कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ प्रडक्ट छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।

प्रडक्ट आइसिटी अवार्ड विधा अन्तर्गत कुल ३६ प्रडक्टले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो ।

उत्कृष्ट ५ बाट सर्वोत्कृष्ट छनोटका लागि अहिले पब्लिक भोटिङ चलिरहेको छ । आईएमई पेको मोबाइल एप र एसएमएसबाट भोटिङ गर्न सकिने छ ।


आइसिटी अर्वाडका ४ विधामा सर्वोत्कृष्ट छनौट गर्न पब्लिक भोटिङ सुरू, यसरी गर्नुहोस् भोटिङ


प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट यस प्रकार छन् ।

बिहे नेपाल

बिहे नेपाल जीवनसाथी खोजिदिने प्लेटफर्म हो । अनलाइनबाटै आफुलाई सुहाउँदो जोडी खोज्न सघाउने बिहे नेपालले छोटो समयमै प्रयोगकर्तालाई आकर्षित गर्न सफल भएको छ ।

अहिले बिहे नेपाल मोबाइल एप ३७ हजार बढीले प्रयोग गर्दै आएका छन् । बिहे नेपाल निःशुल्कप्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताको गोपनीयताका लागि एपले प्रयोगकर्ताको पहिलो नाम लुकाउने गरेको छ ।

त्यसबाहेक बिहे नेपाल एपबाट इन्क्वाइरी आएपछि थप कुराकानीका लागि सम्पर्क नम्बर वा सामाजिक सञ्जालको लिंक दिन सकिन्छ ।

फेक अकाउन्टलाई रोक्ने एपमा फेस भेरिफिकेसन सुविधा राखिएको छ । त्यसकारण आफ्नो प्रोफाइलमा राखेको फोटो फेस भेरिफिकेसनबाट प्रमाणित गर्नुपर्नेछ ।

गोपनीयता कायम राख्न व्यक्तिगत प्रोफाइलमा न्युनतम जानकारी मात्रै गरेको कम्पनीले जनाएको छ ।

फिन पीओएस

फिन पस ओम्नी च्यानलमा आधारित मर्चेन्टहरूको समस्या समाधान गर्न तयार पारिएको मर्चेन्ट प्लेटफर्म हो । नेपालका अधिकांश फिनटेक प्रडक्ट उपभोक्तामा केन्द्रित छन् । तर मर्चेन्टहरूका लागि काम गर्ने फिनटेक कमै छन् ।

यस्तैमा मर्चेन्टको भुक्तानी प्रक्रियालाई सजिलो बनाउन र डिजिटल क्रान्तिलाई अगाडि बढाउन  फिन पीओएस बजारमा आएको हो ।

सुरक्षित र अन्तर्क्रियात्मका भुक्तानीका लागि फिनपस अल इन वान पीओएस मसिन भएको कम्पनीको भनाइ छ ।
फिनपसले मर्चेन्टहरूलाई एउटै प्लेफेमबाट सबै बिजनेस कारोबार ट्रयाक गर्न ग्राहकहरूलाई एउटै डिभाइसबाट  सबै भुक्तानी गेटवेमा पहुँच राख्न अनुमति दिन्छ ।

नेपाली डेभलपरहरूले नै फिनपस प्लेटफर्म विकास गरेका हुन् । प्लेटफर्मका लागि आवश्यक पर्ने हार्डवेयर चीनबाट खरिद गरेर नेपालमा सुहाउँदो प्रडक्ट तयार पारेको कम्पनीले जनाएको छ ।

गल्ली म्याप्स

गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको साँघुरो गल्लीबाट आएको हो, जुन अन्य म्याप प्लेटफर्ममा देखिदैन् ।

नेपालकै आफ्नै म्याप एप गल्ली म्याप्समा गल्ली, सडक, घर नम्बर, ल्याण्डमार्क जानकारी भटाउन सकिन्छ, जुन गूगल म्यापमा मिसिङ छन् । गल्ली म्याप्सलाई कुनै एक ठाउँमा अर्को ठाउँमा सजिलै र वास्तविक रूटबाट जान मिल्ने बनाउने भिजन कम्पनीको छ ।

डेलिभरीका लागि गल्ली म्याप्समा ३६० डिग्री इमेलमा ट्याग गर्न र सेयर गर्न सकिन्छ । यसले गर्दा सजिलै वास्तविक घर पत्ता लगाउनुका साथै समय, पैसा र फोन गरिरहनु पर्ने समस्या कम गर्न मद्दत पुग्ने छ ।

अबको ३ वर्षमा गल्ली म्याप्सलाई दक्षिण एशियामा लाने समेत कम्पनीको योजना छ । सार्वजनिक यातायात, शौचालय, फ्री वाईफाई लगायत अन्य सार्वजनिक सूचना पनि एपमा राख्ने योजना छ ।

टिग

टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित एउटा अकाउन्टिङ सिस्टम हो । टिगले कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउँछ ।

टिग इन्जिनियर, चार्टड एकाउन्टेन्ट र बिजनेस म्यानेजरको समूहले तयार पारेको हो । नेपाली व्यवसायको समस्यालाई समाधान गर्न टिग निर्माण गरिएको कम्पनीको भनाइ छ ।

टिगमा डकुमेन्ट, टास्क र कन्ट्याक्टका साथसाथै खरिद, बिक्री, इन्भेन्ट्री र अकाउन्टिङ फिचर छन् । टिगबाट इनभेन्टरीको ३६० डिग्री हेर्न सकिन्छ । प्रयोगकर्ताले मोबाइलबाटै बिल, इनभ्वाइस अपलोड गर्न सक्छन् ।

भैरव ट्रिडेन्ट

लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले तयार पारेको क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर हो, ‘ट्रिडेन्ट’ ।

साइबर सुरक्षालाई महत्व दिने हरेक कम्पनीका लागि यो प्रडक्ट लाभदायी हुने कम्पनीको विश्वास छ । यसमा नवीन किसिमको सुरक्षा कन्ट्रोल र मनिटर, डिटेक्ट र रिस्पोन्ड गर्नका लागि प्रणली राखिएको छ ।

पछिल्लो समय नेपालमा पनि साइबर आक्रमण बढ्दै गइरहेको अवस्थामा ट्रिडेन्टले कुनै पनि संस्थाको ‘सूचना प्रविधि पूर्वाधार’को सुरक्षा गर्ने बताइएको छ ।

भैरव ट्रिडेन्टमा एण्ड पोइन्ट डिटेक्सन एण्ड रेस्पोन्स, नेटवर्क सेक्युरिटी एनालाइसिस, सेक्युरिटी इन्सिडेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट, प्रयोगकर्ताको बानी विश्लेषण, भल्नेरबिलिटी म्यानेजमेन्ट, थ्रेट इन्टेलिजेन्स, इमले ब्रिच डिटेक्सन तथा इन्सिडेन्ट रेस्पोन्स सुविधा उपलब्ध छन् ।