कीवर्डहरू -

गुणस्तरीय शिक्षासँग जोड्न सय विद्यालयलाई स्मार्ट डिभाइस दिदै दूरसञ्चार प्राधिकरण

गुणस्तरीय शिक्षासँग जोड्न सय विद्यालयलाई स्मार्ट डिभाइस दिदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले १०० वटा ग्रामीण भेगका विद्यालयलाई स्मार्ट टिभी, सीसी क्यामेरा र ल्यापटप दिने भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।

ग्रामीण भेगका विद्यालयलाई गुणस्तरीय शिक्षासँग जोड्न प्राधिकरणले स्मार्ट डिभाइस दिन लागेको खनालले बताए ।
यसका लागि प्राधिकरणले काठमाडौंको एउटा उत्कृष्ट सरकारी स्कुल छनौट गरेर स्टुडियो तयार पार्नेछ ।

त्यसपछि उक्त स्टुडियोबाट ८,९ र १० कक्षाका अंग्रेजी, गणित र विज्ञान विषय पढाइने छ । स्टुडियोमा पढाइने उक्त विषय अनलाइनबाट प्रसारण हुनेछन् । सो अनलाइन प्रसारणको पहुँच गाउँगाउँसम्म पुर्‍याउन प्राधिकरणले १०० विद्यालयलाई स्मार्ट डिभाइस दिने योजना अगाडि सारेको हो ।

नेपालको शिक्षा क्षेत्रमा यो एउटा कोसेढुंगा सावित हुने उनको भनाइ छ । त्यस बाहेक स्मार्ट डिभाइस हुने विद्यालयहरू पनि उक्त अनलाइन क्लासमा सहभागी हुन सक्ने खनाल बताउँछन् ।

साथै स्टुडियोबाट प्रसारण भएको कक्षाको डेटा व्यवस्थापन गरेर जुनसुकै समयमा अध्ययन गर्ने अवस्थामा समेत बनाइने खनालले जानकारी दिए ।