शनिबार, २० जेठ, २०८०
Saturday, 03 June, 2023

आवेदनका आधारमा स्टार्पअप उद्यमीलाई कर्जाको समय मिलाउछौं : उद्योग विभाग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आउन थालिसकेको जनाएको छ ।

उद्योग विभाग, त्रिपुरेश्वरका महानिर्देशक रामचन्द्र तिवारीले सूचना निकालेको भोलिपल्टदेखि नै स्टार्टअप उद्यमीहरुले आवेदन दिन थालेको जानकारी दिए ।

उनले आइसीटी समाचारलाई भने, ‘विभागले सूचना निकालेको भोलिपल्टदेखि नै विभिन्न क्षेत्रमा उद्यमीहरुले आवेदन दिन थालिक्नु भएको छ । उहाँहरुले दिएको आवेदन अबको २१ दिनभिसम्म लिन्छौं।

विभागका महानिर्देशक तिवारीका अनुसार स्टार्टअप उद्यमीले दिएको निवेदनका आधारमा पहिलो चरणमा छनोट गर्ने त्यसको करिब २ महिनामा कर्जा प्रवाह गरिनेछ ।

महानिर्देशक, रमेशचन्द्र तिवारी

निवेदन दिने उद्यमीहरुले कहिलेसम्म कर्जा पाउँछन् भन्न प्रश्‍नमा महानिर्देशक तिवारीले भने, ‘ पहिला कुन कुन क्षेत्रमा कति आवेदनहरु पर्छ्न, त्यसको आधारमा मुल्यांकन गरेर समय निर्धारण हुन्छ। धेरै आवेदन परेमा २ देखि ४ महिना पनि लाग्न सक्छ । तर थोरै परेमा २ महिनाभित्रै कर्जा प्रवाहको राष्ट्र बैंकसँग समन्वय गर्नेछौं।

उनले यही विषयमा उद्योगमन्त्रालयमा छलफल र विभागमा पनि नियमित रुपमा मिटिङसमेत भइरहेको जानकारी दिए ।

विभागले सूचना निकालेको २१ दिन भित्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकाहरूले विभागमा कर्जाका लागि आवेदन दिन सकिने जनाइएको छ । चुक्ता पूँजी ५० लाख बढी नभएको स्टार्टअपले कर्जाका लागि आवेदन दिन सक्नेछन् । 

उक्त कार्यविधि अनुसार २५ लाख रुपैयाँसम्मको कर्जा पाइने छ, जसको ब्याजदर ३ प्रतिशत मात्र हुनेछ । स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म विना धितो अर्थात आफ्नै व्यवसाय धितोमा राखेर कर्जा पाउने छन् । एक उद्यमीले एकभन्दा बढी प्रस्ताव गर्न पाइने छैन । 

आवेदन दिँदा प्रस्तावको साथमा कम्पनी वा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी र कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रतिलिपी पनि पठाउनु पर्नेछ । प्रस्ताव उद्योग विभागमा वा [email protected] इमेलमा पठाउन सकिने छ । प्रस्तावसहित संलग्न कागजातहरू स्क्यान गरी एउटै पीडीएफ फाइलमा पठाउनु पर्नेछ ।  

स्टार्टअप उद्यमलाई कर्जा दिने कार्यविधिमा के छ ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि  कार्यविधि तयार गरेको छ ।

विभागले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकाहरूका लागि स्टार्टप उद्यम कर्जा कोष कार्यविधि २०७९ तयार पारेको हो ।

उक्त कार्यविधि अनुसार उद्यम गरिरहेका स्टार्टअप उद्यमीको चुक्ता पुँजी ५० लाखभन्दा बढी पूँजी नभएको हुनु पर्नेछ भने उद्यमको  कूल आय ५० लाखभन्दा बढी नभएको हुनुपर्नेछ ।
 

यस्तै स्थिर पूँजी (घरजग्गाको मुल्‍यबाहेक) २ करोडभन्दा बढी नभएको हुनु पर्नेछ। यस्तै उद्यममा  पूर्णकालीन कामदारको संख्या ज१० भन्दा कम नै हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यस्तै उद्यमले वार्षिक रुपमा गर्नु कूल खर्चको कम्तिमा ५ प्रतिशत अंक उत्पादन विकास,  बजार विकास एवं अनुसन्धान र विकास खर्च गरेको हुनु पर्नेछ ।

कुनै वस्तुको सेवा प्रवाह वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवं सृजनशील सोचको प्रयोग गर्ने उद्यम हुनु पर्ने कार्यविधिमा बताइएको छ ।

तर प्रचलित कानुन बमोजिम नेपालमा दर्ता नभएका, सूचना प्रविधि र नविनतम सोचको प्रयोग नगरी वस्तु वा सेवा विदेशबाट आयात गर्ने र विद्यामान कम्पनी वा व्‍यवसायीलाई टुक्रा बनाइएको वा सहायक कम्पनीक वा फर्मको रुपमा काम गरिरहेको पाइएमा स्टार्टअप उद्योग नमानिने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै कर प्रयोजनको लागि स्थायी लेखा नम्बर नलिएको तथा होल्डिङ कम्पनीको रुपमा उद्योगिक व्‍यवसाय ऐन,२०७६ बमोजिम मझौला वा ठूला उद्योगको वर्गीकरणमा पर्ने उद्यमले पनि स्टार्अप कर्जा लिन नपाइने कार्यविधिले तय गरेको छ ।

कुन कुन क्षेत्रमा स्टर्पअप उद्यम सञ्चालन गर्न सक्नेछन् ?

विभागले नविनतम ज्ञान, सोच, सी र क्षमतालाई स्टार्टअप उद्यमका रुपमा विकास गर्न सकिन्छ भनेर यी १४ क्षेत्रलाई समावेश गरेर कार्यविधि ल्याएको छ, जसमा पहिलो प्राथमिकतामा कृषि तथा पशुपन्छीमा आधारित उद्यमलाई प्रस्तावमा राखिएको छ ।

यस्तै दोस्रोमा वन ( जडीबुढी, वन पैदावार)मा आधारित उद्यम, तेस्रोमा पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, चौथो विज्ञान, प्रविधि, सञ्चार तथा चना प्रविधिमा आधारित, पाँचौ मानव स्वास्थ्य सेवासँग सम्न्धित, छैठौं शिक्षा तथा शिक्षण सिकाईसँग समन्धित , सातौ सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, आठौं पूर्वाधार निर्माण कार्यसँग सम्न्धित, नवौं अटोमोबाइल्ससँग सम्बन्धित, दशौं परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित, एघारौं खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, बाह्रौ घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने र तेह्रौ खाद्य उत्पादन तथा प्रशोधन र चौधौमा फोहोमैला व्‍यवस्थापन तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा नयाँ ज्ञान, सोच, सीप र क्षमता भएकाहरुले स्टार्टअप उद्यमका रुपमा अपनाउन सकिने कार्यविधिले तोकेको छ ।

सम्बन्धित समाचार