कीवर्डहरू -

डाटा सेन्टर के हो अनि कति प्रकारका हुन्छन् ?

डाटा सेन्टर के हो अनि कति प्रकारका हुन्छन् ?

डाटा सेन्टर भनेको सुविधा सम्पन्न, सुरक्षित तथा स्वचालित तथ्याङ्क भण्डारण केन्द्र हो, जहाँ जटिल प्रकारको नेटवर्क, कम्प्युटिङ श्रोत तथा भण्डारणको पूर्वाधार प्रयोग गरी प्रयोगकर्ताहरुलाई प्रोग्राम तथा डाटाहरुमा सुरक्षित तवरले साझा पहुँच प्रदान गर्दछ ।

यसमा भौतिक तथा लोजिकल सुरक्षा, व्याकअपसहितको अनवरत पावर सप्लाई, चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण (डिटेक्सन तथा सप्रेसन), पानी चुहावट तथा किट नियन्त्रण, डाटा सेन्टरको वातावरण तथा सुरक्षाको अनवरत निगरानी रहेको हुन्छ ।

डाटा सेन्टरलाई मुलतः अन प्रेमिसेस तथा क्लाउड गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।  अन प्रेमिसेस डाटासेन्टर भन्नाले आफ्नै स्थानमा आफ्नो आवश्यकता परिपूर्ति गर्ने उदेश्यले डाटा सेन्टरलाई आवश्यक पर्ने विभिन्न उपकरणहरु जोडेर बनाईएको डाटासेन्टरलाई बुझिन्छ भने आफ्ना ग्राहकहरुलाई क्लाउड कम्प्युटिङ सम्बन्धि सेवाहरु प्रदान गर्ने उदेश्यले सर्भिस प्रोभाईडरद्वारा ठूलो स्केलमा एक निश्चित स्थानमा बनाईएको डाटा सेन्टरलाई क्लाउड डाटा सेन्टर भनिन्छ ।

चाहे अन प्रेमिसेस डाटासेन्टर होस या क्लाउड, दुवैमा कम्प्युटिङको लागि ईन्टरप्राईज लेभलको हाईईन्ड सर्भरहरु, स्टोरेजको लागि एस.एस.डि. हार्डडिस्क/ न्यास स्टोरेज, नेटवर्कको लागि राउटर/ स्वीच, सेक्युरिटिको लागि नेटवर्क फायरवाल, एप्लिकेशनको सुरक्षाको लागि वेभ एप्लिकेशन फायरवाल, सर्भर/ एप्लिकेशन/ नेटवर्क लोड ब्यालेनसर आदि उपकरणहरु आवश्यक पर्दछन् ।

डाटा सेन्टर पूर्वाधारका लागि सर्भर/नेटवर्क र्‍याक, पि.डि.यू (पावर डिस्ट्रिब्यूटर युनिट), पावर डिस्ट्रिब्यूसन प्यानल, प्रिसिजन ए.सि., यू.पि.एस, ब्याट्री ब्याकअप, जेनेरेटर, फायर फाईटिङ सिस्टम, वाटर लिक डिटेक्सन, अटोमेटिक रोडेन्ट रिपेलेन्ट, टेम्प्चेचर तथा हुमिडिटी सेन्सर, डोर सेन्सर, एक्सेस कन्ट्रोल, सि.सि.टि.भि मोनिटरिङ, डाटासेन्टर मोनिटरिङ आदि उपकरणहरुको आवश्यकता पर्दछ ।

डाटा सेन्टर पूर्वाधारका मुख्य प्रकार

१. परम्परागत (कन्भेन्सनल)

परम्परागत (कन्भेन्सनल) डाटासेन्टर भन्नाले डाटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण सक्रिय तथा निष्क्रिय उपकरणहरुलाई विभिन्न कम्पनीहरुबाट खरीद गरेर एउटा निश्चित स्थान (कोठा या घर) मा सम्पूर्ण उपकरणहरु म्यानुअल रुपमा जोडी तयार पारिएको डाटा सेन्टरलाई बुझिन्छ ।

यसको राम्रो पक्ष भनेको सस्तो र सुलभ हिसाबमा आफ्नो तरिकाले बनाउन सकिन्छ भने यसको नराम्रो पक्ष भनेको यसमा विभिन्न तेस्रो पक्षका सामग्रीहरु प्रयोग गरेको हुँदा कुनै समस्या आयो भने एकले अर्कोलाई दोष लगाउने अनि सजिलैसँग सपोर्ट नपाईने हुन्छ । साथै स्केलेबल गर्न कठिनाई हुन्छ ।

२. पूर्वनिर्मित मोडुलर

पूर्वनिर्मित मोडुलर डाटा सेन्टर भनेको डाटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण निष्क्रिय सामग्रीहरू एउटै बक्सभित्र समावेश भएर बनेको डाटा सेन्टरलाई बुझिन्छ । यो फ्याक्ट्रीमा पहिल्यै फेब्रिकेटेड भएर ग्राहकको चाहना अनुसार साईटमा आएर एसेम्बल गरेर तयार पारिन्छ ।

यसमा प्रायजसो प्रमुख उपकरणहरु जस्तो यू.पि.स., र्‍याक, कुलिङ आदि मोडुलर फर्ममा उपलब्ध हुन्छन् । एउटा मोड्यूल बिग्रेको खण्डमा डाटा सेन्टरलाई डाउन नगरेरै उक्त मोड्यूल प्रतिस्थापन गरेर सेवा सुचारु गर्न सकिन्छ ।

यसमा सबै उपकरणहरु एउटै कम्पनीले तयार पार्ने या थर्डपार्टीका उपकरण प्रयोग गरेको भएपनि उक्त कम्पनीले नै ईन्टिग्रेसन तथा सपोर्टको जिम्मा लिने हुँदा ग्राहकलाई बिक्री पछिको सपोर्ट तथा सेवाको झण्झट हुँदैन । तर यो परम्परागत डाटा सेन्टर भन्दा केही महँगो हुन्छ ।

भर्टिभ, हुवावे, जेटीई, डेल्टा, नेटर्‍याक, क्यानोभेट, के स्टार, स्नाईडर, वेशलेयर, ईटन, रित्तल लगायतका अन्तराष्ट्रिय म्यानुफ्याक्चरहरुले पूर्वनिर्मित मोडुलर डाटासेन्टरहरु बनाउने गरेका छन् ।

३. मोबाईल तथा कन्टेनर डाटा सेन्टर (अल ईन वान तथा क्लस्टर)

मोबाईल तथा कन्टेनर डाटा सेन्टर पनि पूर्वनिर्मित मोडुलर डाटासेन्टर जसरी नै तर एउटा सिंगो कन्टेनर भित्र बनेर आएको हुन्छ । २० फिटे या ४० फिटे कन्टेनरमा यसको डिजाईनिङ गरिएको हुन्छ ।

यो ट्रकमा हालेर ग्राहकको साईटसम्म सिंगै ल्याईन्छ । यो एउटा पूर्ण डाटासेन्टर हो, जसमा आईटी र्‍याक, कुलिङ, पावर (यू.पि.एस., ब्याट्री), फायर फाईटिङ, लाईटिङ सिस्टम, नेटवर्क अपरेशन कन्ट्रोल रुम आदि भित्रै बनेर आएको हुन्छ ।

यसमा केवल पावरको ईनपुट र ईन्टरनेटको कनेक्शन दिएपछि यो चलाउन योग्य हुन्छ र आवश्यकता अनुसार यसलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलैसँग स्थान्तरण गर्न सकिन्छ । यसलाई बाहिरी खुला स्थानमा पनि राख्न सकिन्छ । यो घामपानी बाट सुरक्षित हुने गरी बनाईएको हुन्छ ।

यो अल ईन वान तथा क्लस्टर गरेर दुई प्रकारबाट डिजाईनिङ गरिएको हुन्छ । क्लस्टर भन्नाले पावर, कुलिङ, र्‍याक, मोनिटरिङको लागि छुट्टाछुट्टै कन्टेनर जोडेर बनाईएको डाटा सेन्टर बुझिन्छ ।

२० फिटे कन्टेनरमा ४ देखि ५ र्‍याक (३२ किलोवाट सम्म) र ४० फिटे कन्टेनरमा ६ देखि ८ र्‍याक (४८ किलोवाट सम्म) या आफ्नो आवश्यकता अनुसार कस्टमाईज गरेर अर्डर गर्न सकिन्छ ।

यो अवश्य महंगो हुन्छ तर एक ठाउँबाट अर्को ठाउँमा सजिलै लिएर जान सकिन्छ । विशेष गरेर यो डिजास्टर रिकभरीको लागि उपयोगी मानिन्छ ।

डाटा सेन्टर रेटिङ/टियर

डाटासेन्टर रेटिङलाई एएनएसआई/टीआईए ९४२ को गाईडलाईन्स अनुसार ४ भागमा विभाजन गर्न सकिन्छ ।

रेटेड १: यसमा पावरको लागि एउटा मात्र पाथ रहन्छ र पावर तथा कुलिङका डिभाईसहरुको रिडन्डेन्सी हुँदैन ।

रेटेड २: यसमा पावरको लागि एउटा मात्र पाथ रहन्छ तर पावर र कुलिङ डिभाईसहरुको रिडन्डेन्सी रहन्छ ।

रेटेड ३: यसमा पावरको लागि मल्टिपल पाथहरु (सक्रिय तथा वैकल्पिक) रहेका हुन्छन साथै पावर र कुलिङ डिभाईसहरुको रिडन्डेन्सी रहन्छ ।

रेटेड ४: यसमा पावरको लागि मल्टिपल एक्टिभ पाथहरु रहेका हुन्छन साथै पावर र कुलिङ डिभाईसहरुको रिडन्डेन्सी रहन्छ । नेपालमा एक मात्र नेपाल विद्युत प्राधिकरणले सक्रिय पाथ दिने हुँदा अर्को विद्युत दिने संस्था नआउन्जेलसम्म यो सम्भव छैन । तर अन्य कुनै विद्युत गृहबाट बिजुली ल्याउन सकेको खण्डमा यो सम्भव रहन्छ ।

नेपालमा रहेका प्रमुख डाटा सेन्टरहरु

सरकारी स्तरबाट संचालनमा गरेको सिंहदरबार भित्रको जि.आई.डि.सी. (गभर्मेन्ट ईन्टीग्रेटेड डाटा सेन्टर) सरकारको एकमात्र डाटा सेन्टर हो ।

यसको डिजास्टर डाटा सेन्टर हेटौंडामा अवस्थित छ भने निजी रूपमा संचालनमा रहेका भैरहवाको ओम् डाटा सेन्टर नेपालको प्राईभेट लेभलको पहिलो डाटा सेन्टर हो ।

यस्तै अन्य डाटा सेन्टरहरुमा दरबारमार्गको सिल्भरलाईनिङ डाटा सेन्टर, थापाथलीको डाटा हब, कुमारीपाटीको एक्सेस वर्ल्ड, थापाथलीको क्लाउड हिमालय, पुतलिसडकको डाटास्पेस, बालुवाटारको सुबिसु, भैसेपाटीको डिशहोम र नख्खुको एनसेल डाटा सेन्टर रहेका छन् ।

(लेखक हेमन्त बराल सर्टिफाईड डाटा सेन्टर प्रोफेसनल हुन् । हाल उनी डाटा सेन्टर कन्सल्टेन्ट तथा चिफ अपरेटिङ अफिसरकाे रूपमा सिल्भर लाईनिङ डाटा सेन्टरमा कार्यरत छन् ।)