कीवर्डहरू -

नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र

नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र

गत पुस १८ गते नेपाल बैंक लिमिटेडले वेबमा आधारित केन्द्रिकृत कोर बैंकिङ सोलुसन (सीबीएस) राख्न आशयपत्र माग गर्‍यो । कोर बैंकिङ सोलुसनको आपूर्ती र स्थापना गर्न बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आशयपत्र माग गरेको थियो ।

तर नेपाली कम्पनीलाई प्रतिस्पर्धाबाट अल्ग्याउने गरी आशयपत्र मागिएको छ । आशयपत्रमा नेपाली कम्पनीले आवेदन दिन पाउने भएपनि घुमाउरो भाषामा स्वदेशी आईटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गराउने केही प्रावधान राखिएको छ ।

आशयपत्रमा कोर बैंकिङ सोलुसनको तालिम विदेशमा गर्नुपर्ने, विज्ञहरू अन्तर्राष्ट्रिय हुनुपर्ने पूर्वशर्त तोकिएको छ । नेपाली सूचना प्रविधि (आईटी) कम्पनी योग्य हुँदा हुँदै पनि अयोग्य हुने गरी आशयपत्र माग गरिएकोप्रति सरोकारवालाहरूले विरोध जनाएका छन् ।

नेपाली कम्पनी सक्षम भएको खण्डमा पनि प्रतिस्पर्धाका लागि पूर्ण बन्देज लगाउने गरी केही शर्तहरू तोकिएको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले बताए ।

आशयपत्रमा कोर बैंकिङ सोलुसनको कोर टेक्निकल तालिम र व्यवस्थापन तालिम विदेशमा हुनुपर्ने भनिएको छ । यस अनुसार यदी कुनै नेपाली कम्पनी योग्य भएपनि त्यसले तालिम विदेशमा गर्नुपर्छ ।

\"\"

विदेशमा तालिम गर्नुपर्ने प्रावधान


आशयपत्रमा परामर्शदाता कम्पनीको जनशक्ति अन्तर्राष्ट्रिय हुनुपर्ने उल्लेख गरिएको छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विज्ञको परिभाषा ‘नेपाल बाहेक अन्य देशको हुनुपर्ने’ भनेर परिभाषित गरिएको छ । तर उचित अन्तर्राष्ट्रिय अनुभव भएको नेपालीलाई ‘अन्तर्राष्ट्रिय विज्ञ’ मान्न सकिने समेत बताइएको छ ।

‘नेपाली कम्पनीले बनाएको सफ्टवेयरमा नेपाली जनशक्ति र विज्ञहरू छन् । नेपाली भएकै कारण नेपालीले काम गर्न नपाउने स्थिति सिर्जना भयो,’ आक्रोसित हुँदै रघुवंशीले आइसिटी समाचारसँग भने, ‘तालिम विदेशमा गर्नुपर्छ भन्नुकै मतलब नेपालीलाई नदिने भनिएको हो ।’

सीबीएस विज्ञ, सिस्टम एनालिष्ट, कोर प्रोग्रामर, डीबीए, सफ्टवेयर क्वालिटी एनालिष्ट तथा डेटा एनालिष्ट र तालिम विज्ञ नेपाल बाहेक अन्य देशको हुनुपर्ने आशयपत्रमा उल्लेख छ ।

नेपाल बैंक ५१ प्रतिशत सरकारी लगानी भएको बैंक हो । सरकारको पैसा भनेको नेपाली नागरिकले तिरेको करको पैसा हो । तर सरकारकै लगानी भएको बैंकले नेपाली आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गराउने गरी आशयपत्र माग गरेको छ ।

नेपाली कम्पनीले पनि विश्वस्तरीय सिस्टम विकास गरेका छन् । इन्फोडेभलपर्सले विकास गरेका सफ्टवेयर पनि विदेशमा प्रयोग भइरहेका छन् । त्यस्तै नेपालमै बनेको बैंकिङ सफ्टवेयर पुमोरी पनि म्यानमार, बंगलादेश र भारतमा प्रयोग भइरहेको छ ।

\"\"

अन्तर्राष्ट्रिय विज्ञ हुनुपर्ने प्रावधान


विदेशीलाई सेवा दिन सक्ने नेपाली कम्पनीले स्वदेशमा पनि सेवा दिन सक्ने मर्कन्टाइल कम्युनिकेसनका अध्यक्ष सञ्जिबराज भण्डारीले बताए ।

‘नेपाली आईटी कम्पनीले विदेशी संस्थालाई सेवा दिन सक्छन् भने नेपालीलाई सेवा दिन नसक्ने पनि हुन्छ ?,’ उनी भन्छन्, ‘नेपाली कम्पनीलाई प्रोत्साहित गर्नुको साटो हतोत्साहित गर्ने काम भएको छ ।’

अन्तर्राष्ट्रिय बिडिङमा पनि अन्तर्राष्ट्रिय कम्पनीलाई जितेर नेपाली कम्पनीले परियोजना हात पारेका धेरै उदाहरण छन् ।

तर आफ्नै देशमा भने स्वार्थका कारण स्वदेशी कम्पनीलाई नै प्रतिस्पर्धाबाट वञ्चित गर्ने काम गरिएको छ । योग्य हुँदा पनि प्रतिस्पर्धाका लागि वञ्चित गर्दा नेपाली आईटी कम्पनीको मनोबल घट्ने रघुवंशी बताउँछन् ।