भित्रै रिंगगेजमा ४०० बढी क्लाउड डिजिटल फोन नम्बर जोडिसकेका छन् । यस प्रविधिले प्राकृतिक प्रकोपको बेलामा समेत धेरै सहयोग पुर्याउने गर्दछ ।

क्युरा हेल्थ

नेपालको परमपरागत स्वास्थ्य सेवालाई डिजिटल बनाउने उद्देश्यले सन् २०२० मा क्युरा हेल्थ स्थापना भएको हो । क्युरा हेल्थको मोबाइल एपबाट अस्पताल, ल्याब र डाक्टरसँग अपोइन्टमेन्ट लिन सकिन्छ ।

एपबाटै घर वा अफिसमा ल्याब टेस्टका लागि बोलाएर नमुना दिन सकिन्छ । अपोइन्टमेन्टको शुल्क पनि अनलाइनबाटै तिर्न सकिन्छ । क्युरा हेल्थबाट १ हजार बढीले सेवा लिइसकेका छन् भने ५० बढी डाक्टरहरू यसमा आवद्ध भएका छन् ।

त्यस्तै १० बढी अस्पताल तथा क्लिनिक क्युरा हेल्थमा आवद्ध छन् । एपबाटै विशेषज्ञ डाक्टरसँग अडियो तथा भिडियो कल मार्फत निःशुल्क परामर्श समेत लिन सकिन्छ ।

यो सजिलै गरेर प्रयोग गर्न सक्छन् । यसका महत्वपूर्ण फिचरहरु भनेको भ्वाइस ब्रोडकास्ट, फोन सर्भे, पोल रेटिंग, फिडब्याक संकलन र मल्टि लेभल आइभीएआर हुन् ।