कीवर्डहरू -

डिजिटल वालेट पेवेलबाट २५ रूपैयाँमै क्यान इन्फोटेकको टिकट काट्न सकिने

डिजिटल वालेट पेवेलबाट २५ रूपैयाँमै क्यान इन्फोटेकको टिकट काट्न सकिने

डिजिटल वालेट पेवेल एपबाट क्यान इन्फोटेक २०२३ को टिकट २५ रूपैयाँमै पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न पेवेलले २५ रूपैयाँमै इन्फोटेकको टिकट दिने भएको हो ।

पेवेलका एसिस्टेन्ट सीईओ प्रज्वल आचार्यले पेवेल मोबाइल एपबाट टिकट काट्दा प्रयोगकर्ताले २५ रूपैयाँमै पाउने बताए ।

'पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ,' आचार्यले आइसिटी समाचारसँग भने, 'क्यान इन्फोटेक जस्तो सूचना प्रविधिको वृहत प्रदर्शनीमा डिजिटल भुक्तानीलाई अझै प्रवर्द्धन गर्न २५ रूपैयाँमा इन्फोटेकको टिकट दिदैछौं ।'

माघ २४ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा इन्फोटेक आयोजना हुँदैछ । माघ २९ गतेसम्म चल्ने इन्फोटेकको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रूपैयाँ तोकिएको छ । तर पेवेल एपबाट खरिद गर्दा दुबैले २५ रूपैयाँमै टिकट पाउने छन् ।

त्यस्तै एपबाट टिकट काट्ने ५ प्रयोगकर्ताले प्रत्येक दिन पेवेलको तर्फबाट आकर्षक गिफ्ट पाउने आचार्यले जानकारी दिए । यसका साथै स्टलमा विभिन्न गेमको व्यवस्था समेत गरिएको छ । इन्फोटेकको प्रवेशद्वारमा पनि पेवेलको एपबाट टिकट काट्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

कसरी काट्ने टिकट ?

सुरूमा पेवेलको मोबाइल एप डाउनलोड गर्नुपर्छ । पेवेल एप एन्ड्रोइड आईओएस मा उपलब्ध रहेको छ । डाउनलोड गरेपछि एप खोलेर केवाईसी भर्नुपर्छ ।

केवाईसी भरेपछि वालेटमा पैसा हुनुपर्छ । त्यसपछि एपको एक्सप्लोर सेक्सनमा गएर टिकट अप्सनमा क्लिक गरी क्यान इन्फोटेकको टिकट काट्न सकिने छ ।

एपबाट काटेको टिकट इन्फोटेकमा प्रवेश गर्दा देखाउनु पर्नेछ । वालेटमा मोबाइल बैंकिङबाट पैसा लोड गर्न सकिन्छ ।