कीवर्डहरू -

करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै 

करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै 

भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुने भएको छ । करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले एसेम्बल उद्योग स्थापना गर्न लागेको हो ।

फागुनबाट एसेम्बल निर्माण काम सुरू हुने ग्रन्थ इलेक्ट्रिक भेहिकलका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए । १० हजार स्क्वायर फिट अनुमानित जग्गामा स्थापना हुने उद्योगको निर्माणको काम वैशाख-जेठमा सकिने छ ।

उक्त एसेम्बलबाट पहिलो चरणमा दुई पाङ्ग्रे स्कुटर एसेम्बल गरिनेछ । ‘पहिलो चरणमा स्कुटर एसेम्बल गर्न सुरू गर्छौं,’ ढुंगेलले उत्साहित हुँदै भने, ‘त्यसपछि चारपाङ्ग्रे गाडी एसेम्बल गर्ने योजना छ ।’

उद्योगमा सुजन ढंगेलसँगै राजु देवी साउद क्षेत्री र कुमार निरौलाको समेत लगानी रहेको छ । ग्रन्थले अहिले पनि विद्युतीय स्कुटर एसेम्बल गर्न थालेको छ । तर नेपालमा होइन्, चीनमा । नेपालमा उद्योग स्थापना नभएसम्म चीनको एउटा उद्योग कम्पनीले लिजमा लिएको छ ।

केही समयलाई स्कुटर चीनमा बन्ने भएपनि त्यसका लागि आवश्यक पार्टपुर्जा आफै पठाउने गरेको उनले सुनाए । नेपालमा उद्योग स्थापना नभएसम्म चीनमा १०० वटा स्कुटर एसेम्बल हुने उनले बताए । १०० वटा स्कुटर नेपाल आउन करिब डेढ महिना लाग्ने छ ।

पछिल्लो समय नेपालमा पनि विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै छ, जसले गर्दा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग पनि स्थापना भइरहेका छन् । नेपालमा मासिक १ हजार बढी विद्युतीय स्कुटर आइरहेको तथ्यांक रहेको छ ।

नेपालमा अहिले एसेम्बल सवारीसाधनका लागि आवश्यक पर्ने पार्टपुर्जा एउटै भेन्डरबाट ल्याउने चलन छ । यसले गर्दा सवारीसाधन महंगो पर्न जान्छ ।

एउटा भेन्डरसँग एउटा चीजको मात्रै विशेषज्ञता हुन्छ । उसले परिपूर्ती गर्ने अन्य सामान पनि अन्य कम्पनीबाट खरिद गर्नुपर्छ । अरूबाट ल्याउँदा लागत बढी हुन्छ किनकी लागतसँगै मार्जिन, यातायात लगायतको कुरा पनि आउँछ ।

तर ग्रन्थले भने एउटै भेन्डरबाट सबै पार्टपुर्जा नभएर फरक फरक कम्पनीबाट ल्याउने गरेको ढुंगेलको भनाइ छ । ‘हामी विश्व उत्कृष्ट फरक फरक कम्पनीबाट पार्टपुर्जा ल्याउँछौं,’ उनले आइसिटी समाचारसँग भने, ‘जुन पार्टपुर्जामा जुन कम्पनी राम्रो छ , त्यसबाट सिधैं सामान मगाउँछौं ।’

ग्रन्थ इलेक्ट्रिक भेहिकलले नेपालमा अरूले कम्पनीले दिने भन्दा सस्तोमा गुणस्तरीय स्कुटर दिने दावी गरेको छ । नेपालको स्थानीय सडकलाई मध्यनजर गर्दै स्कुटर डिजाइन गरिएको उनले बताए ।

\"\"

सीईओ ढुंगेल


ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ । राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगले बताउँछन् ।

अरू स्कुटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् ।

कम्पनीको स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ ।

४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ ।

ढुंगेलका अनुसार ग्रन्थले एसेम्बल गर्ने स्कुटरको मूल्य साढे २ लाखदेखि ३ लाखसम्म पर्ने अनुमान गरिएको छ । स्कुटरमा फास्ट चार्जर प्रविध भने राखिएको छ ।

सरकारले कर छुट दिए ग्राहकलाई सस्तो मूल्यमै विद्युतीय स्कुटर पाउने उनले जानकारी दिए ।  त्यस्तै बाहिरबाट सामान आयात गर्दा झन्झटिलो कानुनी प्रक्रिया भएकाले यसलाई सहज बनाउनु पर्ने उनको तर्क छ ।