कीवर्डहरू -

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने सरोकारवालाहरूको जोड

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने सरोकारवालाहरूको जोड

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरू भएको छ ।

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समुद्घाटन गरेकी थिइन् ।

मोबाइल एपमार्फत पानसमा बत्ति बालेर मन्त्री शर्माले २८औं संस्करणको क्यान इन्फोटेक औपचारिक रुपमा उद्घाटन गरिएको हो । सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

प्रमुख अतिथि मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताइन् ।

“सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ,” उनले भनिन्, “यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।”

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको बताइन् । विगतमा राजनीतिक अस्थिरताका कारण राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन नसकेको चर्चा गर्दै उनले आफ्नो नेतृत्वमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाइन् ।

\"\"

साथै चाँडै नै आईटी कानून बनाई यस क्षेत्रको व्यवस्थापन गर्न ध्यान दिने पनि उनले उल्लेख गरे । सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन तथा यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजी क्षेत्र र सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उनले बताइन् ।

क्यान इन्फोटेक समुद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

महासंघले भिजन २०३० मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहीँ अवसर दिन सरकारसँग सहज वातावरणको माग राखे ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्धार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याए । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउनसक्ने विचार राखेका थिए । साथै उनले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य हुनुपर्ने मागसमेत राखे ।

क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको सन्दर्भ राख्दै सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आईटी क्षेत्रबाट मनग्गे वैदेशिक मुद्रा भित्र्याउन र लाखौंको रोजगारी सिर्जना गर्न सकिने बताए । \\

यस क्षेत्रमा आवश्यक नीति र पूर्वाधारको सही व्यवस्थापन हुन नसक्दा देशको  राष्ट्रिय सुरक्षा र हितमा खलल पुग्नेगरी देशभित्र र देशबाहिरबाट साइबर हमलाको खतरा भइरहेको पनि उनले उल्लेख गरेका थिए ।

\"\"

डिजिटल नेपालको फ्रेमवर्कले लिएको सार्वजनिक निजी साझेदारीको माध्यमबाट विश्वसनीय सूचना तथा सञ्चार प्रविधि पूर्वाधार स्थापना र यसैसँग सम्बन्धित पछिल्लो समय विद्युत पोल भाडाको विषयमा देखिएको समस्याको समाधानका लागि अध्यक्ष पोदारले मन्त्री शर्मासँग अभिभावकीय भूमिकाको अपेक्षा राखेको बताए ।

क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । स्वदेशमै उत्पादित उत्पादनको प्रवर्द्धनका लागि उनले नेपाल सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको विचार राखेका थिए ।

क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।

टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ्ग पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।

प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश-विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत फिन्टेक , इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।

त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनका अनुसार मेलामा कुल २०० स्टल रहेका छन् ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।

साथै क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आईसीटी सम्मेलन हुँदैछ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ ।

\"\"

माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।