कीवर्डहरू -

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने

शुभम् र चन्द्रसूर्यलाई ‘फ्लाइङ स्कुल’ सञ्चालनको अनुमति 

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई अनुमति दिएसँगै पाइलट बन्न विदेश जान नपर्ने भएको छ ।

मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई फ्लाइङ स्कुल खोल्न अनुमति दिएको हो । शुभम् एभिएसन पाइलट जनक अधिकारीको संस्था हो भने चन्द्रसूर्यका सञ्चालक मनबहादुर थापा हुन् ।

उक्त दुवै संस्थालाई ७ दिनभित्र १ लाख रुपैयाँ इजाजत दस्तुर र ‘क’ वर्गको मान्यता प्राप्त बैंकबाट १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाउन मन्त्रालयले जनाएको छ ।

फ्लाइङ स्कुलमा हेलिकोप्टर र जहाजको पाइलट तालिम लिन विज्ञान विषय लिई १२ कक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्नेछ। देशभित्र फ्लाइङ स्कुल नहुँदा नेपालीहरू पाइलट तालिमका लागि दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त राज्य अमेरिका जाने गरेका थिए ।इलट तालिममा करिब १ करोड रुपैयाँ र एकदेखि डेढ वर्ष समय खर्च हुने गरेको छ ।

पर्यटन मन्त्रालयले यसअघि भरतपुर विमानस्थललाई आधार बनाएर सिवानी एयर प्रालिलाई हवाई उडान प्रशिक्षणका लागि अनुमति दिएपनि व्यवस्थापकीय कमजोरीका कारण उक्त कम्पनी तालिम नै नगराइ बन्द हुन पुग्‍यो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रक्रिया पूरा गरेर आवेदन बुझाउने अरू संस्थालाई पनि फ्लाइङ स्कुल सञ्चालनका लागि अनुमति दिइने बताए ।

उनले भने, 'नेपालमा उड्ने जहाज र हेलिकप्टरहरु नेपालमै सिकून न हाम्रा नागरिकले । किन विदेशमा सिकेर नेपालमा उडाउने ? यहाँको भू-गोल र परिवेश थाहा पाएर उडान सिके झन उत्कृष्ट हुन्छ। त्यसकारण मन्त्रालयले फ्लाइङ्ग स्कुलको अनुमति दियो। थप अरु पनि आएमा प्रक्रिया पुर्‍याए अनुमति दिन्छौं।'