कीवर्डहरू -

एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर

एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले भारतमा पहिलो आधिकारिक एप्पल स्टोर खोलेको छ । भारतको वित्तीय राजधानीको रुपमा रहेको मुम्बईको बान्द्रामा एप्पलले आफ्नो आधिकारिक स्टोर खोलेको बीबीसीले जनाएको छ ।

उक्त एप्पल स्टोरको उद्घाटन एप्पल कम्पनीका सीईओ टिम कुकले गरेका छन् । उद्घाटनका क्रममा टीम कुकले ग्राहकहरुतर्फ हात हल्लाउँदै भारतमा रहेको पहिलो स्टोरको ढोका खोलेका थिए। साथै एप्पल स्टोरमा आएका कतिपय  ग्राहकसँग हात मिलाउँदै सेल्फी पनि खिचाएका थिए।

मुम्बइमा एप्पल स्टोरको उद्‌घाटन समारोह हेर्नका लागि देशभरबाट ठूलो संख्यामा मानिसहरु आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उद्‌घाटन समारोहमा स्थानीय संगीत तथा लोकनाचसमेत देखाइएको थियो।

मुम्बईमा रहेको एप्पल स्टोर डिजाइन हल्का कफी रङमा गरिएको छ। यसअघि भारतमा हालसम्म एप्पलको आधिकारिक स्टोर थिएन । एप्पलका उत्पादनहरु अनलाइनबाट वा रिसेलरहरुको बृहत सञ्जालबाट नै बिक्री हुँदै आएको थियो।

एप्पलको यो रिटेल स्टोर भएको ‘जियो वर्ल्ड ड्राइभ मल’ भारतका धनाढ्य अम्बानी ग्रुपको हो। एप्पलले यो मलमा २० हजार आठ सय स्वेयर क्षेत्रफलमा स्टोर सञ्चालन गर्ने सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार ११ वर्षको लागि एप्पलले सो मलमा स्टोर राख्नेछ। साथै हरेक तीन वर्षमा १५ प्रतिशतको दरमा भाडा वृद्धि हुने यस मलमा हुने स्टोरको लागि एप्पलले अहिले मासिक भारु ४२ लाख किस्ता बुझाउनुपर्नेछ।

\"\"

यस्तै एप्पले पहिलो तीन वर्ष यहाँबाट हुने आम्दानीको दुई प्रतिशत समेत अम्बानी समूहलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछिको वर्षदेखि भने आम्दानीको वार्षिक २.५ प्रतिशत बुझाउनुपर्ने हुन्छ।

अम्बानी ग्रुपको स्वामित्वमा रहेको जियो वर्ल्ड ड्राइभ मलमा माइक्रोसफ्ट, अमेजन, गुगल, सोनी, फेसबुक लगायत टेक कम्पनीहरूले आफ्नो आधिकारिक स्टोर खोलेका छन् ।

विश्वको दोश्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा आफ्नो खुद्रा बजारलाई थप विस्तार गर्न एप्पलले यहाँ पहिलो एप्पल स्टोर खोलेको सीईओ टीम कुकले बताएका छन् ।

उनले भनेका छन्, 'भारतमा अहिलेसम्म स्मार्टफोन बजारमा एन्ड्रोइडको दबदबा छ र स्मार्टफोन बजारको केवल ९ प्रतिशत हिस्सा मात्रै आइफोनको छ।यसकारण हामी आप्नो खुद्रा बजारलाई अझ प्रभावकारी बनाउन प्रयासरत छौं।'

सीईओ कुकका अनुसार एप्पलले भारतलाई आइफोनको उत्पादन बेसको रुपमा पनि विकास गर्दै गएको छ भने हाल विश्वमा कूल आइफोन उत्पादनको ५ प्रतिशत भारतमै हुने गरेको छ ।

\"\"

यसअघि सन् २०२१ मा भारतमै भौतिक रुपमा एप्पलले भारतमा आफ्नो आधरिकारिक स्टोर खोल्ने प्रयास गरेपनि कोरोना महामारीका कारण त्यतिबेला सम्भव हुन सकेको थिएन।

एप्पलका सीईओ टिम कुकको भारत भ्रमण दोस्रो पटक हो । यसअघि उनले सन् २०१६मा भारतको भ्रमण गरेका थिए । भारत आएपछि कुकले चर्चित बलिउड अभिनेत्री माधुरी दीक्षितसँगै तस्वीर शेयर गरेका थिए ।

एप्पलको स्टोर उद्‌घाटनपछि भने टिम कुकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सूचना प्रविधि उपमन्त्री राजीव चन्द्रशेखरसँग पनि भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् ।