कीवर्डहरू -

अब विदेशबाटै वालेटमा रेमिट्यान्स पठाउन सकिने 

अब विदेशबाटै वालेटमा रेमिट्यान्स पठाउन सकिने 

भुक्तानी सेवा प्रदायकले अब रेमिट्यान्स (विप्रेषण) कम्पनीसँग सम्झौता गरेर वालेटमै रिमिट्यान्स भित्र्याउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै राष्ट्र बैंकबाट इजाजतप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरेर विदेशबाट आप्रवाह हुने रकम वालेटमा जम्मा गर्न सक्ने व्यवस्था गरेको हो ।

‘भुक्तानी सेवा प्रदायक संस्थाले यस बैंकबाट इजाजतप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्ने छन्,’ निर्देशिकामा भनिएको छ ।

यसअघि पनि नेपालका केही वालेटमा विप्रेषण कम्पनीसँग सम्झौता गरेर वालेटमै रेमिट्यान्स पाउन सक्ने व्यवस्था गरेका थिए ।

यसरी रेमिट्यान्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सिमाले बाधा नपुर्‍याउने राष्ट्र बैंकको भनाइ छ ।

विदेशबाट वालेटमा प्राप्त रेमिट्यान्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ ।