कीवर्डहरू -

पुस ९ गते क्यान महासंघको निर्वाचन, इतिहासमै पहिलो पटक विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै

पुस ९ गते क्यान महासंघको निर्वाचन, इतिहासमै पहिलो पटक विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै

सूचना प्रविधिको छाता संगठन कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले इतिहासमै पहिलो पटक निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

आगामी पुस ९ गते हुने क्यान महासंघको निर्वाचनमा विद्युती भोटिङ मेसिन प्रयोग गर्ने तयारी भएको हो । यसका लागि क्यान महासंघले राम लक्ष्मण इन्नोभेसनसँग सहकार्य गरेको छ ।

क्यान महासंघले इतिहासमै पहिलोपटक विद्युतीय माध्यमबाट भोटिङ गर्न लागेको क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

‘यसअघिको निर्वाचनमा पनि हामीले विद्युतीय भोटिङ प्रयोग गर्ने तयारी गरेका थियौं । तर विविध कारणले कार्यान्वयन हुन सकेको थिएन्,’ उनले आइसिटी समाचारसँग भने, ‘यस पटकको निर्वाचनमा भने विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दैछौं ।’

क्यान महासंघले पुस ५ गते उम्मेद्वार दर्ताको समय तोकेको छ । काठमाडौं बाहिर भएका उम्मेद्वारले आफ्नो नाम इमेलबाटै पनि दर्ता गराउन सक्ने छन् । यसपटकको निर्वाचनमा अहिलेसम्म कसैले प्यानल घोषणा गरेका छैनन् ।

यस पटकको निर्वाचनमा प्यानलको सम्भावना एकदमै कम रहेको र सकेसम्म महत्वपूर्ण पदहरूमा सर्वसम्मति गर्ने तयारी भएको थापाले जानकारी दिए ।

‘प्यानलले समग्रमा संस्था र उद्योगलाई राम्रो नगरेको अनुभव हामीले गरेका छौं,’ उनी भन्छन्, ‘त्यसकारण महत्वपूर्ण पदमा सर्वसम्मत गर्ने हाम्रो प्रयास छ । आकांक्षी धेरै भएमा चुनाव पनि हुन सक्छ ।’