कीवर्डहरू -

अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै 

अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै 

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै क्युआरसहितको एनओसी डाउनलोड गर्न सकिने व्यवस्था गरेको हो ।

अबको केही समयमै विद्यार्थीहरूले सानोठिमी नगइ घरमै बसेर एनओसी डाउनलोड गर्न पाउने छन् । यसले गर्दा एनओसी लिन लामो लाइन लाग्नुपर्ने झन्झट हट्ने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखाका प्रमुख सह-सचिव कृष्ण प्रसाद काप्रीले छिट्टै अनलाइनबाटै क्युआर कोडसहितको एनओसी विद्यार्थीले डाउनलोड गर्न सक्ने गरी काम गरिरहेको बताए ।

यसका लागि मन्त्रालयले राष्ट्र बैंक, वाणिज्य बैंक लगायतका सम्बन्धित निकायसँग छलफल गरिरहेको छ । बैंक, अध्यागमन विभाग लगायतका सम्बन्धित निकायलाई मन्त्रालयले एनओसी प्रमाणिकता गर्न सिस्टम समेत उपलब्ध गराउने काप्रीले आइसिटी समाचारलाई  जानकारी दिए ।

एनओसीमा भएको क्युआरकोडबाट त्यसको प्रमाणिकता गर्न सकिने बताइएको छ । हालै मन्त्रालयले राष्ट्रिय परिचयपत्रको डेटासँग समेत सिस्टमलाई लिंक गरेको छ ।

निवेदकले एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्नेछ । उक्त निवेदन स्वीकृत भएपछि तोकिएको शुल्क बैंक वा अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

शुल्क भुक्तानी भएपछि निवेदकले क्युआर कोडसहितको एनओसी डाउनलोड गरेर प्रिन्ट गर्न सक्ने जनाइएको छ ।