कीवर्डहरू -

नागरिक एपको ड्राइभिङ लाइसेन्स ट्राफिकले चिन्दैन् भने किन चलाउने एप ? 

नागरिक एपको ड्राइभिङ लाइसेन्स ट्राफिकले चिन्दैन् भने किन चलाउने एप ? 

करिब १ महिना अगाडि यातायात कार्यालयमा बिल बुक नवीकरण गर्न गएको थिए । त्यसक्रममा चालु वर्षको बिल बुक नवीकरण गर्नमा कुनै समस्या भएन् । तर अनलाइनबाटै बिल बुक नवीकरण गर्दा तिरेको शुल्कमा समस्या देखियो ।

मैले इसेवाबाट २ वर्ष अगाडि पैसा तिरेर बिल बुक नवीकरण गरिसकेको थिए । त्यसको भौचर पनि छ । अनलाइनबाटै पैसा तिरेपनि कार्यालयमा गएर लेखाउनु पर्ने र हस्ताक्षर गर्नुपर्ने रहेछ । यदी अनलाइनबाटै पैसा तिरेर कार्यालयमै जानुपर्छ भने किन गर्ने अनलाइन पेमेन्ट ?

विद्युत प्राधिकरणको बिल पनि कार्यालय समयमा मात्रै तिर्न पाइन्छ । मलाई राती १२ बजे बिल तिर्न मन लाग्यो भने मैले तिर्न नपाउनु ? मैले चाहेको समयमा बिल तिर्न पाउँदिन भने किन चाहियो सूचना प्रविधि ? चाहिएन नी ।

सडकमा ट्राफिक प्रहरीले लाइसेन्स सक्कली हो की नक्कली हो भनेर थाहा पाउने माध्यम के ? सडकमा बसेर ट्राफिकले ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली भनेर जाँच गर्न सक्दैन् । सडकमै बसेर जाँच गर्न सक्ने प्रणाली चाहिएको छ । खैत त्यो प्रणाली ?

नागरिक एपमा ड्राइभिङ लाइसेन्स राखिएको छ । तर ट्राफिक प्रहरीले नागरिक एपको लाइसेन्सलाई चिन्दैन् । त्यसो भए नागरिकले नागरिक एप किन प्रयोग गर्ने ? यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीसँग बसेर एक किसिमको सहकार्य गर्नुपर्‍यो । नागरिक एपमा भएको लाइसेन्सलाई डिजिटल प्रमाणको रूपमा मान्ने व्यवस्था गर्नुपर्छ ।

नागरिक एपमै ड्राइभिङ लाइसेन्स देखाउँदा जानदिने वातावरण सिर्जना हुनुपर्छ । हामी डिजिटल रूपान्तरणको यस्तो चरणमा छौं । त्यसकारण सार्वजनिक सेवामा व्यापक डिजिटल रूपान्तरणको खाँचो छ ।

प्रविधिमैत्री सेवा प्रदानका लागि सार्वजनिक निकायलाई बजेटको केही प्रतिशत रकम कानुन नै बनाएर दिनु पर्छ । यसका साथै पारदर्शी हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।

अहिलेको युगमा प्रभावकारी रूपमा सार्वजनिक सेवा प्रवाह गर्न प्रविधि आवश्यक भइसकेको छ । सूचना प्रविधिको प्रयोग बिना छिटो, सहज र प्रभावकारी सेवा दिन सकिदैन् ।

(गत सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको एक अन्तर्क्रियात्मक कार्यक्रममा नेपाल प्रहरीका पूर्व डीआईजी, नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालिका सीओओ तथा साइबर सुरक्षा विज्ञ डा. सुब्बाले व्यक्त गरेको विचारको सम्पादित अंश ।)