कीवर्डहरू -

नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’

नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’

अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि एआईटीसी इन्टरनेसनलले अनलाइनमै नेपाली आर्ट किनबेच गर्न मिल्ने प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’ वेबसाइटको विकास गरिरहेको छ ।

अहिले अन्नपूर्ण ग्यालरिजको काम अन्तिम चरणमा पुगेको छ । आउँदो नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम धमाधम भइरहेको छ । प्लेटफर्म सार्वजनिक गर्नु अगाडि कम्पनीले आर्टको भौतिक प्रदर्शनी गर्ने योजना बनाएको छ ।

विदेशीलाई विशेष प्राथमिकता राखेर आर्टहरू किनबेच गर्न मिल्ने प्लेटफर्म विकास गरिरहेको एआईटीसी का वरिष्ठ आईटी म्यानेजर तथा अन्नपूर्ण ग्यालरिजका विकासकर्ता रविन्श शर्मा लामिछानेले बताए ।

सुरूवातमा हातले गरेका पेन्टिङ मात्रै राखिने छ । त्यसपछि मूर्ति, फोटो, स्केच लगायतका आर्टहरूमा पनि प्लेटफर्ममा राखिने छ । अन्नपूर्ण ग्यालरिजले हाल आफैले पेन्टर राखेर पेन्टिङको काम गरिरहेको छ । त्यसपछि अन्य आर्टहरू बनाउने भेन्डर ल्याइने छ ।

काम सुरू गर्नलाई सुरूमा आफैले पेन्टर राखेको लोमिछानेले जानकारी दिए । ‘सुरूमा आफैले पेन्टर राखेका छौं,’ उनले आइसिटी समाचारसँग भने,’ ‘उहाँहरूले पेन्टिङ बनाउने मात्र होइन् । अन्नपूर्ण ग्यालरिजलाई आवश्यक पर्ने सल्लाह, सुझाव समेत दिनुभएको छ । उहाँहरूको सुझाव अनुसार प्लेटफर्मलाई ग्राहकमैत्री र परिस्कृत बनाइरहेका छौं ।’

\"\"

अन्नपूर्ण ग्यालरिजका आर्टिस्टले बनाएको आर्ट


अन्नपूर्ण ग्यालरिजको वेबसाइटबाट विश्वभर नेपाली आर्ट किन्न र बिक्री गर्न सकिने छ । यसमा ट्रयाकिङको सुविधा समेत राखिने छ । आफुल अर्डर गरेको आर्टको अवस्था कस्तो छ र कुन समयमा डेलिभरी हुन्छ भन्ने जानकारी सबै ट्रयाकिङ गर्न सकिने छ ।

डेलिभरीका लागि कुनै एउटा लजिष्टिक पार्टनरसँग सहकार्य गर्ने कम्पनीको तयारी छ । साथै खल्ती, इसेवा, पेपाल, स्ट्राइप लगायतका माध्यमबाट अनलाइन भुक्तानी समेत गर्न सकिने छ ।  ग्राहकको लोकेसन अनुसार पेमेन्ट गेटवेको अप्सन देखाइने छ ।

डेलिभरीको सामानमा कुनै समस्या देखिए, सामान फिर्ता गर्न समेत व्यवस्था गरिएको छ । सामान डेलिभरी भएपछि मात्रै फिर्ताको प्रक्रिया सुरू गर्न सकिने छ ।

ग्राहकको गुनासो र समस्या समाधान गर्न कम्पनीले लाइभ च्याट, मेल र टिकेट सपोर्टको व्यवस्था गर्नेछ । लाइभ च्याट सपोर्ट कार्यालय समयमा उपलब्ध हुनेछ । निकट भविष्यमा २४ सै घण्टा लाइभ च्याट सेवा दिने कम्पनीको तयारी छ ।

अन्नपूर्ण ग्यालरिजमा एआई पनि राख्ने योजना भएको उनको भनाइ छ । त्यसपछि बजारमा उपलब्ध आर्ट अन्नपूर्ण ग्यालरिजमा छ की छैन् भनेर हेर्न सकिने छ । विश्वको नम्बर वान आर्ट ग्यालरी बनाउन महत्त्वकांक्षी लक्ष्यसहित काम गरिरहेको लामिछाने बताउँछन् ।

‘अन्नपूर्ण ग्यालरिज, नेपाली आर्टिस्टलाई विश्वसँग जोड्ने प्लेटफर्म हो,’ उनले भने, ‘अहिले नेपाली आर्टिस्टलाई बजारमा अन्याय भइरहेको छ । यसले आर्टिस्टको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।’

\"\"

अन्नपूर्ण ग्यालरिज विकासकर्ताको टिम


अन्नपूर्ण ग्यालरिजले नेपाली आर्टहरूलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ । यसले समग्र देशलाई नै टेवा पुर्‍याउने छ । अन्नपूर्ण ग्यालरिजले आर्टिस्टबाट कमिसन लिनेछ ।

आर्टिस्टको दक्षता र अनुभव हेरेर उनीहरूलाई मर्का नपर्ने गरी कमिसनको सम्झौता गर्ने उनी बताउँछन् । कम्पनीले दोस्रो चरणमा भर्चुअल्ली ग्राण्ड एक्जिबेसन समेत गर्नेछ, जहाँ भर्चुअल रूपमा नै आर्टहरू हेर्न पाइने छ । यसका साथै बेला बेला भर्चुअल एक्जिबेसन गर्न सकिने छ ।

अन्नपूर्ण ग्यालरिजमा आफ्नो आर्ट अक्सनमा समेत राख्ने सकिने छ । बिडिङका लागि निश्चित समयसिमा तोकिने छ, जसले जति धेरै बोलि लगाउँछ, उसले उक्त आर्ट पाउने छ । ग्यालरिजमा आर्टिस्टको प्रोफाइल समेत हुने उनको भनाइ छ । प्रोफाइलमा क्लिक गरेपछि आर्टिस्टको बारेमा र आर्टिस्टले बनाएका आर्टहरू देख्न सकिने छ ।

प्लेटफर्ममा केही समयपछि फ्रिल्यानसिङको सुविधा समेत आउने छ । यसमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार आर्टको माग राख्ने छन् । त्यसपछि त्यहाँ पनि बिडिङ हुनेछ । अन्नपूर्ण ग्यालरिजमा अहिले १२ जनाले काम गरिरहेका छन् ।