कीवर्डहरू -

सुपर एपको बाटोमा हाम्रो पात्रो, अब डिजिटल भुक्तानी पनि गर्न सकिने

सुपर एपको बाटोमा हाम्रो पात्रो, अब डिजिटल भुक्तानी पनि गर्न सकिने

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाट अब पैसा तिर्न सकिने भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोमा डिजिटल भुक्तानी गर्न मिल्ने गरी हाम्रो पे सेवा थप भएको हो ।

हाम्रो पात्रोका एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले अब छुट्टै एप डाउनलोड नगरेर हाम्रो पात्रोबाटै डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रो प्रयोगकर्ताले एप खोल्ने बेला हाम्रो पे देख्न सक्ने छन् । त्यसपछि ग्राहकले आफ्नो विवरण राखेर दर्ता गरी केवाईसी भेरिफाई गर्नुपर्नेछ ।

हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै हाम्रो पे सेवा ल्याएको बताइन् ।

'क्यालेन्डरबाट सुरू भएको हाम्रो पात्रोले ग्राहकको आवश्यतालाई ध्यान राख्दै सेवा थप गरिरहेको छ,' उनले भनिन्, 'सुपर एपको रूपमा हाम्रो पात्रोलाई विकास गर्ने योजना अनुसार भुक्तानी गर्ने सेवा थप भएको हो ।'

नेपालको सर्वाधिक रूचाइएको हाम्रो पात्रो एप हजारौं नेपालीको दैनिक बनेको छ । प्रत्येक दिन हजारौं नेपालीको सारथी भएको छ । त्यसै अनुसार हाम्रो पेमा अन्य वालेटका भन्दा केही नयाँ सेवा ल्याइएको छ ।

हाम्रो पेमा स्प्लिट एक्सपेन्स, पर्सनल एक्सपेन्स ट्रयाकर, लाईभ च्याट कस्टुमर सपोर्ट लगायतका सुविधा छन् । हाम्रो पे ६ वटा भाषा नेपाली, अंग्रेजी, मैथेली, डोटेली, नेपाल भाषा, थारू भाषामा प्रयोग गर्न सकिने छ ।

\"\"

डिजिटल वित्तियलाई प्रवर्द्धन गर्न तथा वित्तिय साक्षरता र पैसाको व्यवस्थापनमा सहयोग गर्न हाम्रो पे ल्याएको हाम्रो पेका सीईओ शिशिर पोखरेलले जानकारी दिए ।

ग्राहकलाई २४ सै घण्टा सहयोग गर्न हाम्रो पेले आफ्नै च्याटबट निर्माण गरेको छ, जसबाट प्रश्नहरू सोध्न र पहिले सोधिएका प्रश्नहरूको अवस्थामा समेत थाहा पाउन सकिने छ ।

आगामी दिनमा एपबाटै खरिद गर्न मिल्ने, मर्चेन्ट र प्रयोगकर्ताबीच सिधैं कुराकानी गर्न सकिने, सिधैं रेमिट पठाउन मिल्ने, अफलाइन पेमेन्ट र कर्पोरेटका लागि बल्क पेमेन्टको सुविधा ल्याउने योजना रहेको पोखरेलले बताए ।

लेनदेन सेवा प्रालिले हाम्रो पे सञ्चालन गर्नेछ । हाम्रो पेमा मोबाइल बैंकिङ, ई-बैंकिङ र कनेक्ट आईपीएसबाट पैसा लोड गर्न सकिने छ । यसका साथै हाम्रो पेबाट बैंकमा र अन्य हाम्रो पे प्रयोगकर्तालाई पैसा समेत पठाउन सकिने बताइएको छ ।

यसका साथै पटक पटक पैसा पठाउनका लागि पठाउने व्यक्तिको अकान्ट सेभ समेत गर्न सकिने छ, जसले गर्दा हरेक पटक अकाउन्ट जानकारी राख्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ ।

\"\"

कार्यक्रममा हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पात्रो संस्कृति भएको बताएका थिए । हाम्रो पात्रोले ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राखेको बताउँदै पाण्डेले हाम्रो पेलाई अझै राम्रो बनाउने बताए ।

कार्यक्रममा उनले हाम्रो पात्रो नेपालको पहिलो युनिकर्न बन्ने दिशामा अगाडि बढिरहेको समेत जानकारी दिएका थिए ।